आशिष पौडेल | अन्तर्मन्थन | असोज ०९, २०७८
पारिवारिक विरासतबाट लिएर आएको पण्डित्याइँको परंपरा अनि शास्त्र, धर्म र ज्योतिषसमेतको थप अध्ययनले उहाँलाई रामचन्द्र गौतम बनाएको हो ।
धर्म, कर्म, पर्व र तिथिलाई मिहिन रूपमा केलाएर त्यसलाई शास्त्रीय आधारमा निर्णय दिनु वा गर्नु उहाँको मुख्य विशेषता हो । यही विशेषताले उहाँलाई पञ्चाङ्ग निर्णायक समिति जस्तो महत्त्वपूर्ण र पछिल्लो समय विवादित बनाइएको संस्थामा करिव नौ वर्ष काम गर्ने अवसर प्रदान गर्यो ।
जस्तासुकै विवाद र व्यवधान आए पनि शास्त्रीय मान्यता, विधि, विधान र आफ्नो ज्ञान तथा अनुभवको धरातलमा रहेर विवेक बन्धक नराखी निर्णय दिन सकेकाले नै उहाँ रामचन्द्र गौतम हुनुभएको हो भन्दा अत्युक्ति नहोला ।
पारिवारिक अवस्था
उहाँको परिवार ५ पुस्ताअघिदेखिको पण्डित परंपराबाट आएको हो । हजुरबुबालाई त उहाँले पनि देख्नुभयो ।
उहाँको बुबाले त्यतिबेलै वनारसबाट शास्त्री पास गर्नुभएको हो व्याकरणमा । त्यस बेला धादिङ जिल्लामा मात्र १९ वटा भाषा पाठशाला थिए । ती पछि सामुदायिक विद्यालयमा परिणत भए ।
उहाँको परिवारको आर्थिक स्थिति राम्रै थियो । राम्रो हुनुको कारण भने बुबाको जागिर पनि थियो । उहाँ पण्डित्याइँ पनि गर्नुहुन्थ्यो । जग्गा-जमिन पनि प्रशस्त थियो ।
उहाँका बुबाका ५ भाइमा पाँचै जना पण्डित्याइँ गर्नुहुन्थ्यो । अरू भाइहरू भने सामान्य पण्डित्याइँ गर्थे । तर, उहाँको बुबाको पढाइ राम्रै भएकाले पुराण भन्ने अनि लेखहरू पनि राम्राराम्रा थिए ।
जन्म र बाल्यकाल
उहाँको जन्म २००३ सालमा भएको हो । धादिङ जिल्लाको बैरेनीेमा । उहाँहरू ५ भाइ, ५ बहिनी ।
उहाँको बाल्यकाल अरू सामान्य बालकको जस्तो रहेन । उहाँका बुबाका पाँचै भाइ पण्डित्याइँ गर्ने । बुबाले वनारसबाट शास्त्रीसम्म गरेकाले सबै सन्तानलाई पढाउनुपर्छ भन्ने मान्यता थियो ।
अनुशासन पनि अलिक कडै थियो । त्यसैले अरू बच्चा जस्तो बरालिएर हिँड्ने अवसर उहाँले पाउनुभएन ।
तास खेल्ने खोपी खेल्ने के हो ? उहाँलाई थाहा भएन बरु गाई, गोरु अनि भैँसीलाई घाँस काट्ने । खेतीपाती गर्नेचाहिँ उहाँले नगरेको होइन ।
प्रारम्भिक शिक्षा
उहाँले गाउँकै किरानचोक कार्कीडाँडा भाषा पाठशालामा पढ्नुभएको हो ।
भाषा पाठशालामा त्यसबेला लघु कौमुदी, अमरकोष, रुद्री, चण्डी अनि कर्मकाण्डका कुरा पढाइ हुन्थे । पढाउने गुरु उहाँकै बुबा पण्डित ज्ञानेश्वर गौतम हुनुहुन्थ्यो ।
विद्यालय भवन सानो थियो । ठाउँ नअटेर कोही बाहिर अनि कोही भित्र बस्नुपर्थ्यो। बस्नलाई घरबाटै चकटी लिएर जानुपर्थ्यो ।
