कांग्रेस संस्थापन इतरको मोर्चा बन्दी: नेता छनोटदेखि गुट व्यवस्थापनसम्म पौडेल समूहका सकस

लोकसंवाद टिप्पणी

कांग्रेस संस्थापन इतरको मोर्चा बन्दी: नेता छनोटदेखि गुट व्यवस्थापनसम्म पौडेल समूहका सकस

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १८, २०७८

नेपाली कांग्रेस पार्टीको १४ महाधिवेशनमा औपचारिक रुपमा आजदेखि  होमिएको छ । सोही क्रममा आज (भदौ १८) वडा अधिवेशन हुँदै छ । पटक पटक स्थगित हुँदै अनिश्चित हुन पुगेको कांग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुने मिति तय भइसकेको छ ।

त्यसका लागि अधिकतम महाधिवेशन प्रतिनिधिहरू आफ्नो पक्षकालाई जिताउन कांग्रेसको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष लागि परेका छन् । लामो समय कोइराला परिवारले नेतृत्व गरेको कांग्रेसमा कोइराला परिवारबाट नेतृत्व बाहिरिएसँगै गुट निर्माण र परिवर्तनका केही रोचक दृश्यहरू सतहमा देखिने गरेका छन् । 

१३ महाधिवेशनमा कोइराला परिवारको समेत साथ पाएका रामचन्द्र पौडेललाई हराउँदै शेरबहादुर देउवा सभापति बनेका थिए । लामो समय तत्कालीन संस्थापन पक्षमा रहेका रामचन्द्र पौडेल पछिल्लो समयमा पार्टीभित्र केही कमजोर देखिँदै आएका छन् । जसले गर्दा उनलाई कांग्रेसको आगामी महाधिवेशनमा सर्वसम्मत नेताका रुपमा संस्थापन इतर समूहले अघि सार्छ या सार्दैन भन्ने अझै टुङ्गो लागि सकेको  छैन । 

देउवा समूहमा विभाजनको फाइदा

यस पटक संस्थापन इतर समूह एकजुट हुन खोजिरहेको छ । देउवा समूहका प्रभावशाली नेता विमलेन्द्र निधिले आफैँले सभापतिमा दाबी गरेर सम्पर्क  कार्यालय नै खोलेका कारण देउवा अप्ठ्यारोमा छन् । यो मौकालाई सदुपयोग गर्न पौडेल समूह यतिबेला देउवा र निधिबाहेक सबैलाई एक ठाउँमा ल्याउने प्रयासमा जुटेको सन्देश दिने प्रयत्न गरिरहेका छन् । 

सोही क्रममा आफूहरू एकजुट रहेको सन्देश दिन वडा अधिवेशनको अघिल्लो दिन बिहीबार पौडेल समूहले पत्रकार सम्मेलन नै  गर्‍यो । जसबाट आगामी महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार दिने प्रतिबद्धता जनाएका त छन् । तर यो समूहमा त्यो साझा उम्मेदवार को हुने भन्ने अझै टुङ्गो भने लागिसकेको भने छैन । यी सबैलाई व्यवस्थापन गरेर सभापतिको साझा उम्मेदवार बन्न रामचन्द्र पौडेललाई ठुलै सकस देखिएको छ ।

अघिल्लो महाधिवेशनमा पनि तत्कालीन संस्थापन समूहलाई एक ढिक्का राखेर व्यवस्थापन गर्न नसक्दा पौडेल पार्टीको नेतृत्व गर्ने अवसरबाट वञ्चित भएका थिए । त्यसबेला तत्कालीन महामन्त्री तथा कोइराला परिवारले समेत विश्वास गरेका पात्र कृष्ण प्रसाद सिटौलाको तेस्रो धार जन्मियो । जसले आफू नजिते पनि पौडेललाई हराउन ठुलो सहयोग पुगेको थियो ।

वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले माथिल्लो तहका कमिटी चयन गर्नुका साथै महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन् । अघिल्लो महाधिवेशनमा पार्टीमा बलियो पकड भएर पनि पौडेल सिटौला समूहमा विभाजित भएका कारण नेतृत्व गुमाएको यो समूह यस पटक गुट गुटको समूह बनेको छ । जसमा सभापतिका आकांक्षीमात्रै चार जना देखिएका छन्

