लड्दालड्दै उठ्नै नसक्ने स्थितिमा नेता: वैभवको गङ्गामा नुहाउन सक्ने सामर्थ्य प्राप्त

लड्दालड्दै उठ्नै नसक्ने स्थितिमा नेता: वैभवको गङ्गामा नुहाउन सक्ने सामर्थ्य प्राप्त

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ ३०, २०७८

‘आजसम्मका दर्शनहरू टाउकाले टेकेका थिए, मैले खुट्टाले टेक्ने दर्शनको व्याख्या गरेको हुँ’ भनेर दार्शनिक कार्ल मार्क्सले वैज्ञानिक चिन्तनको नयाँ अवधारणा विकास गरेपछि उनका अनुयायीहरू संसारभर जन्मिए । 

हुन पनि चिन्तनको एउटै मार्गमा हिँडिरहेको विश्व मानव समाज माक्र्सबाट प्रत्यक्ष, परोक्ष रूपमा प्रभावित भयो । भोका, नाङ्गा जनताका खुन चुसेर अघाउने बानी लागेका जुकाहरू भयभीत भए । कतिपय नयाँ चिन्तनको बलिवेदीमा स्वाहा भए भने कतिपयले आफूलाई परिवर्तन नगरी सुख पाएनन् । 

भोका, नाङ्गाहरूको हाम्रो देशमा के कमी थियोे र माक्र्सवादको खेती यहाँ नसप्रियोस् । नेपाली जनताले निधारमा रातो चन्दन लेपेरै भए पनि नीलो मसीले कम्युनिस्ट पार्टीलाई छाप लगाए फल स्वरूप पटक पटक कम्युनिस्ट पार्टीका नेताहरूले सत्ताको तर चाट्न पाएका छन् । जनतालई मार्क्सवाद के हो थाहा नभए पनि नेताका लागि अभेद्य अस्त्र हो । नेपालमा नेताहरूले कम्युनिस्ट पार्टीको जनै बनाउन मात्र बाँकी छ । 

जब दर्शनको गहिराइमा पुग्न मानिसलाई अल्छी लाग्छ । व्यवहारमा उतार्न कठिन हुन थाल्छ, त्यसपछि दर्शनले कर्मकाण्डको रूप लिन्छ । अनि, ‘सम्झिने पानी छम्किने’ संस्कृतिको यात्रा प्रारम्भ हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि अहिले सम्झिने पानी छम्किनेकै दिशामा लम्केको छ । 

सांस्कृतिक तथा सामाजिक रूपान्तरण भन्ने कुरा मरेपछि स्वर्ग जानेजस्तै हुन लागेको छ । माक्र्सवादी गुरुकुलमा सिकेका केही पारिभाषिक शब्दलाई यसका नेता, कार्यकर्ताले सुगालेझैँ रटान लगाएका छन् । नेतृत्वको पिन्जरामा बसेर घरिघरि यिनीहरू ‘गोपी कृष्ण कहू’ भनिरहन्छन् । त्यहाँभन्दा अरू नजानेपछि गर्नू पनि के ?

दशकौँदेखि देश र जनताका लागि हिँडेका मान्छेहरू पुँजीपति भए, उद्योगपति भए, करोडौँको गाडी चढ्ने भए, शहरमा आलिसान महलहरू डठ्याउने भए, उस्तै परे बालुवाटार नै खरिद गर्न सक्ने भए । राजनीतिलाई पेसा होइन, सेवा मानेर हिँडेका चरित्रवान् नेताहरू वैभवको गंगामा नुहाउन सक्ने यत्रो सामर्थ्य देश र जनताका लागि लड्दालड्दै भयो । 

कम्युनिस्ट पार्टीहरू कर्मकाण्डी भए भनेर कर्मकाण्ड पद्धतिको विरोध गर्न खोजेको होइन, त्यतातिर समीक्षाका अकेक पाटा होलान् । सत्तास्वार्थ, धोकाधडी, व्यक्तिगत, अहंकार र अर्थाेपार्जनको अँध्यारा गल्लीमा हल्लिरहेका मान्छेमा पनि कम्युनिस्ट भाष, भाव र भंगिमा कसरी टाँसिएको छ त ? भन्न मात्र खोजेको हो । अब कम्युनिस्ट चरित्र र व्यवहारभन्दा लत र अभिनय कसले बढी देखाउने भन्ने होडबाजी चलेको छ । 

कमरेडको सम्बोधन पनि त्यस्तै एउटा मन्त्रको सुरुवात मात्र हो । हामीलाई पनि यस्तो बानी परेको छ । कुनै नेताले अर्कालाई कम्रेड भनेन भने आश्चर्य लाग्छ । म कहाँ छु भनेर परिवेश पुष्टि गर्नुपर्ने स्थिति सिर्जना हुन्छ । 

जे भए नि कमरेडबाट ‘बा’ हुने अभियान सुरु भएको छ । अब यसैगरी दाइ, काका, मामा, आमा, फुपू हुने क्रम पनि विकास होला । हामी नातावाद, कृपावादमा रमाउनेलाई कमरेडभन्दा बा, काकाबा नै फलदायी हुन्छ । लात्ती हानेर भिरबाट खसालिसक्दा पनि कमरेड भनिरहनुभन्दा नाता लागेकाहरूकै घेरामा उभिनु सुखानुभूतिको विषय हो नि त !
 
हावामा मुठ्ठी बजाउनु, मार्क्स, लेनिन आदिका तस्बीरमा अबीर र माल्यार्पण गर्न नबिर्सिनु (धुप, दीप सुरु हुन बाँकी छ), ‘अवसरवादी हुन्नँ’ भनेर शपथ ग्रहण गर्न लागाउनु, सदस्यलाई अबीरले पोतिदिनु, हँसिया-हथौडाको झण्डामुनि लामबद्ध हुनु जस्ता विधिहरू कम्युनिस्ट कर्मकाण्डका आधार हुन् । यसको विधिपद्धतिको ग्रन्थ बजारमा सर्वत्र उपलब्ध नभएको मात्र हो । 

नेपालको राजनीति देशलाई कसरी माथि उठाउने भन्दा पनि एकले अर्कालाई कसले माथि उठाएर तल बजार्ने भन्ने मनोविज्ञानबाट प्रेरित छ । पहिले माओवादीहरू यसलाई ‘संसदीय भास’ भन्ने गर्थे । अहिले उनीहरू नै यस भासमा बढी जाकिएकाले माओवादीबाट चोइटिएर गएका हाँगा पार्टीहरू मात्र यसो भनिरहेका छन्, त्यो पनि सिंहदरबारको ढोकामा बसेर । 

भित्र पस्नेबित्तिकै उनीहरूको मुखमा पनि बुझो लागिहाल्नेरहेछ । सत्ताको चास्नीमा डुबुन्जेल जुन कुरो सही हुन्छ, बाहिर आउनेबित्तिकै त्यही गलत भइहाल्छ । खासमा स्वार्थको लोभानी पापानीमा डुबेका व्यक्तिबाट परहित हुनु अत्यन्त असंभव छ । 

लाग्छ, हाम्रा नेताहरू देश र जनताका लागि धेरै लडे । लड्दालड्दा उठ्नै नसक्ने स्थितिमा पुगिसके । अब उनीहरूले आफ्ना लागि लड्नुपर्छ । मरेर जाँदा जनताले सम्झिऊन् । इतिहासले सम्मान गरोस् । कसैको त विचार र व्यवहारमा समानता देखियोस् बाबा ! दशकौँदेखि देश र जनताका लागि हिँडेका मान्छेहरू पुँजीपति भए, उद्योगपति भए, करोडौँको गाडी चढ्ने भए, शहरमा आलिसान महलहरू डठ्याउने भए, उस्तै परे बालुवाटार नै खरिद गर्न सक्ने भए । राजनीतिलाई पेसा होइन, सेवा मानेर हिँडेका चरित्रवान् नेताहरू वैभवको गंगामा नुहाउन सक्ने यत्रो सामर्थ्य देश र जनताका लागि लड्दालड्दै भयो । 

एउटै मान्छे ४-५ दशकदेखि एउटै उद्देश्यका लागि कुदेको छ ।  भोजभतेर मिलेकै छ, रेस्टुरेन्टमा चिकेनचिल्लीदेखि न्युयोर्क दिल्लीम्मको सयर मिलेकै छ । बिरामी हुँदा हङकङ, सिंगापुरका डाक्टरले ज्यान मुसारेकै छन् । पत्रकारले मुखमा माइक जोत्न ल्याएकै छन् । विरोधी पार्टीलाई गाली गर्न जानेकै छ । 

‘सोही पण्डित गाल बजावा’ भनेजस्तै त्यति भएपछि चर्चाको कमी हुने कुरै भएन । जो चर्चामा रह्यो, उही नेता भयो । मिडियामा यिनीहरूको व्यस्तता देख्दा यस्तो लाग्छ, अब यिनीहरूले केही गरेरै छाड्छन् । तर, मान्छेका काँधमा चढेर लिंगोमा झुन्ड्याएको घैँटो फुटाउने मात्र रहेछ । 

आपसी सद्भाव, बन्धुत्वमैत्री नभएपछि हो अरूले हेप्ने पनि-परिवारमा होस्, पार्टीमा होस् या देशमा होस् । जहाँनिर छिद्र हुन्छ त्यहीँबाट उडुस, उपियाँ र सर्पहरू छिर्छन् । छिरिसकेपछि हाहाकार गरेर के गर्नू ? पहिल्यै टालेको भए यस्तो अवस्था आउँदैनथ्यो । 

उद्योगधन्दा छैन, कुनै उत्पादन छैन, जनशक्ति निर्यात गरेको छ अनि वस्तु आयात गरेको छ । विकास निर्माणका लागि मात्र नभएर राज्य संचालन खर्चसमेत मागेर चलाउनुपरेको छ । अनि, विदेशीले हेपे भनेर रुवाबासी पनि गरेकै छ । ‘माग्नेलाई तातो भात’ भनेजस्तो भिखरीलाई ५ रुपैयाँ दिँदा त हामी ग्रह दशा, रोगव्याधि सबै कटून् भनेर ३ पटक टाउको घुमाएर दिन्छौँ । विदेशीलाई दान दिँदा हामीमाथि बलात्कारी दृष्टि के नलगाओस् ? ‘लिने भए ली नत्र केही पनि दिन्नँ’ भन्दा दाँत ङिच्याउनु सिवाय अरू उपाय छैन ।

हुनत हाम्रो संस्कृति ‘सेवा ही परमो धर्म’को आदर्शको जगमा उभिएको संस्कृति हो । दानमा अडिएको संस्कृति हो । परोपकार नैै धर्म हो र परपीडन नै पाप हो भन्ने पवित्र चिन्तनले विकास गरेको जीवनशैली नै हाम्रो पहिचान हो । सबै सुखी होऊन् र सबै नीरोगी होऊन् भन्ने सकारात्मक चिन्तनका सूक्ति हामीलाई याद छन् । सँगै कर्म गरौँ र सँगै बाँढेर खाऔँ भन्ने जीवनगीत हामीले गाउँदै आएका पनि हौँ । 

तर, समयले हाम्रा चिन्तन र व्यवहारलाई स्वार्थको झोलामा हालेर खोलामा बगाइदिएको छ । मानसिक र आर्थिक दरिद्रताबाट हामी यति ग्रस्त भएका छौँ कि आफ्नै अनुहारको प्रतिबिम्ब पनि कुरूप देखिन थालेको छ । स्वार्थको अन्धविवरमा हाम्रो गुणग्राही अनुहार गायब भएको छ ।