धेरै ठूलो ठाउँ समेटेको हुनाले विद्यार्थी पनि प्रशस्त हुन्थे । कक्षामा झण्डै ८०-१०० जनाजति विद्यार्थी हुन्थे । त्यसमा छात्राहरू पनि ४-५ जना हुन्थे । शिक्षित र पण्डित परिवार भएकाले छोरीहरूले पनि पढ्नुपर्छ भन्ने थियो उहाँको परिवारमा । त्यसैले छात्राको पनि सहभागिता देख्न पाइन्थ्यो ।
संस्कृत विद्यालय भएको हुनाले चण्डी, रुद्री, हवन, श्राद्ध आदिको पढाइ हुन्थ्यो । विशेषगरी कौमुदी, अमरकोषमा जोड हुन्थ्यो पढाइमा । उहाँले १५ वर्षको उमेरसम्म त्यहाँ बसेर पढ्नुभएको हो ।
पछि उक्त विद्यालय सामुदायिक विद्यालयमा परिणत भयो । अहिले त्यहाँ १२ कक्षासम्मको पढाइ हुन्छ ।
रानीपोखरी संस्कृत पाठशाला
विद्यालय घर नजिकै भए पनि अगाडिको पढाइ नभएका कारण उहाँ २०१६ सालमा काठमाडौं आएर रानीपोखरी संस्कृत पाठशालामा पढ्न थाल्नुभयो । २०१८ सालमा ८ कक्षा पास पनि गर्नुभयो । २०२० सालमा उहाँले पूर्वमध्यमा अर्थात् एसएलसी सरहको पढाइ पूरा गर्नुभयो ।
अरू भाइहरू छात्राबासमा बस्नुभएको थियो । तर, उहाँ भने छात्राबासमा बस्नुभएन । त्यसको कारण बुबा पुराण भन्ने अनि पुराण तथा जजमानीका लागि बुबालाई सहयोग गर्न घरमा आउजाउ गर्नुपर्ने हुनाले हो ।
बुबाले ज्योतिष पनि पढाउने हुनाले उहाँले ज्योतिष पनि पढ्नुभएको छ । ज्योतिषमा पनि उहाँले शास्त्री पास गर्नुभएको छ ।
पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री, आचार्य गरेर धर्मशास्त्रमा उहाँले आचार्य पास गर्नुभएको छ ।
उहाँले छात्रवृत्ति पनि पाउनुभएको थियो । उहाँलाई २४ रुपैयाँ छात्रवृत्ति प्राप्त थियो । छात्राबास नगएकाले उहाँले उक्त छात्रवृत्ति पाउनुभएको हो ।
उत्तरमध्यमा भने उहाँले राजकीय संस्कृत महाविद्यालय पुतलीसडकमा गर्नुभएको हो । शास्त्रीको पढाइ पनि त्यहीँ भएको हो उहाँको ।
‘चिठी भने भोलि-पर्सितिर आउला, त्यसलाई स्वीकार गरिदिनुहोला’ भन्नुभयो । ‘हुन्छ’ भनेर उहाँ त्यहाँबाट निस्किनुभयो । त्यसको केही दिनमा ‘तपाईंलाई पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा नियुक्त गरिएको छ’ भन्ने चिठी आयो । यो २०७० सालको कुरा हो ।
आचार्यको पढाइ भने कीर्तिपुरमा भएको हो । उहाँले आचार्य २०२८ सालमा पास गर्नुभएको हो, त्यो पनि प्रथम श्रेणीमा ।
२०२८ सालमा भने डेढ/दुई सय विद्यार्थी थिए राजकीय संस्कृत महाविद्यालयमा । त्यसमध्ये १२-१४ जना पास भएका थिए ।
धर्मशास्त्रमा उहाँले प्रथम श्रेणी, व्याकरणमा विदुर पौडेलले प्रथम श्रेणी प्राप्त गर्नुभएको थियो । हेमाङ्ग अधिकारीले पनि प्रथम श्रेणी नै ल्याएर पास गर्नुभएको हो ।
पहिलो जागिर
