कांग्रेस महाधिवेशन सकस: पौडेल खेमाले घोषणा गर्न सकेन सभापतिको उम्मेदवार

कांग्रेस महाधिवेशन सकस: पौडेल खेमाले घोषणा गर्न सकेन सभापतिको उम्मेदवार

न्युज कारखाना  |  समाचार  |  भदौ १७, २०७८

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज पनि सभापतिको उम्मेदवार घोषणा गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल खेमाले पत्रकार सम्मेलनमार्फत बिहीबार सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो ।

सभापतिका आकांक्षीहरूबीच सहमति हुन नसकेपछि नेताहरूले पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने बताएका हुन् । पार्टी बचाउन एक भएर अगाडि बढ्ने र यो एकता महाधिवेशनसम्मै अटुट रहने नेताहरूले बताए । ४ वर्षमा १४औँ महाधिवेशन गरिसक्नुपर्ने भए पनि अहिलेको नेतृत्वमा उत्साह नदेखिएको उनीहरूको भनाइ थियो ।

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायत नेता उपस्थित थिए ।

नेता पौडेलले सामूहिकतामा विश्वास गर्ने भएकाले आफूहरू सबै एकै ठाउँमा आएको बताए । ‘पार्टी र लोकतन्त्र बचाउन हामी एकताबद्ध भएका हौँ’, उनले भने ।