सुरतमा कर्णको सम्झनामा ३ पाते वरको कथा

फर्कलान् र ती दिनहरू

सुरतमा कर्णको सम्झनामा ३ पाते वरको कथा

हरिविनोद अधिकारी  |  साहित्य  |  असोज ०९, २०७८

श्री कृष्ण प्रणामी धर्मलाई सनातन हिन्दु धर्मको रूपमा मानिएको छ । जब कुनै कुरामा केही परिवर्तन हुन्छ, त्यहाँको प्रारम्भिक स्वरूपमा केही परिवर्तन हुन्छ नै । हिन्दुहरूको महानतम् धार्मिक ग्रन्थ र पौराणिक इतिहासको रूपमा मानिएका पुराणहरूसँगै श्रीमद्भागवतलाई नै यस धर्मले आफ्नो आधार मानेको पाइन्छ र जहाँ पनि पुराणको श्रवण गर्नेहरूले त्यही परंपरालाई मानेको देखिन्छ । 

निजानन्द धर्म या सम्प्रदायको सुरुवात पनि विक्रम सम्बत् १६६४ देखि १६७८ सम्म नियमित रूपमा देवचन्द्रजीले श्रीमद्भागतवतको श्रवण गरेपछि उहाँमा आएको दिव्यज्ञानका कारणले नै हिन्दु धर्मभित्रको यो सम्प्रदायले जन्म लिएको बुझिन्छ । श्रीकृष्ण प्रणामीसम्बन्धी इतिहास, साहित्य र लोकोक्ति सबै कुराले दिएको प्रमाण नै के देखियो भने देवचन्द्रजीमा आएको अन्तर्चेतनाको ज्योतिले नै निजानन्द सम्प्रदायको उत्पत्ति संभव भएको मानिँदो रहेछ । 

सामान्य अर्र्थमा समेत निजानन्द भनेको आफूमा भगवद् भक्तिले अन्तर्चेतनामय गराई यस संसारबाट फेरि कहिल्यै नजन्मने गरी ज्ञानी हुने, अरूलाई पनि त्यो अन्तर्चेतनाको वितरण गरी संसारमा प्राणी मात्रको भलो गर्ने र मानव जीवनका लागि भलो हुने नयाँनयाँ विचारको आविष्कार गर्ने भन्ने बुझिन्छ । 

हामीले भन्ने गरेको स्वर्ग, बैकुण्ठ भन्दा पनि अझ माथिल्लो तहमा पुगेर श्री कृष्णको परमधाममा पुग्ने लालसाको लोभसंवरण गर्नका लागि नै सनातनदेखि मान्दै आएका परमात्माका उच्च देवताका प्रतीक कृष्णको पन्थलाई सशक्त रूपमा प्रचारप्रसार गर्ने उद्देश्य देखिन्छ । 

हिन्दु धर्मको दर्शनमा पूर्वजन्म, पुनर्जन्मको कल्पना गरिएको छ र त्यसका लागि थुप्रै उदाहरणहरू पुराणहरूमा पाइन्छ । त्यसो त ‘नमरी स्वर्ग देखिन्नँ’ भन्ने चलनलाई प्राचीन ग्रन्थहरूले कतिपय ठाउँमा जिउँदै आफ्ना आराध्य देवको दर्शन पाएको र उनैबाट जीवन दिग्दर्शन लिएको भन्ने ज्ञानीहरूले संसारलाई भौतिकवादबाट आध्यात्मिकतातर्फ डोर्‍याएको प्रशस्त उदाहरणहरू पाइन्छ । पछि यस्तो परंपरा पश्चिममा पनि सुरु भयो, जसले गर्दा विश्वमा महानतम् सबै धर्ममा त्यस प्रकारको धार्मिक विश्वास पाइन्छ । 

जीवनको प्रारम्भिककालमा सामान्यतः मानिसहरू जिज्ञासु हुन्छन् र प्रत्येक कुरामा किन भन्ने र चलेका चलनहरूको प्रयोगका लागि प्रमाण खोज्ने गर्छन् । सबै जिज्ञासुको उत्तर सबैसँग नहुन सक्छ तर बिस्तारैबिस्तारै जुन विश्वासले जीवन र जगत्का बारेमा मानिस निर्देशित हुन्छ, सायद त्यसैलाई धर्मको रूपमा मानेको पाइन्छ र त विश्वमा एउटै धर्मअन्तर्गत पनि विभिन्न सम्प्रदाय, पन्थ र विश्वासहरूको उपस्थिति देखिन्छ । 

