लोकसंवाद संवाददाता | समाचार | भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच लोकसेवा आयोग विधेयक, २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेस गरेका थिए ।
विधेयकमाथिको छलफलमा कुनै सदस्यले भाग लिएनन् । बहुमतका आधारमा विधेयक राष्ट्रियसभाबाट पारित भएको हो । विधेयक पारित हुँदा एमालेका सांसदले उठेर अवरोध गरिरहेका थिए ।
बैठकले राष्ट्रियसभा पूर्वसदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक ३० भदौ बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
यसअघि आजै बसेको पहिलो बैठकमा सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्रप्रकाश पुरीले विधायन व्यवस्थापन समितिको लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन पेस भएसँगै एमालेको अवरोधलाई मध्यनजर गर्दै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । दोस्रो बैठकले अध्यादेश पारित गरेको हो ।