आचार्य गरिसकेपछि उहाँ जानुभयो जागिरका लागि दरबार हाईस्कुलमा । प्रधानाध्यापक हुनुहुन्थ्यो इन्द्रप्रसाद ।
उहाँ इन्द्रप्रसादकहाँ गएर ‘सरको स्कुलमा केही सेवा गर्नुपर्यो’ भनेर भन्नुभयो उहाँले । इन्द्र सरले गोपाल पाँडे ‘असीम’लाई ‘लौ त यी नानी आउनुभएछ । जागिर चाहियो भन्नुहुन्छ । उहाँको के कस्तो छ, हेर्दिनुस् त’ भन्नुभयो ।
पाँडे सरले पल्लो कोठामा लिएर जानुभयो । सरले केके सोध्नुभयो अनि उहाँले पनि केके उत्तर दिनुभयो कुन्नि, थाहा छैन ।
पाँडे सरले उहाँको हात समातेर इन्द्रप्रसाद सरको अगाडि ल्याउँदै ‘यी नानी त बडा तेज रै’छन्, ल राखिदिए हुन्छ’ भन्नुभयो ।
उहाँलाई नेपाली-संस्कृत पढाउन राखिएको थियो । यो २०२८ सालको कुरो हो । उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि माध्यमिक शिक्षकका रूपमा अस्थायी नियुक्ति दिइएको थियो ।
अरू सरको कक्षामा विद्यार्थी भागे पनि गौतम सरको कक्षा भनेपछि ५०-६० जना सबै आउँथे पढ्नलाई ।
उहाँको तलब त्यसबेला २०५० रुपैयाँ थियो । त्यसबेला सुन २०० रपैयाँ तोला थियो । उहाँले त्यहाँ पूरा २ वर्ष पढाउनुभयो ।
वाल्मीकि विद्यापीठको जागिर
१ भदौ २०३० मा उहाँ वाल्मीकि विद्यापीठमा सहायक प्राध्यापकका रूपमा नियुक्त हुनुभयो । बदरीनाथ भट्टराईको रिक्त स्थानमा उहाँको नियुक्ति भएको थियो ।
२०३१ सालमा उहाँ स्थायी हुनुभयो । २०३७ सालमा उपप्राध्यापक हुनुभयो । २०५४ सालमा उहाँ प्राध्यापक हुनुभयो ।
उहाँलाई प्राध्यापक हुन २४ वर्ष लाग्यो । प्राध्यापक भएपछि उहाँले १२ वर्ष पढाउनुभयो ।
२०३० सालदेखि २०३६ सालसम्म उहाँ एनडीएसको सुपरभाइजरका रूपमा पनि हुनुहुन्थ्यो ।
त्यसबेला एमएका विद्यार्थीले १० महिना गाउँमा गएर पढाउनुपथ्र्यो । विद्यार्थी लैजाने अनि उनीहरूको मूल्यांकन गर्नेलगायतका सुपरभाइजरको काम पनि गर्नुभयो उहाँले ।
पहाडमा त्यस बेला राम्रा शिक्षक हुँदैनथे, भए पनि गुणस्तरीय हुँदैनथे । त्यसैले यहाँबाट गएका ग्रामीण विकासमा एमए पढ्दै गरेका विद्यार्थीले पढाउने हुँदा त्यसले निकै राम्रो गरेको उहाँको अनुभव छ ।
तर, पछि २०३६ सालमा जनमतसंग्रह घोषणापछि उक्त कार्यक्रम बन्द भयो । उक्त कार्यक्रमले विद्यार्थी सचेत हुन्छन् र निर्दललाई भोट हाल्दैनन् भन्ने सोच रहेछ सरकारको भन्ने उहाँलाई लाग्छ ।
त्यस बेला उहाँलाई तनहुँ, लमजुङ, पोखरा, कास्की, स्याङ्जा, बझाङ, बजुरा, डोटी, अछाम, कैलालीलगायतका धेरै जिल्ला घुम्ने अवसर पनि मिल्यो ।
संघसंस्थामा संलग्नता
उहाँ ५ वर्षजति अनुसन्धान परिषद्को सदस्य पनि हुनुभयो । प्राज्ञिक परिषद्को पनि सदस्य हुनुभयो ।
