प्रधानमन्त्रीको भियतनाम–कम्बोडिया भ्रमण : विज्ञ भन्छन् - औचित्यहीन

प्रधानमन्त्रीको भियतनाम–कम्बोडिया भ्रमण : विज्ञ भन्छन् - औचित्यहीन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०७६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन्। भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन्। नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध रहेका दुई मुलुकको भ्रमणबाट नेपाललाई खासै फाइदा नभए पनि प्रधानमन्त्रीले उच्च महत्व दिएको भन्दै विज्ञहरूले यसको औचित्यमाथि प्रश्न उठाएका हुन्।

‘राज्यकोषको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्दा मुलुकको कूटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रस्ट हुनुपर्छ,’ पूर्वराजदूत एवं कूटनीतिक मामिलाका जानकार जयराम आचार्यले भने। जनताको करबाट खर्च गर्नुपर्ने भएकाले त्यसको औचित्य पुष्टि गर्नुपर्ने आचार्य बताउँछन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण महत्वपूर्ण रहेकाले त्यस्ता भ्रमणप्रति कसैले प्रश्न नउठाएको बताए। तर प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण भने महत्वपूर्ण नभएको उनको भनाइ छ। लामो समयदेखि एउटै व्यक्तिले लामो समयसम्म तानाशाही व्यवस्था सञ्चालन गरिरहेको मुलुकमा नेपालका प्रधानमन्त्रीको भ्रमण हुनु राष्ट्रिय लज्जाको विषय भएको उनको तर्क छ। नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक सममेलनको कुनै महत्व नभएजस्तो प्रधानमन्त्रीको दुई मुलुकमा हुन लागेको भ्रमणको पनि कुनै महत्व नरहेको उनी बताउँछन्।

पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डे पनि बजेट अधिवेशन सुरु भएकै बेला प्रधानमन्त्रीको विदेश भ्रमणमा जाने प्रचलन संसदीय व्यवस्थाको अनुकूल नहुने बताउँछन्। आगामी वर्ष अपनाउने नीति तथा कार्यक्रममा आफ्ना सांसदलाई मत व्यक्त गर्नसमेत रोक लगाएर प्रधानमन्त्रीले विदेश भ्रमण गर्नु राजनीतिकरूपमा गलत हुने पाण्डेको तर्क छ। ‘प्रधानमन्त्रीले कम्बोडिया र भियतनामप्रति देखाएको यो असाधारण मोहको राजनीतिक, आर्थिक अथवा सामरिक आचित्य छैन,’ उनले भने। अन्तर्राष्ट्रिय सम्बन्धको धेरै पुरानो इतिहास भएको नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणको मोह यसरी व्यक्त गर्नु अपसोचको कुरा भएको पाण्डेको तर्क छ। यो समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।