निजानन्द सम्प्रदायका लागि पनि देवचन्द्र महाराजजीलाई श्रीकृष्णको दर्शन भएको थियो र उहाँमा श्रीकृष्णको त्यो रूपले यस्तो मोहनी लगायो कि उहाँले श्रीकृष्णकै नाममा कृष्ण प्रणामी धर्मको सुरुवात गर्नुभयो भनिन्छ । सम्पूर्ण जगत्लाई परामात्माको अनुपम कोसेली ठानी सम्पूर्ण प्राणी मात्रलाई एकै ठान्दै आत्मालाई प्रणाम गर्ने समानताको नीतिलाई धर्मको रूपमा व्यवस्थित गरेकाले होला, श्रीकृष्ण प्रणामी धर्मको रूपमा यसलाई ग्रहण गरिएको भनेर भनिन्छ । देवचन्द्रजीको परमधाम गमन वि.सं. १७१२ मा भयो । आफ्नो बाँकी जीवनभर उहाँले  त्यही धर्मका बारेमा जनचेतना बढाउनुभयो र भनिन्छ, कतिपय इस्लामधर्मीहरूलाई पनि उहाँले श्रीकृष्ण प्रणामी धर्मप्रति आकृष्ट गराउनुभयो । अर्थात् प्रणामी धर्मलाई अन्तरात्माको पुकार सुन्ने मानव धर्मको रूपमा विकसित गर्ने उहाँको लक्ष्यमा उहाँबाट शिष्यत्व लिने प्राणनाथजीबाट आजको प्रणामी धर्म विकसित रूपमा तयार भएको मानिन्छ । 

हालको पाकिस्तानमा अवस्थित उमरकोटमा माता कुँवर बाई र पिता मतु मेहताको पुत्रका रूपमा वि.सं. १६३८ सालमा जन्मिनुभएका देवचन्द्रजीले १४ वर्षसम्म जामनगरमा श्रीमद्भागवत पुराण नियमित सुनेको ठाउँ अहिले पनि यथावत् छ भन्ने मान्यता छ । 

मैले पनि उहाँको घरमा रहेको जाँतो, ढिकी तथा उहाँका दैनिक कार्यका लागि प्रयोग भएका कक्षहरू देख्ने मौका पाएको थिएँ । अहिले उहाँका ११औँ पुस्ताका सन्तानहरूले त्यो अन्तर्चेतना पाएको मन्दिरमा पुरानो इतिहास जोगाउनका लागि पनि दैनिक पूजा-अर्चना गर्दै गरेको देख्न पाइन्छ, जहाँ उहाँले पछि मन्दिर स्थापना गर्नुभयो, अहिले त्यही ठाउँलाई नै श्री ५ नवतनपुरी धामको रूपमा प्रणामी धर्मको सबैभन्दा पावन भूमिको रूपमा मानिएको छ । 

त्यही जाम नगरमा नै १६७८ सालमा अर्थात् ४० वर्षको उमेरमा उहाँमा आएको अन्तज्र्ञानले नै आजको प्रणामी सम्प्रदाय भनौँ या निजानन्द सम्प्रदायको प्रादुर्भाव भएको थियो । निजानन्द सम्प्रदायको सुरुवात गर्दाका बेलामा जामनगरको अहिले श्री ५ नवतनपुरी धामको मुख्य मन्दिर भएको ठाउँमा दुईवटा खिजडाका ठूलाठूला रूखहरू छन् र ती रूखहरूको  उत्पत्तिचाहिँ देवचन्द महाराजजीले दतिवन लगाउँदै आउँदा फालेका टुक्रा नै सरेर त्यत्रा रुख भएका हुन् भन्ने मान्यता छ । सायद खिजडाको महत्त्व भएर होला, अहिले पनि श्री कृष्णका लागि तुलसीको माला नपाएको अवस्थामा खिजडाका काठबाट बनाइएका माला पनि प्रयोगमा ल्याइँदो रहेछ । 

खिजडाका मालालाई पवित्र मालाको रूपमा लिइन्छ । मन्दिरमा रहनुहुने भक्तालुहरूको एउटा कर्तव्य के पनि हुने रहेछ भने, उनीहरूले खिजडाको माला बनाएर आगन्तुक भक्तालुलाई सशुल्क दिने काम गर्दा रहेछन् । प्रणामी सम्प्रदायका आदिपुरुष देवचन्द्र महाराजजीलाई सत्गुरुको नामले पुकारिन्छ र उहाँका योग्य शिष्य प्राणनाथजीलाई महामतिको रूपमा सम्मान गरिएको पाइन्छ । 

आजको प्रणामी सम्प्रदायलाई सैद्धान्तिक र व्यावहारिक तरिकाले विश्वभर प्रचारप्रसार गर्ने कामको थालनी नै महामति प्राणनाथजीले गर्नुभएकाले आदि पुरुष सरह नै उहाँको पनि सम्मान गरिन्छ । एउटा विश्वास के पनि छ भने प्राणनाथजी अहिलेसम्म पनि गुमट मन्दिरमा हुनुहुन्छ र त्यहाँ खोलेर पनि हेरिँदैन । आवश्यकता पर्दा उहाँका भक्तहरूले उहाँसँग सत्संग गर्थे रे ! किनभने भित्रबाट कुरा गरेको आवाज आउँछ रे पनि भन्ने गरिन्छ । 

सायद अब विश्व सम्पदामा पर्दै छ जस्तो लागेको छ किनभने धेरै अनुसन्धान हुँदा पनि अर्को पात पलाएको पनि देखिएको छैन रे ! त्यसैले अहिलेचाहिँ बाहिरबाट कसैले त्यो तीनपाते बरलाई बिगार्न नपाओस् भनेर कडा सुरक्षा दिइएको छ त्यहाँको गौशााला र मन्दिरबाट ।

