घनेन्द्र ओझा | दृष्टिकोण | भदौ १७, २०७८
अहिले सत्तारुढ दल नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा छ । निरंकुश राणा शासनको अन्त्यको उद्देश्यले ७ दशकअघि स्थापना भएको कांग्रेसले जहानियाँ राणाकाल, निर्दलीय पंचायत, राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षी शासनकाल बेहोरिसकेको छ । र, यी सबैमा सफलतापूर्वक आन्दोलन पनि सम्पन्न गरिसकेको हो कांग्रेसले ।
उसो त यसबीचमा २००७ सालदेखि नै धेरै पटक कांग्रेसले सत्ता सम्हालेको वा सरकारको नेतृत्व गरेको अनुभव पनि छ । पछिल्लो पटक देशमा लोकतन्त्र पुनर्वहाली गर्न र अढाई सय वर्षदेखिको राजतन्त्र फाल्न पनि कांग्रेसले नै अगुवाइ गरेको तथ्य छिपेको छैन ।
यी सबै सन्दर्भ कांग्रेसको आगामी १४औँ महाधिवेशनका बारेमा चर्चा गर्नका लागि उठाइएका हुन् ।
बीपी कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरूले जन्माएको र हुर्काएको कांग्रेस बीचमा पटक पटक विवाद, कलह र फुटको अवस्थासम्म पुग्यो । बीपी कोइरालाको निधनपछि कृष्णप्रसाद, गणेशमान र गिरिजाप्रसादहरूको तानातानमा रुमल्लिइरह्यो कांग्रेस । विवाद, असन्तुष्टि र असहमतिका अनेक झमेला आइरहे पनि फुटिहालेन । तर, शेरबहादुर देउवाले दरबारमा लगेर प्रजातन्त्र बुझाएपछि भने कांग्रेसले नफुटी सुखै पाएन ।
कांग्रेस फुट्यो र पुनः जुट्यो पनि । ‘असन्तुष्ट’का नाममा गिरिजाप्रसाद कोइरालाका विरोधमा रहेका केहीलाई लिएर वर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । केही समय चकचक गरेर पुनः मूल कांग्रेसमै फर्किए देउवा पनि ।
वास्तवमा कुनै सैद्दान्तिक वा वैचारिक लडाइँका कारण नभएर जुँगाको लडाइँले फुटेका थिए उनीहरू । जब दुइटैका जुँगा खुइलिए, तब नमिली सुखै भएन । र, गिरिजाप्रसाद कोइरालाको दम्भ, अहं, एकपक्षीय सोच, पेलेरै जाने मानसिकता, गुटकालाई च्याप्ने प्रवृत्तिले कांग्रेसमा विभाजनको कित्ताकाट सुरु भएको थियो ।
राजनीतिक र भौतिक जीवनको समेत उत्तराद्र्धमा पुगेका संस्थापक नेताद्वय कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई समेत पार्टीभित्र अपमानित गरेर एकलौटी जबर्जस्ती पार्टीमा हालिमुहाली गरेका गिरिजाप्रसादले देउवाहरूलाई किन सहन सक्थे ? तथापि, देउवा, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्काहरूलाई काख र काँधमा राखेर उचाल्ने भने गिरिजा नै थिए ।
बाहिर भाषणमा र अन्तर्वार्तामा युवा नेतृत्वका विषयमा ठूला गफ दिने विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, प्रतिमा गौतम, मनोजमणि आचार्य, कुन्दन काफ्ले, धनराज गुरुङ, रमेश लेखक, गोविन्दराज भट्टराई आदि किन गुरुङलाई शुभकामना दिन तर्सिए ? आफू त ‘दाइ’, ‘दिदी’का सामु निरीह बनेकै छन्
अहिले नेकपा (एमाले)मा केपी ओलीले जे गरिरहेका छन्, ठीक त्यसै गरेर असन्तुष्ट र आफ्ना आलोचकहरूलाई पाखा लगाउने रणनीति अपनाएका थिए गिरिजाले । र, त्यही गलत धारणा र व्यवहारका कारण कांग्रेस विभाजित भएको थियो ।
तर, अहिले कांग्रेस देखिँदाको ‘एकजुट’ छ, भलै त्यसभित्र अनेक गुट किन नहुन् । नदेखिने गुटबाहेक संस्थापनतर्फ देउवा गुट, संस्थापनमै विमलेन्द्र निधि, प्रकाशमान सिंह गुट, संस्थापनइतरमा रामचन्द्र पौडेल गुट, शशांक/शेखर/सुजाता कोइराला गुट, कृष्णप्रसाद सिटौला गुट आदि त सलबलाइरहेकै छन् ।