तर यस बेला अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका तीनै जना पौडेल समूहमा देखिएका छन् । बिहीबारको पत्रकार सम्मेलनमा १३ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका अर्जुननरसिंह केसी र सिटौला समूहबाट महामन्त्री उम्मेदवार बनेका गगन थापा समेत देखिए । सिटौला आफैँ सहभागी नभए पनि यसले सिटौला समूह पनि पौडेल समूहमा फर्किएको या सिटौला समूहमा विभाजन आएको अर्थमा लिइएको छ । विमलेन्द्र निधिले देउवा समूहबाट अलग समूह खडा गरी सभापतिमा उम्मेदवारी दिएको र पौडेल समूह एकजुट बनेको खण्डमा यस पटक देउवालाई महाधिवेशन फलामको चिउरा चपाए हुने आङ्कलन गर्न थालिएको छ ।

साझा उम्मेदवारको प्रतिबद्धता

बिहीबार पत्रकार सम्मेलन गरेरै पौडेलले आगामी महाधिवेशनमा संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाए । सभापतिका आकाङ्क्षी चारै नेतालाई राखेर साझा उम्मेदवार दिने बताए पनि आकाङ्क्षीहरूको व्यवस्थापन सहज भने छैन । यसअघि नै महामन्त्री उठेका गगन थापादेखि संस्थापन इतर समूहमा बलियो पकड राख्ने कोइराला परिवारलाई समेत समेट्नुपर्ने बाध्यता छ ।

सिटौला समेत यो समूहमा फर्किएको अवस्थामा उनलाई समेत पदाधिकारी या सरकार कुनै स्थानमा सहभागिता गर्नु पर्ने छ। पछिल्लो समयमा सभापतिको साझा उम्मेदवारका लागि छलफल तीव्र बने पनि सबै आफू उम्मेदवार बन्ने दाउमा रहेका कारण सहज छैन ।

अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतले पछिल्ला छलफलको पहल गरेका थिए । गत सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा छलफल भयो । जसमा सभापतिको साझा उम्मेदवार दिने प्रतिबद्धता जनाए । तर रामचन्द्र पौडेलले आफूलाई पार्टीको नेतृत्वका लागि साझा उम्मेदवारका रुपमा अघि सारेपछि सहमति भएन । यी छलफलले मंगलबार र बुधवार पनि निरन्तरता पाए र परिणाम उही असहमतिकै आयो । त्यसैले बिहीबारको पत्रकार सम्मेलनमा साझा उम्मेदवारको प्रतिबद्धता आयो तर उम्मेदवार यही हुने भन्ने निर्णय आएन । 

तलैसम्म सन्तुलन बिग्रिने त्रास

यस पटकको महाधिवेशनमा संस्थापन इतर समूह एक ठाउँ नउभिने अवस्थामा तलैसम्मको सन्तुलन बिग्रने खतरा छ । त्यसैले यसलाई जोगाउन वडा अधिवेशनको एक दिनअघि पत्रकार सम्मेलन आयोजना गरेर एक ढिक्का देखाउने कोसिस भएको छ । पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल मात्रै बोले । उनले महामन्त्री डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, सुजाता कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, गगन थापासहितका नेताहरूलाई राखेर साझा उम्मेदवार दिने बाचा गरे ।

उनले आफूहरूभित्र कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा छलफल जारी रहेको र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेता कार्यकर्तालाई आगामी महाधिवेशनमा एक ढिक्का भएर अघि बढ्ने सन्देश दिन चाहेको बताए । शुक्रवार (आज) हुने वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले माथिल्लो तहका कमिटी चयन गर्नुका साथै महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन् । अघिल्लो महाधिवेशनमा पार्टीमा बलियो पकड भएर पनि पौडेल सिटौला समूहमा विभाजित भएका कारण नेतृत्व गुमाएको यो समूह यस पटक गुट गुटको समूह बनेको छ । जसमा सभापतिका आकांक्षीमात्रै चार जना देखिएका छन् ।

यसको फाइदा देउवा पक्षलाई हुनेछ भने पौडेल पक्षलाई सबैभन्दा बढी मार तल्ला कमिटीका नेतृत्व चयनमा देखिनेछ । त्यसैले एक ढिक्का बन्ने कोसिस गरिरहेका छन् । जिल्लामा सभापतिको निर्वाचनमा संस्थापन इतर समूह विभाजित भएमा परिणाम फेरिन सक्छ । जिल्ला सभापतिहरूले केही समयअघि नै साझा उम्मेदवार दिन या साझा उम्मेदवारको प्रतिबद्धता दिन दबाब दिएका थिए । बिहीबारको पत्रकार सम्मेलनमा पौडेलले यही सन्देश दिन खोजेका थिए । तर पौडेल आफ्नै नाममा सहमति गराएर साझा नेता बन्न सक्छन् या सक्दैनन् भन्ने चाहिँ हेर्न बाँकी छ।