न्युज कारखाना | समाचार | असोज ०३, २०७८
नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन् ।
संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट 'हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
अवधारणापत्रमा शर्माले पार्टीको १४औँ महाधिवेशनमा राजनीतिक परिवर्तनको अनिवार्यतामा जोड दिएका छन् । १४औँ महाधिवेशनको क्रममा एकातर्फ विगतको आत्मसमीक्षा गर्नुपर्ने र अर्कातर्फ भविष्यको आत्मचिन्तन गर्नुपर्ने उल्लेख गरेका छन् ।
शर्माले स्थापनाकालमा बीपी कोइरालालगायत अग्रजले देश सामु राखेको संकल्प र सपनाले हासिल गरेको उपलब्धिप्रति एकातर्फ गौरव त अर्कातर्फ कार्यसम्पादनमा रहेका कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने औँल्याएका छन् ।
इतिहासको कालखण्डमा बीपीले देशका लागि देखेको सपनालाई एक्काइसौँ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर 'समय सापेक्ष सपना'का साथ कांग्रेस अघि बढ्नुपर्ने उनको अवधारणा छ ।
'यो यात्राले कांग्रेसको रूपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षालाई सम्बोधन गर्न सक्नु छ । १४औँ महाधिवेशन क्रममा यी समग्र विषयमा हामीले चिन्तन गर्नु छ', अवधारणापत्रमा भनिएको छ ।
कांग्रेस युवा नेता शर्माले गत २४ भदौमा बीपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।