'यो मुन्छे'

'यो मुन्छे'

गम्भीर दवाडी  |  साहित्य  |  असोज ०१, २०७८

आमाको छातीमा 
टपक्क टाँसिएर 
अमृत पिएर 
बाँचेको यो मुन्छे

थ‍ोते दाँत 
तोते जीब्रोले 
कलिलो आँत
फट्कार्ने यो मुन्छे

हिमालको यो टाउकोमा 
तराईको सुनौलो सपना
पहाडको यो ढाडमा 
बोकेरै मेलापातमा
उकाली गरेको यो मुन्छे

धेरैलाई लाग्ला 
यो कसरी बाँचेको छ !
थोरैलाई सताउला
सिउँदोभरि गुराँस फुलाउँदै
हत्केला वरिपरि पौरख डुलाउँदै
प्रकृति सँगै भुल्दै 
निरविकल्प हाँसेको छ 

यो मुन्छे 
न त भतुवा भएर 
अडिन सक्छ 
न त रतुवा भएर
छिमेकीको 
यान्त्रिक मानव बन्न सक्छ 

निष्ठा जोगाउँने धून
पूर्वबाट उदाउने लालकिरण 
गोधूलिको पश्चिममा 
शीतलतामा लाग्ने जून

यी साह्रा पुर्खौली
पदचाप पछ्याउँदै 
प्रतिष्ठा जोगाउँन 
खोज्ने यो मुन्छे 

भन्नुस् त महासय !
कसरी अराजक भएँ ?
हाम्री बुढी आमालाई 
बिदेशी वृद्धाश्रममा 
जबर्जस्ती सहमत गरेर
पुर्‍याउन खोज्ने 
कुलङ्घार दाइ भाइसँग 
आपत्ती जनाउँदा 
सुखी नेपाली र
समृद्ध नेपालको 
बाधकको आरोपित 
बनेको यो मुन्छे

यो चराचर 
खुल्ला आकाश मुनि
आएको आँधीबेहरी 
हुरी बतास र
बाढीको सतासलाई
कसले रोक्न सक्छ ?

भावी पलका लागि
भावी सन्ततिको निम्ति 
यो बाजेको जेथा 
जोगाउँन चाहने यो मुन्छे

पञ्चशीलको सिद्धान्त
काखी च्याप्दै 
चन्द्रसूर्य झण्डा फरफर्राउँदै 
बाँच र बाँच्न देउ भन्ने यो मुन्छे
कसरी
यो स्वाभिमानी शिर 
गिराउँदै 
तडकभडकमा
जीवात्माहरु टेकेर 
मृत्युको मुखमा 
पुर्‍याउने त्यो खुट्टामा ढोगूँ ?

जे छ ठिकै छ
हुने हार दैव नटार 
बरु यै नालापानी पिउँला
यै सुस्तालाई सुम्सुम्याउँदै 
कोइली र न्याउली सँगै 
गीत गाउँदै 
पसिना बगाउँदै 
उकाली ओराली गर्छु
 
तर 
तिम्रो जिजीविषा सित
लहसिएर 
बहकिएर 
एक कदम नि 
राष्ट्र र स्वाभिमान बिरुद्ध 
 नलाग्ने यो मुन्छे 
        


२०७८भाद्र २६  गजुरी, धादिङ्ग