न्युज कारखाना | समाचार | भदौ ३०, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् ।
पोष्टबहादुर बोगटीको ७औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलिक बढी नै लगाव देखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले आफ्नो पार्टी यसबीचमा कहीँ न कहीँ आफ्नो उद्देश्यबाट विचलित भएको पनि उल्लेख गरे । ‘वर्ग, उत्पीडित जाति समुदायका निम्ति जसरी सम्पूर्ण रूपले समर्पित भएर आफ्नो व्यक्तिगत हित स्वार्थलाई त्याग गरेर बलिबेदीमा हामी होमिन हिँड्थ्यौँ । लडाइँको मोर्चामा जान पाऊँ भन्ने हुन्थ्यो तर आज त्यस्तो छैन । आज हामीले व्यक्तिगत पद र स्वार्थका निम्ति अलिक बढी नै लगाव देखाएका छौँ', प्रचण्डले भने, 'गुट बनाउनेतिर जाँगर देखाएका छौँ । पार्टी बनाउने होइन, गुट बनाउनेतिर फाइदा हुन्छ भनेर सोच्ने प्रवृत्ति देखिएको छ । पार्टीको क्रान्तिकारी चरित्र विस्तारैविस्तारै स्खलित हुँदै अरू बुर्जुवा पार्टी जस्तै हुने दिशातिर गइराखेको छ ।’
पार्टीलाई क्रान्तिकारी बनाउन आवश्यक संरचना निर्वाचन निर्देशिका, निमयवाली, विधि, पद्धति विकास गरेर चल्नुपर्ने उनले बताए । ‘हामी एउटा विशाल पार्टी हौँ । नेता कार्यकर्ताको संख्याको कुरा गर्ने हो भने, आन्दोलनमा समर्पण र भावनाको कुरा गर्ने हो भने अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक विशाल पार्टी हो । यसको तुलना अरूसँग हुँदैन’, उनले भने, ‘आन्दोलनमा जाने जुर्मुराएर उठ्ने पार्टी नेता, कार्यकर्ता यसै पार्टीमा छन् ।'
उनले ५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमन भन्दै त्यसका विरुद्ध आन्दोलनको नेतृत्व गरेको दाबी पनि गरे । 'क्रान्ति भनेपछि अहिले पनि त्यसरी नै लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् । हामी अलिअलि बिग्रियौँ भनेर ठानेको तर जनता बिग्रेका रहेनछन् । ग्रास लेभल कार्यकर्ता बिग्रेका होइनन् । जनता बिग्रेको होइन', उनले भने, 'माथि हामी नेताहरू, गुट गर्दै रमाउने हामी नेताहरू बिग्रेको सावित भयो । गलत बाटोतिर हाम्रा पाइला छन् । हामी सुधार्नुपर्छ भनेर जनताले भनिरहेका छन् ।’
देशको राजनीति दुर्घटनातिर जाँदै गर्दा धेरै ठूलो आन्दोलनबाट देशलाई रक्षा गर्ने, संविधान र परिवर्तनको एजेन्डाको रक्षा गर्ने, गणतन्त्र राष्ट्रको रक्षा गर्ने अभियानमा सफलता हात पारेको उनले बताए । ‘झन्डैझन्डै प्रतिगमनमा जाने हो कि भनेर देशमा राजनीतिक घटना भए र क्रान्तिका उपलब्धि धरापमा पर्ने हुन् कि भन्ने परिस्थितिबाट हामीले जोगाएका छौँ । नेपाली जनताले जोगाएका छन्’, उनले भने ।