लोकसंवाद संवाददाता | समाचार | असोज ०८, २०७८
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति नसर्ने बताएको छ ।
शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ९-१३ मंसिरमा तोकिएकै मितिमा हुने प्रस्ट पारेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सार्ने विषयमा अहिले पार्टीले नसोचेको प्रस्ट पारे ।
बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्यसमितिको भावनाअनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय बैठकले गरेको छ ।
बैठकले विवाद रहेका १३ वटा जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको शर्माले बताए ।