न्युज कारखाना | समाचार | भदौ १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । हिजो अपराह्न नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले साँझ अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानुनमन्त्रीज्यू मेरो कार्यकक्षमा आउनुभएको थियो । साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नुभयो’, नेम्वाङले भने, ‘सरकार र प्रतिपक्ष दलबीचका सबन्ध कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भयो ।’
एमालेले रचानात्मक प्रतिपक्षको भूमिका निभाउने तर सरकारले प्रतिपक्षसँग सबन्ध सुधारमा त्यति चासो नदिएको गुनासो नेम्वाङले गरेका थिए । प्रतिपक्ष पनि राज्यको स्थायी सत्ता भएकाले महत्त्वपूर्ण विषयमा छलफल नगरी निर्णयमा नपुग्न आफूहरूले भनेको नेम्वाङको भनाइ छ ।
सरकार गठन भएको झन्डै डेढ महिनापछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलसँग सबन्ध विस्तारका लागि कानुनमन्त्रीलाई एमाले संसदीय दलको कार्यालय र बालकोटस्थित ओली निवासमा पठाएका हुन् ।