लोकसंवाद संवाददाता | समाचार | भदौ २०, २०७८
काठमाडौँ । करिब ५ महिना लामो आन्तरिक विवाद र मतभेदपछि नेकपा एमाले अन्ततः विभाजित हुन पुग्यो । कम्युनिस्ट विचारधारा बोक्ने राजनीतिक पार्टी भनेको ‘विपरीतहरूको एकत्व’ रुपमा लिइन्छ । नेपालका राजनीतिक पार्टीहरू भने सामान्य विवाद वा पार्टीबाट विभाजन वा अलग हुना साथ गालीगलौज र कारबाहीमा पुग्नु सामान्य हुने गरेकाे छ ।
यही सामान्य विवाद र ‘इगो’ समस्याले एमाले विभाजित बन्न पुगेको छ । किनकि एमाले विभाजनमा कुनै राजनीति, सैद्धान्तिक र वैचारिक मतभेद छैन । बरु तत्कालीन नेकपाभित्र माधवकुमार नेपाल र प्रचण्डसहितका बहुमत नेताहरुले आफ्ना एकलौटी निर्णयमा ल्याप्चे नलगाएको रिस एमाले ब्युँतिएपछि केपी ओलीले पोख्न अवसरका रुपमा उपयोग गरे ।
माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका नेताहरूमाथि कारबाहीको शृङ्खला नै चलाएपछि एमाले विभाजनको दिशातिर गएको थियो । तर रावल, भुसाल र पाण्डे भने एमाले विभाजनपछि पुनः ओलीको पछि लागेका छन् ।
राजनीतिक पार्टीमा विवाद र बेमेल आएपछि प्रतिद्वन्द्वीमाथि अराजनीतिक स्तरहिन गालीगलौज गर्नुलाई गर्वको विषय नेपालीहरुले लिने गरेको पाइन्छ । यतिबेला एमाले र एकीकृत समाजवादी पार्टीका नेताहरू यसरी नै एक अर्कोलाई न्वारनदेखिको बल निकालेर अराजनीतिक स्तरहिन गालीगलौज गाली गरिरहेका छन् ।
‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के–के जाती गरेँ, त्यस कारण तपाईँको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’
केन्द्रमा विभाजन भएको एमालेका तल्ला तहमा विभाजन भइरहेको छ भने उपाध्यक्ष वामदेव गौतमले त पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएर अलग भएको घोषणा गरिरहका छन् । जनप्रतिनिधिहरूलाई पार्टी रोज्न २२ भदौसम्मको समय भए पनि पार्टीका अन्य नेता कार्यकर्ताहरू जुनसुकै बेला दलबादल गर्न सक्ने भएकाले एमाले र एकीकृत समाजवादीको आकार कस्तो बन्छ भनेर अनुमान गर्न कठिन छ । तर विभाजित भएका नेताहरू भने एकले अर्कोलाई शून्यतामा जाने दाबी गरिरहेका छन् ।
माधव नेपाल र वामदेवमाथि ओलीका कटाक्ष
शनिवार एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा अस्वस्थताका बाबजुद गएका अध्यक्ष केपी ओलीले विभाजित भएर गएका नेताहरूमाथि कटाक्ष गरे । उनले वामपन्थी सरकार ढलाएर, दक्षिणपन्थी सरकार बनाएर, विकास गरिरहेको आफू नेतृत्वको सरकारलाई हटाएर माधवकुमार नेपालले क्रान्तिकारी भएको दाबी गरेको आरोप लगाए । उनले भने, ‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यसैमा बन्चरो हानेको हान्यै छ । जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिरमा बसेका थिए, त्यसमा थुकेको थुक्यै छ । धेरै देशतिर गएँ तर माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’
माधवकुमार नेपालले ‘एस’ पार्टी नभई देउवाको ‘यस’ पार्टी बनाएको आरोप लगाए । उनले भने, ‘ अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा दूध र भात खान पाइन्छ भन्दै म्याउँ गर्दै ढुक्न पुगेका छन् ।’
‘यिनीहरू पञ्जाबका लङ्गुर बाँदरका झुन्ड जस्तै हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पार्टीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त विचारमा फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ । कहिले प्रधानमन्त्रीका लागि राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको छ’, उनको टिप्पणी थियो ।
ओलीले शुक्रबारमात्रै पार्टीको उपाध्यक्षसहित पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका वामदेव गौतमप्रति पनि कटाक्ष गरे । उनले देउवा सरकारमा उपप्रधानमन्त्री खानकै लागि विरोध गर्दै हिँडेको आरोप लगाए । उनले भने, ‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के–के जाती गरेँ, त्यस कारण तपाईँको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’
एक्लै लड्न नसकेर गठबन्धन
ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएर अन्य दलले गठबन्धन बनाएको आरोप लगाए । उनले माधवकुमार नेपालको पार्टी नबन्दैदेखि ५ दलको गठबन्धन भएको उल्लेख गर्दै माधव नेपालको पार्टी अन्ततः शून्यमा पुग्ने दाबी गरे । उनले भने, ‘माधव नेपालको पार्टी सधैँ एकीकृत रहन्छ। माधव नेपाल पार्टी मात्रै बन्छ ।’
चीनसँग सीमा विवाद कसलाई खुसी पार्न ?
ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको भन्दै उनले कसलाई खुसी पार्न सीमा विवाद देखाएको भन्दै प्रश्न गरे । उनले सरकारले हालै बनाएको सीमा विवाद अध्ययन गर्न गठित समितिलाई विवाद देखाउन चुनौती समेत दिए । उनले भने, ‘कसलाई खुसी पार्न चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन्छु । यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले अहिलेको सरकारले भारत र चीन दुवैसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको आरोप लगाए ।
उनले एमसीसी झुक्क्याएर पास गर्न लागेको आरोप लगाए । कांग्रेस र माओवादीले एमसीसी सम्झौता गरेको र अहिले त्यसबारे नबोली झुक्क्याएर पास गर्न खोजेको आरोप लगाए । ओलीले भने, ‘कांग्रेस र माओवादी हैनन् हिजो एमसीसी सम्झौता गर्ने ? अहिले किन बोल्दैनन् ? झुक्क्याएर पास गर्न खोजेको ?’