निधिले आफ्नो उम्मेदवारी सभापतिका लागि घोषणा गरेर सम्पर्क कार्यालयसमेत राखिसकेका छन् भने युवा नेता कल्याणकुमार गुरुङले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गरेर देश दौडाहामा निस्किएका छन् । उता, अघिल्लो महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापाले पनि पुनः महामन्त्रीकै लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कोइराला परिवारको विसासत कसले धान्ने भन्नेमा एक मत हुन नसकेको देखिएको छ किनभने उनीहरूबाट कसैको उम्मेदवारी कुनै पदमा पनि घोषणा भइसकेको छैन । शशांकसँग बीपीको विरासत छ भने सुजातासँग गिरिजाको । तर, शकांक, सुजाता र शेखरमध्ये सशक्त र परिपक्व नेताचाहिँ शेखर मानिन्छन् । दुखको कुरा, शेखरसँग न बीपीको वा न त गिरिजाको विरासत छ, छ त गिरिजाकी प्रमुख सल्लाहकार (भाउजू) नोना कोइरालाको विरासत छ शेखरसँग ।
‘फ्रन्टलाइन’मा नभएर नेपथ्यबाट बीपी, गिरिजाहरूलाई महत्तवपूर्ण र अर्थपूर्ण सल्लाह, सुझाव दिने ‘नोना आमा’का सुपुत्र शेखरको भने शशांक र सुजाताको भन्दा धेरै र लामो अनि महत्त्वपूर्ण योगदान छ कांग्रेसमा र नेपाली राजनीतिक आन्दोलनमा ।
उता, निधि कांग्रेस नेता महेन्द्रनारायण निधिका सुपुत्र हुन् भने प्रकाशमानसँग बुबा गणेशमानको विरासत जोडिएको छ ।
यी सन्दर्भ जोड्नुको कारण हो- कांग्रेस अझै बाबुबाजेको अंश खाएर बसेको छ । कांग्रेस नेतृत्वमा अझै पुख्र्यौली लगानीको भाग खाने होडबाजी कायम छ । शेरबहादुर देउवाले त्यसलाई तोडेका भए पनि अझै दोस्रो पुस्ता भनिएकाहरू बाबुबाजेकै विरासतको आडमा राजनीति गर्न खोजिरहेका छन् ।
प्रश्न यहीँ उठाउन खोजिएको हो यस लेखमा ।
के नेपाली कांग्रेसमा नेतृत्वका निम्ति सक्षम र योग्य नयाँ पुस्ता अर्थात् ‘थर्ड जेनेरेसन’ छैन ? विगतमा बीपी, सुवर्णशम्शेर, कृष्णप्रसाद, गणेशमानहरूले युवा जोशमै कांग्रेस सुरु गरेका र सबल अनि सफल नेतृत्व प्रदान गरेर राणाकाल, पंचायतकालमा लडेर, भिडेर जितेका होइनन् ?
अनि यति गज्जबको खुला राजनीतिक वातावरणमा, यति समृद्ध प्राविधिक युगमा स्थापित राजनीतिक दलको नेतृत्व लिन किन कांग्रेसको युवा नेतृत्व अघि सरिरहेको छैन ? हिजो मात्र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवारी घोषणा गरे । तर, किन सयौँको संख्यामा रहेका कांग्रेसका युवा नेताले गुरुङको उम्मेदवारीलाई समर्थन गर्नु त परै जाओस्, शुभकामनासमेत दिन डराए ?
बाहिर भाषणमा र अन्तर्वार्तामा युवा नेतृत्वका विषयमा ठूला गफ दिने विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, प्रतिमा गौतम, मनोजमणि आचार्य, कुन्दन काफ्ले, धनराज गुरुङ, रमेश लेखक, गोविन्दराज भट्टराई आदि किन गुरुङलाई शुभकामना दिन तर्सिए ? आफू त ‘दाइ’, ‘दिदी’का सामु निरीह बनेकै छन्, उनीहरूकै एजेण्डाका लागि चुनौती उठाउने आफ्नै समवयी, सहयात्रीले बुढो पुस्तासँग पौँठेजोरी खेल्ने साहस गर्दासमेत समर्थन र सहयोग गर्न हिच्किचाउँछन् ।
अनि यिनबाट पार्टी नेतृत्वका गफ सुनेर पत्याइदिनुपर्ने आमकार्यकर्ताले ?
केही अन्तर्वार्ताहरू र भाषणभूषणमा यी युवा नेताहरूले भनेका सुनिएको छ- ‘अब हामी युवाहरूले पदाधिकारीसहितको प्यानल नै उम्मेदवारी घोषणा गर्नेछौँ ।’
पत्याइसक्नु भए पो पत्याउनु ! यीमध्ये पनि कुनै देउवा दाजुका, कुनै रामचन्द्र दाजुका, कुनै सिटौलाका त कुनै निधि, सिंह दाजुका, कुनै शशांक, शेखर दाजुका भित्रिया हुन् । तब, यिनले मिलेर एउटै प्यानल घोषणा गरेर युवाहरूको नेतृत्वका लागि महाधिवेशनमा लड्नेछन् भन्ने कल्पना गरिहाल्नु छिटो हुनेछ ।
र, यदि यस पटक पनि कांग्रेसका युवा नेता भनिनेहरूले नेतृत्वका लागि चुनौती उठाएनन् भने आगामी दिनहरूमा यिनीहरूप्रतिको आमकार्यकर्ताको बँचेखुचेको विश्वास पनि गुम्नेछ ।