उहाँ धेरै वर्ष सहायक क्याम्पस प्रमुख पनि हुनुभयो । लामो समय क्याम्पस प्रमुख पनि हुनुभयो ।
उहाँ विभाग अध्यक्ष पनि हुनुभयो । पञ्चाङ्ग निर्णायक समिति, विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ, नेपाल ज्योतिष परिषद्लगायत थुप्रै संस्थामा उहाँको संलग्नता रह्यो ।
विवाह
१३ वर्षको उमेरमा उहाँको विवाह २०१४ सालमा भएको हो । उहाँका ४ जना छोरी तथा २ जना छोरा छन् । सबै आफ्नो काममा व्यस्त हुनुहुन्छ ।
प्रकाशन
‘आशौच विवेचन’ भन्ने उहाँको पुस्तकसमेत प्रकाशन भएको छ । पुस्तक त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको हो ।
लेखका रूपमा भने उहाँका विभिन्न पत्रिकामा थुप्रै फुटकर लेख प्रकाशन भएका छन् ।
विद्यावारिधि
उहाँ वाल्मीकि विद्यापीठमा पढाउँदै गर्दा २०४० सालतिर विद्यावारिधिका लागि वनारस जानुभयो । धर्मशास्त्रका लागि विद्यावारिधिका लागि आह्वान भएको थियो । त्यस बेला उपकुलपति रामचन्द्रबहादुर सिंह हुनुहुन्थ्यो ।
आवेदन दिने थुप्रै अग्रज गुरुहरू हुनुहुन्थ्यो । त्यस कारण उहाँलाई विद्यावारिधिको अवसर आउँछ जस्तो लागेकै थिएन ।
आवेदन दिने अरू गुरुहरू पनि सँगै हुनुहुन्थ्यो । कार्यालय सहायक आएर उहाँलाई ‘गुरु हजुर, एकछिन बस्नुस् रे’ भन्यो । मलाई के गर्न आँटे भनेर उहाँलाई साह्रै डर पनि लाग्यो रे ! अनि मनमनै नदिनका लागि होला भन्ने पनि लागिरहेको थियो रे उहाँलाई ।
पछि कार्यालय सहायकले भित्र बोलायो । भित्र उपकुलपति सिंहले ‘ल तपाईंलाई बधाई छ’ भन्नुभयो । ‘तपाईंलाई विद्यावारिधिका लागि मनोनयन गरेका छौँ हामीले’ भन्नुभयो उपकुलपतिले ।
‘त्यस बेलाको प्रशन्नता र खुसी बयान गरी साध्य छैन’, उहाँ भन्नुहुन्छ ।
उहाँलाई त्यस बेला काश्मिर जानका लागि भनिएको थियो । मनोनयनपत्र लिइसकेपछि उहाँले उपकुलपतिलाई गएर ‘घर व्यवहार सबै हेर्नुपर्ने अनि केटाकेटी पनि सानै हुनाले काश्मिरचाहिँ होइन, वनारस मिलाइदिनुहोस्’ भन्नुभयो । र, उहाँले वनारसमा नै विद्यावारिधि गर्न पाउने हुनुभयो । ७०० रुपैयाँ भत्ता पनि प्राप्त हुन्थ्यो विद्यावारिधिको ।
विद्यावारिधिको उहाँको विषय भने ‘धर्मशास्त्रमा धर्मशास्त्रीय राज्य तत्त्व विमर्श’ थियो ।
उहाँ केन्द्राध्यक्ष भएर उत्तरमध्यमा, शास्त्री र आचार्यका परीक्षाहरू चलाउन रिडी, दाङ, धरान, जनकपुरलगायतका स्थानमा पनि जानुभएको छ ।
पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष
२०६६ सालमा सेवा निवृत्त भएपछि उहाँलाई एक दिन संस्कृति सचिवले ‘तपाईंलाई मन्त्रीले भेट्न खोज्नुभएको छ, भोलि बिहान साढे १० बजेतिर आउनुहोस्’ भन्नुभयो ।
