लोकसंवाद संवाददाता | समाचार | बैशाख २४, २०७६
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।
निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित बनेको हो ।
निवेदकद्वयले संसदीय सुनुवाइसमितिमा समेत शर्माविरुद्ध निवेदन दिएका थिए । रिट निवेदनमा नवनियुक्त न्यायाधीश शर्मालाई संविधान रकानुनले निर्दिष्ट गरेको योग्यता,क्षमता र दक्षता नभएका व्यक्तिका रूपमा चित्रण गरिएको छ । न्यायपरिषद्को नेतृत्व र त्यहाँका पदाधिकारीलाई 'राणाकालका श्री ३ महाराजले झैं कार्यशैली अपनाउन खोजेको' आरोप पनि रिट निवेदनमा लगाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।