न्युज कारखाना | समाचार | भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्न एमाले अध्यक्ष केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ । १४ जना सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई आज बोलाएको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिने/नदिनेबारे छिनोफानो हुनेछ ।
यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो । साथै, विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए । रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ ।