पूर्ण ओली | दृष्टिकोण | असोज ०१, २०७८
हिन्दी फिल्म ‘शोले’मा भएका गब्बरको नकारात्मक भूमिका निकै प्रभावकारी भएको थियो । उनको एउटा डायलग जुन निकै प्रचलित थियो ‘५० कोश टाढा यदि कुनै बच्चा रोइरहेको छ भने उनकी आमाले भन्छिन्- नानी सुत नत्र गब्बर आउनेछ ।’
त्यसपछि त्यो बच्चा गब्बरको डरले सुत्नेछ भनिन्थ्यो । भ्रष्टहरूलाई यस्तै डर पैदा नगरिएसम्म भ्रष्टाचार नरोकिने पक्का भइसकेको छ । अहिले सबै दलका प्रमुख नेता कुनै न कुनै भ्रष्टाचारमा मुछिएका छन् । यीमध्ये कुनै पनि दलका नेताहरू सरकारमा गएपछि भ्रष्टहरूलाई कारबाही गर्ने हिम्मत गर्दैनन् किनकि उनीहरू आफैँ पनि एक दिन आफूले गरेको अर्बौं रुपैयाँको भ्रष्टाचारमा कारबाहीमा पर्नुपर्ने हुन्छ ।
त्यही भएर जुनसुकै ठूला दलका नेता सत्तामा पुगे पनि एउटा सानो कोठामा राखिएका सर्प, भ्यागुत्तो र बिच्छी जस्ता हुन्छन्, जसले एकअर्कालाई हेर्ने मात्र हो तर खान सक्दैनन् । जसले खान सुरु गर्छ, उसलाई खाने अर्को त्यहीँ तयार छ । त्यही भएर ललिता निवास काण्डका प्रमुख व्यक्ति, जसले क्याविनेटबाट निर्णय गराएर सरकारी जग्गा भूमाफियालाई जिम्मा लगाएका पूूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई कारबाहीको दायरामा नै ल्याइएन । वाइडबडी काण्डमा प्रधानमन्त्री शेरबहादुरको नाम जोडिनासाथ अख्तियारले कारबाही अगाडि बढाएन ।
प्रचण्ड जोडिएको क्यान्टोनमेन्टको भ्रष्टाचार काण्ड अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कारबाही चलाउने कुरा गर्नासाथ महाअभियोगको विषय ल्याएर हटाइयो । यति होल्डिङ्स र ओम्नीको भ्रष्टाचारको खाता खोल्नासाथ केपी ओलीको नाम जोडिन्छ । एनसेलको भ्रष्टाचार रकम अहिलेसम्म कुनै पनि सरकारले फिर्ता ल्याउने प्रयास गरेका छैनन् किनकि सबै दलका नेताले उक्त रकम भागशान्ति गरिसकेका छन् । नत्र सर्वोच्च अदालतले फैसला गरिसकेको रकम किन फिर्ता ल्याइँदैन ? अनि, नेपालमा कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ?
कमसेकम देश जोगाउन पनि भ्रष्ट र देशद्रोहीलाई केही पाठ पढाउनै पर्ने भयो । तरिकाहरू धेरै छन् । राम्रो र प्रभावकारी तरिका छनोट गरौँ, अब देशद्रोही र भ्रष्टलाई ठीक पार्ने समय आइसकेको छ । त्यसैले भाषण होइन। ठोस रूपमा कार्यान्वयनतर्फ लागौँ ।
अब जनस्तरबाट नै भ्रष्टहरूलाई कारबाही गर्ने बाध्यता बन्दै छ । जनता भ्रष्टाचारबाट अक्रान्त छन् । जनता रातदिन भ्रष्टाचारीलाई कारबाही गर भनेर सडकमा आउँदासमेत उनीहरूबाट कारबाहीको कुरा त पर जाओस्, सुशासनसमेत दिन सकेका छैनन् ।
सत्ताका लागि आपसमा झैझगडामा तल्लीन छन् । अहिलेका सरकार प्रमुख ५ जना मन्त्री लिएर २ महिनाभन्दा बढी समयसम्म आफूखुसी शासन गरिरहेका छन् । मन्त्रीको दरबन्दी पूरा नगर्दा शेरबहादुरलाई केही फरक परेको छैन । आफूखुसी नियुक्ति र कर्मचारीको सरुवा-बढुवामा एकलौटी तर मार्न पाइरहेका छन् ।
संयुक्त सरकारका दलका नेता पनि केहीलाई मन्त्री बनाउनासाथ बाँकी सदस्यले २० प्रतिशतबाट दल फुटाउन सक्ने प्रावधानले डराइरहेका छन् । त्यही भएर दलका प्रमुखहरू मन्त्रीका नामसमेत दिन आनाकानी गरिरहेका छन् ।
देशभरमा राष्ट्रघाती एमसीसीको विरोधमा सम्पूर्ण जनताले सडकमा नारा लगाइरहँदा पनि नेपाली कांग्रेसका प्रधानमन्त्री भने जसरी हुन्छ सदनबाट एमसीसी पास गर्नुपर्छ भनेर रट लगाइरहेका छन् । देश जल्दा पनि बाँसुरी बजाइरहने रोमका राजा निरो जस्तै शेरबहादुरलाई केही नभएजस्तो गरी आनन्दसँग शासन चलाइरहेका छन् ।
उनलाई जनताको पीडा, भ्रष्टाचार, विदेशीको हस्तक्षेप, देश विकासमा कुनै मतलब नै भएको पाइँदैन । जनता अब अत्यन्त आक्रोशित मात्र छैनन्, सरकारमा बस्नेहरू, एमसीसीका पक्षधर, देशद्रोही तथा भ्रष्टहरूमाथि हमला गर्ने कुरा सामाजिक संजालमा देखिन थालेको छ ।
अहिलेको नेताहरूबाट मात्र होइन, व्यवस्थाबाट पनि जनता वाक्क भइसकेका छन् । अत्यधिक जनता गणतन्त्र र धर्मनिरपेक्षता हटाएर हिन्दु राष्ट्रसहित संवैधानिक राजतन्त्रको आवश्यकता महसुस गरिरहेका छन् । अर्कोतर्फ साम्यवादको वकालत गर्ने समूह गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा रहन सक्ने संभावनाले देशमा आन्तरिक कलह हुने संभावना बढिरहेको भान हुँदै छ । यो सबैको प्रमुख कारण देशमा सुशासनको अभाव नै हो ।
यदि देशमा भ्रष्टहरूलाई धमाधम कारबाही हुन सकेको भए, इमान्दार र सक्षम मानिसहरूले सही ठाउँमा नियुक्ति पाउन सकेका भए, दलाल र भ्रष्टहरूलाई नेताहरूले काखी नच्यापेका भए, नेताहरू विदेशीका दलाल नभएका भए आज जनतालाई कुनै कुराको मतलब हुने थिएन ।
अधिकांश बेरोजगार युवाहरू खाडीमा गएर पसिना बगाइरहेका छन् । कोही अकालमा मृत्यु वरण गर्न बाध्य छन् । दल र यसका नेताहरू उच्चसुविधामा रमाएर जनताको करको दुरूपयोग गरिहेका छन् । युवाहरूले अब भ्रष्टाचारको विरुद्धमा हिन्दी फिल्मको गब्बरको नयाँ रूपमा भ्रष्टहरूको सातो लिनेगरी अभियान चलाउन आवश्यक भइसकेको छ किनकि नेपालका अहिले भएका ठूला दलहरूबाट देशको विकास होइन, विनास मात्र भइरहनेछ ।
सबभन्दा पहिला इमान्दार र राष्ट्रवादीहरूको सशक्त समूह निर्माण गरिनुपर्छ । अहिले कतिपय समाजका प्रतिष्ठित क्षमतावान् युवाहरूसहित संगठित रूपमा अघि बढिरहेका छन् । देशमा यसरी जुलुस, आमसभा गरेर मात्र देशले सही बाटो लिन सक्दैन । जबसम्म भ्रष्ट र देशद्रोहीभित्र डर पैदा हुँदैन, तबसम्म यी सबै कुराको निवारण हुन सक्दैन ।
त्यसैले अब नाम चलेका देशद्रोहीहरू, जो विगतदेखि अहिलेसम्म विदेशीको दास बनेका छन्, तिनीहरूको नाम लिस्ट तयार गर्ने र प्रकाशन गर्ने । त्यस्तै गरेर ठूला भ्रष्टहरू, अख्तियारले कारबाही गरेका र अदालतबाट सफाइ पाएका या नपाएका बदनाम भ्रष्टाचारीको नाम संकलन गर्ने र प्रकाशन गर्ने ।
यसपछि उनीहरूलाई चेतावनी दिँदै भ्रष्टहरूले कमाएको अकुत सम्पत्ति नेपाल सरकारलाई फिर्ता गर्ने अवसर दिने । देशद्रोहीहरूलाई पनि आफूले नेपालका विरुद्ध र विदेशीको हितमा गरेका कामको खुला मन्चमा गएर आत्मआलोचना गर्ने र अब उप्रान्त नेपाल र नेपालीको हितभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिबद्धता गराउने ।
यसपछि पनि उनीहरूमा कुनै परिवर्तन नआएमा ती व्यक्तिको घर घरमा गएर सूचना टाँस गर्ने । त्यसपछिको परिणाम आक्रोशित जनताको मार पर्न सक्छ । सरकारमा बस्ने र अख्तियारले ठूला-साना भ्रष्टहरूलाई धमाधम कारबाही गरेर अघि बढ्न नसके यी सबैको विरुद्ध एउटा जनलहर पैदा गरिन आवश्यक छ ।
अब युवाहरूको संगठनलाई सदुपयोग गर्दै टोलटोलमा भ्रष्ट र देशद्रोही विरुद्धका टोलीहरू खडा गरिन आवश्यक भइसकेको छ । यसका लागि अहिले भएका केही नयाँ दलका सक्षम र राष्ट्रवादी नेताहरू, जो निकै लोकप्रिय भएका छन्, उनीहरूले नेतृत्व लिन आवश्यक छ । यस्ता नेतृत्वहरू सक्षम, निष्पक्ष, युवाहरूको मन जित्न सक्ने राष्ट्रप्रेमी र दूरदर्शी सोचका तथा धैर्य हुनुपर्छ ।
विभिन्न तरिकाबाट जनतामा आशा जगाउने र भ्रष्टहरूको सातो जाने कार्यहरू अवलम्बन गर्न आवश्यक भइसकेको छ । एक पटक विवेकशील साझा पार्टीले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने लेखेर टी-सर्ट बाँडेको थियो । त्यो गन्जी लगाएर भ्रष्टचार बढी हुने कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले बिनाघुस काम गरेको भन्ने पनि सुनिएको थियो ।
कमसेकम यस्ता कार्य र भ्रष्टाचारमा यकिन भएकाहरू नाम सार्वजानिक स्थलमा टाँस्न थालियो भने यसबाट पनि सकारात्मक परिणाम आउन सक्छ । कमसेकम यसपछि भ्रष्टहरू शिर ठाडो पारेर समाजमा बोल्न नसकून् । यसभन्दा अघि सबै इमान्दार र सक्षम व्यक्तिको पहिचान हुन पनि आवश्यक छ । कुनै पनि मानिसहरूलाई दुर्व्याबहार हुनबाट भने जोगाउन कार्यक्रम संचालक होसियार हुनै पर्छ ।
कमसेकम देश जोगाउन पनि भ्रष्ट र देशद्रोहीलाई केही पाठ पढाउनै पर्ने भयो । तरिकाहरू धेरै छन् । राम्रो र प्रभावकारी तरिका छनोट गरौँ, अब देशद्रोही र भ्रष्टलाई ठीक पार्ने समय आइसकेको छ । त्यसैले भाषण होइन। ठोस रूपमा कार्यान्वयनतर्फ लागौँ ।