राजेन्द्र न्यौपाने | साहित्य | असोज ०८, २०७८
मन न हो, कतिखेर कहाँ पुग्छ, पत्तै नहुने ! आज एक्कासि मेरो मन २ दशकअघिको गाउँले परिवेशमा पुग्यो । त्यति बेला गाउँमा न मोटर बाटो थियो, न त सवारी साधन नै ! सवारी साधनको नाममा जुम्ला जिल्लाको एयरपोर्ट पिच गर्ने कार्यका लागि निर्माण जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले हेलिकोप्टरबाट ल्याएका २ थान ट्याक्टर मात्र थिए ।
जिल्लाभर अरू कार्यका लागि सवारी साधनको भूमिका खच्चडबाट निर्वाह हुन्थ्यो । ती ट्याक्टरलाई मुस्किलले पुग्ने गरी एयरपोर्टदेखि करिब २ किलोमिटर पूर्व तिला नदी र जुवा नदीको संगमस्थल दानसाँगुसम्म पुग्नका लागि बाटो बनाइएको थियो । त्यहाँबाट एयरपोर्ट निर्माणका लागि आवश्यक गिट्टी, बालुवा र ढुंगा ल्याउने काम हुने गर्थ्यो
। त्यही बाटोमा धुलो उडाउँदै ट्याक्टरहरू नियमित आवतजावत गर्थे ।
माध्यमिक तहको अध्ययनका लागि गाउँबाट सदरमुकाम आउनुपर्ने बाध्यता भएका म जस्ता विद्यार्थीहरूले त्यही बाटो हुल बाँधेर आवत–जावत गर्नुपथ्र्यो । त्यति बेला जिल्लाभरमा माध्यमिक तहको अध्ययनका लागि जम्मा १३ वटा विद्यालयहरू संचालनमा थिए । त्यसमध्येको एक जिल्लाकै पुरानो र चर्चित विद्यालय हो, श्री चन्दननाथ माध्यमिक विद्यालय, जो अहिलेको सदरमुकाम खलंगा बजारमा पर्छ ।
गाउँबाट हामी केही विद्यार्थीहरू कक्षा ७ उत्तीर्णपश्चात् अध्ययनका लागि त्यस विद्यालयमा भर्ना भएका थियौँ । हामीलाई घरबाट विद्यालय पुग्न एक घण्टाको पैदल यात्रा गर्नुपर्ने भएकाले कक्षा १० सम्म मेरो झोलामा खाजाको रूपमा रोटीलगायतका खानेकुरा प्रायः टुट्दैनथे । विद्यालय छुट्टी भएपछि हतारमा घर पुगेर गाईवस्तुका लागि मौसमअनुसार घाँसको बन्दोबस्त गर्नु, बिहान गोठबाट बाहिर मुकाल्नु (निकाल्ने) र बेलुका गोठमा हुल्नेजस्ता काम दैनिकी थिए । बचेखुुचेको समय फुटबल, भलिबल, लुकामारी जस्ता खेलमा उपयोग हुन्थ्यो । कहिलेकाहीँ साथीसंगीबीच गफिँदा घण्टौँ पनि मिनेट जस्तो हुन्थ्यो ।
घरमा बेलुकाको खाना खाने समयसम्म पनि हाजिर नहुँदा ठूलो स्वरमा गाउँभरि सुनिने गरी बोलाएपछि बल्लतल्ल त्यस दिनको गफगाफको मैजारो हुन्थ्यो । घर पुगेपछि ‘खाना खाने बेला भएको पनि थाहा हुँदैन ?’ भनेर पाइने गाली अहिले मानसपटलमा घुमिरहन्छ ।
हिमाली जिल्लाको ग्रामीण जीवन ऋतुअनुसार चल्नुको विकल्प थिएन । जस्तै ः चैत–वैशाखमा धानको बिउमा पानी हाल्न बेन्नामा (धानको बिउ राख्न खेतमा बनाइएको सानो भाग) जाने, गाईभैँसीका लागि हरियो घाँस काट्ने, लेखका बारी (सडा)मा मकै, कोदो, आलु लगाउने (रोप्ने) काममा सघाउने र बारबन्देजको काममा सहभागिता जनाउनुपथ्र्यो । त्यसै गरी जेठ–असारमा धान रोप्ने, उक्त धानमा नियमित पानी लगाउने, धान गोडिसकेपछि छाल्न जाने (धान गोडमेल गरिसकेपछि निस्कने झारलाई बिँगारोले पन्छाने काम), जौ, गहुँ काट्नेजस्ता गर्नुपथ्र्यो ।
साउन–भदौ महिना गाउँबाट गाईवस्तुलाई लेख (गाउँभन्दा २–३ घण्टामाथिको चरण क्षेत्र) लैजाने र रेखदेखमा जान्थ्यो । असोज–कात्तिकमा लेख लगिएका गाईवस्तुलाई घर भित्र्याउने, घाँस काट्ने, घर वा घाँसबारीमा सुरक्षित राख्ने (वस्तुभाउका लागि हिउँदका ५–६ महिनालाई पुग्ने घाँस भण्डारण गर्ने), आलु, सिमी खेतबारीबाट घरमा ल्याउने, धान काट्ने, चुट्ने र भण्डारण गर्ने आदि काममा बित्थ्यो । मंसिर–पुसको समयमा खेतबारीमा जौ, गहँु छर्नुका साथै जेठ–असारमा भल्को बनाई राखिएका जौ र गहँुलाई चुटेर भण्डार गर्ने काममा खर्चनुपथ्र्यो । जाँगर नचल्ने तर कहिल्यै नछाड्ने पढाइ त नियमित छँदै थियो ।
असोज–कात्तिकमा नेपालीहरूका महान् चाड दशैँ र तिहार पर्ने भएकाले विद्यालयहरू दशैँमा १५ र तिहारमा ३ दिन बिदा हुने प्रचलन अहिले पनि निरन्तर नै छ । दशैँमा गाउँका साथीसंगी मिलेर पिङ हाल्नु, खेल्नु, चच हुई... चच हुईको स्वाद अर्कै हुन्थ्यो । त्यसका लागि टाढा जंगलमा गई ठाङ्ग्रा (पिङका लागि पोल, कतै जुवा भन्ने चलन पनि छ) ल्याउने, श्रीपाद्य (पिङका लागि डोरी बनाउन प्रयोग गरिने घाँस) जम्मा गर्ने, त्यसलाई भिजाउने र बाट्ने त्यसपछि बल्ल पिङ तयार हुन्थ्यो । पिङमा गाउँभरिका सबैको समान पहुँच हुन्थ्यो ।
वास्तवमा गाउँ आपसी सहयोग, सद्भाव, माया र सद्भावबाट ओतप्रोत थियो । कसैलाई कुनै साह्रोगाह्रो परे एँैचोपैँचो, सरसापट गर्ने आदत नै बनेको थियो । गाउँको कोही बिरामी भए घरेलु स्ट्रेचरमा बोकेर अस्पताल पु¥याउने, खेतीपाती गर्दा पनि आपसमा सरसल्लाह र आलोपालो, पर्म चल्थ्यो । सुखदुःख पनि बाँडचुँड हुन्थ्यो । त्यसैैको कमाल होला, कसैको खेतबारीको अनुहार बाँझो हुँदैनथ्यो । एउटाको घरमा मीठो मसिनो पाक्दा अरूको जिब्रो पनि स्वादिलो हुन्थ्यो । गाउँ एकका लागि सबै र सबैका लागि एक भनेजस्तो थियो ।
समय बद्लिँदै गयो । १ वैशाख २०६४ मा जुम्ला राज्यको सडक संजालमा जोडियो । अहिले जुम्लाका अधिकांश गाउँहरू सडकमय भएका छन् । जोडिन बाँकी गाउँहरू सडक संजालमा जोडिने सुरसारमा छन् । अहिले गाउँमा सवारी साधनहरूको राज चलेको छ ।
उच्चमाध्यमिक, माध्यमिक तहका शैक्षिक संस्थाहरू जुुर्मुराएका छन् । उत्पादित वस्तुले बजार पाउन थालेपछि होला, स्याउ, सिमी, आलु, फापर र बहुमूल्य जडिबुटी सहजै शहर पसिरहेका छन् । सँगसँगै गाउँका सपनाहरू पनि शहर छिरिरहेका छन् ।
शहरकोे बाछिटा नै भन्नुपर्छ, अधिकांश व्यक्तिका घरका छतमा डिसहोमका एन्टिना छन् । बच्चादेखि वृद्धसम्मका हातमा रूपरूपका मोबाइलहरू छन्, रहनसहनमा पनि निकै नै फरकपन आएको छ ।
परिवर्तनले सुविधानका साथमा मौलिकता खोसेको आभास हुन्छ । बोलीचाली, भाषामा पनि सक्कलीपन हराएको आभास हुन्छ । खेतबारी बिस्तारै बाँझिदै गएका छन् । घरहरूले पनि शहरी रूप धारण गरिरहेका छन् । असुरक्षा बढिरहेको छ । कोही बिरामी भएमा छिमेकीभन्दा पहिला एम्बुलेन्स आउँछ ।
गाउँमा दशैँमा लगाइने सामुहिक पिङलाई स्याउका बोटमा झुण्डिएका नाइलनका डोरीले विस्थापित गरिरहेका छन् । हजुरबा, हजुरआमा अथवा परिवार, आफन्तजनभन्दा पनि टीभी र मोबाइल सेटको टिकटकमा नयाँ पुस्ता रमाउन थालेको छ ।
नयाँ पुस्ता सामूहिकभन्दा व्यक्तिगत स्वार्थमा रुमल्लिन पुगेको आभास हुन्छ । यसो हेर्दा लाग्छ, गाउँ पनि एकलकाँटे भएछ । यति छिट्टै गाउँमा परिवर्तन छिरेछ । हिजोको असल कुराहरू सुखदुःखको समाज, सामूहिक भावना र आफन्त सरहको व्यवहार, मानवीयता कता हरायो होला ः लाग्छ, अचेल गाउँमा पनि शहरले शासन गरिरहेको छ ।