चित्रकुमार सुवेदी | साहित्य | भदौ १९, २०७८
मैले
त्यो घरको ढुङा जती
मेरा छोरा छोरी
पनि बोकेको छैन
त्यो घरको माटो जती
मेरी श्रीमती पनी चुमेको छैन
मैले
जिवनमा
त्यही घरको ढुङ्गालाइ उचाले
माटोलाइ मुसारे र मिचे
प्रत्येक ढुङ्गामा मेरो रगत छ
थाप्रै पिच्छे माटोमा
मेरो पसिना छ
मैले
त्यो घरको मालिकको जती सेवा
मेरो बुबाको पनि गरेको छैन
मैले त्यो घरको मालिक्नी झै चाकर
मेरो आमालाइ पनी गरेको छैन
मैले ठाने
र बनाए
मेरो सन्सार त्यही घर हो
तर
घर ठडीएपछी
टलक्क छानो टल्कीएपछी
मैले टेक्न पाइन
मैले चूम्न पाइन
सुन्दैछु
सिरानको तलामा
बनाइएको छ रे
पूजा कोठा
बिच तलामा
बनाइएको छ रे
बैठक कोठा
पुजा कोठामा छिरेर
म पुजा गर्न पाउदिन
बैठक कोठामा बसेर
म बहस गर्न पाउदिन
घरी घरी त लाग्छ
हान्दीउ कि बम
उचालौ कि हम्बर
लाइदिउँ कि आगो
सम्झन्छु
म मेरो रगत पसीना
पुर्न चाहान्न माटो मुनी
म मेरो सिप र सिर्जना
बाल्न चाहान्न आगोमा
म त
पसिनामा रमाउने
श्रममा रमाउने
सिपमा रमाउने
म दलित
के पाए
जबकी
देख्न पाउदिन आफ्नै सिप
नेर्पा–९, खोटाङ