उहाँ भोलिपल्ट जानुभयो । त्यस बेला संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो । मन्त्रीजीले ‘नमस्कार गुरु, एकछिन प्रधानमन्त्रीले बोलाउनुभएको छ, ल जाऔँ’ भन्नुभयो ।
त्यस बेला सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ‘ल गुरु, हामीलाई सहयोग गर्नुपर्यो’ भन्नुभयो ।
उहाँले ‘मैले गर्न सक्ने भन्नुहोस् न’ भन्नुभयो । अध्यक्षले ‘अरू होइन, पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष खाली छ, त्यसमा बसिदिनुपर्यो’ भन्नुभयो ।
‘चिठी भने भोलि-पर्सितिर आउला, त्यसलाई स्वीकार गरिदिनुहोला’ भन्नुभयो । ‘हुन्छ’ भनेर उहाँ त्यहाँबाट निस्किनुभयो । त्यसको केही दिनमा ‘तपाईंलाई पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा नियुक्त गरिएको छ’ भन्ने चिठी आयो । यो २०७० सालको कुरा हो ।
करिब ९ वर्ष अध्यक्ष भएर २०७८ सालको पात्रो निर्माण गरेपछि उहाँ अध्यक्ष पदबाट बाहिरिनुभएको हो ।
कक्षा कोठाको माहोल
त्यसबेला उहाँले भानु माविमा पढाउँदा विद्यार्थीहरू खुसी थिए । प्रशन्न थिए । अरूको कक्षामा नपढे पनि उहाँको कक्षामा भने विद्यार्थीहरू आएर बसेर पढ्ने गर्थे ।
वाल्मीकि क्याम्पसमा पढाउँदा उहाँको विषय धर्मशास्त्र भएकाले त्यसमा निर्णयका कुरा धेरै हुने गर्थे । उहाँको विषय अलिक प्राविधिक जस्तो पनि थियो । जस्तोः बाबुको किरिया बसेका बेला आमाको देहान्त भए के गर्ने ? कसको आशौच कति बार्ने ? आदिआदि ।
विद्यार्थीका यस्ता विविध प्रश्नमा उहाँले चित्त बुझ्ने उत्तर दिनुभएको छ । उहाँका बुबा, हजुरबुबा तथा पुस्तैनी पण्डित परंपरा रहेकाले पनि यस्ता कुरामा उहाँलाई निर्णय दिन र बुझाउन कुनै अप्ठ्यारो भएन ।
उहाँले ३८ वर्ष पढाउनुभयो । तर, उहाँ क्याम्पस प्रमुख हुँदा भने विभिन्न गुटगत विद्यार्थीका स्वार्थ र आन्दोलनले क्याम्पस संचालनमा भने बाधा व्यवधान उत्पन्न भएको बताउनुहुन्छ ।
अन्यथा उहाँलाई धर्मशास्त्रीय परंपरामा आधारित भएर निर्णय गर्न कुनै गाह्रो भएन ।
पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष रहँदा पनि आएका यस्ता थुप्रै विवादको उहाँले शास्त्रीय समाधान दिनुभएको छ ।
पठनपाठन र विभिन्न प्राज्ञिक काममा निरन्तर संलग्न रहेर पनि आफूले पढेर प्राप्त गरेका महेन्द्र विद्या भूषण र ‘क’ श्रेणीको महेन्द्र विद्या भूषणबाहेक सरकारका तर्फबाट त्यस्तो उल्लेखनीय पुरस्कार तथा सम्मान भने उहाँले प्राप्त गर्नुभएको छैन ।
अन्य सामाजिक, ज्योतिष तथा शैक्षिक संघसंस्थाले गरेका सम्मान तथा पदक भने उहाँको कक्षमा प्रशस्त छन् ।