जामनगरको प्रणामी मन्दिर संसारभरिका निजानन्द सम्प्रदायका लागि प्रसिद्ध रहेछ र त त्यहाँ गादीपति महाराजका चरण कमलमा जन्मदिनको शुभकामना दिन संसारभरबाट भक्तालु ओइरिएका रहेछन् । जन्मोत्सवको उपलक्ष्यमा लगाइएको श्रीमद्भागवत पुराणको सुरुका दिन भारतका केन्द्रीय कृषिमन्त्री शुभकामना दिनका लागि आएका थिए भने जन्मोत्सव तथा साङ्गेका दिन गुजरातकी तत्कालीन मुख्यमन्त्री आनन्दीबेन पटेल आएकी थिइन् । 

सायद अहिले उनी उत्तर प्रदेशकी राज्यपाल छन् जस्तो लाग्छ । यसरी धार्मिक सम्प्रदायलाई भारतमा उच्चसम्मानका साथ सक्रिय नागरिक समाजका रूपमा मानिएको मैले पाएँ । त्यहाँ बस्दा मैले के पनि थाहा पाएँ भने जामनगर र पूरै गुजरातका मुस्लिम समुदायले पनि श्रीकृष्ण प्रणामी धर्मप्रति सम्मान व्यक्त गरेको देखिन्थ्यो । जामनगरको प्रणामी चोकमा दुई हात जोडेर प्रणाम गरेको प्रतिमा राखिएको रहेछ । म बेला मौकामा जामनगरको मुख्य बजारतिर पनि जाँदा प्रणामी धर्मप्रतिको आस्था जनाउने इस्लामधर्मीहरू पाइन्थे । 

ठूलो मेलाको रूपमा भएको भेलालाई स्वयंसेवकहरूले साँच्चै सेवा गरेका पाइन्थे र कतिपय श्रद्धालुहरू जामनगर आएकै बेलामा द्वारिका, भेटद्वारका, पोरबन्दर र सोमनाथको मन्दिरसम्म पनि  जाने विचारमा हुन्थे । खासमा द्वारका त जान्थे नै । 

विश्वभरबाट आएका साधु सन्त महन्तसहितका टोलीहरूमा तर विद्वत् बहस भएको भने मैले पाइनँ किनभने हालको हिन्दु धर्मको अवस्थाप्रति चिन्तित भएको पाइयो विभिन्न वक्ताहरूको भनाइ सुन्दा तर कसरी हिन्दु धर्मलाई अन्धविश्वासबाट मुक्त गर्ने भन्ने बहसचाहिँ देखिएन । मलाई त्यस्तो लागेको पनि हुन सक्छ या त्यहाँ त्यस प्रकारको गम्भीर बहस नै भएन कि ? हुनत त्यो जन्मोत्सवमा भेला भएर जन्मदिनका उपलक्ष्यमा शुभकामना मात्र व्यक्त गरिने कार्यक्रम थियो र त्यसका लागि विभिन्न धार्मिक कार्यक्रमहरूसहित गिनिज बुकमा राखिने काम पनि भएको थियो । 

सबैभन्दा ठूलो बाँसुरी बजाएर र सबैभन्दा धेरै दही एउटै ठाउँमा जमाएर बाँडिएको प्रसादले पनि विश्व रेकर्ड तोडिएको बताइएको थियो । त्यसै पनि महाराजको जन्मदिनमा भक्तालुहरूले उहाँ बराबरी वजनको  चाँदी चढाएका थिए । अझ बढी नै थियो होला किनभने पूर्वाङ्गमा चाँदी जजसले ल्याएका हुन्, तिनले ढकीमा राखेर प्रदर्शनी गरेका थिए र मुख्य मन्दिरमा चढाइएको थियो, जसलाई मन्दिरले आफ्नो सम्पत्तिको रूपमा ग्रहण गरेको थियो । त्यो सम्मान थियो गादीपति श्री १००८ गुरूप्रति र आफ्नो सम्प्रदायका पथ प्रदर्शकप्रति । अहिले पनि श्रीकृष्णमणि महाराज विश्वका जहाँ पनि मन्दिर बनाउनका लागि, उद्घाटन गर्नका लागि र मानवीय कार्यमा सदैव लाग्नका लागि प्रेरणा दिन सक्रिय रूपमा लाग्नुभएको पाइन्छ भनेर निजानन्द सम्प्रदायका मानिसहरू भन्छन् । 

अहिले विश्वभरि श्री कृष्ण प्रणामी धर्मको प्रचारप्रसार हुनुमा उहाँकै सक्रियताले काम गरेको ठानिँदो रहेछ । उहाँको समन्वयकारी भूमिकाको प्रशंसा गर्नेहरूले भन्दा रहेछन्, उहाँको भारतमा, नेपालमा, मोरिससमा, फिजीमा, सुरिनाममा रहेका केन्द्रीय सरकारहरूसँग पनि सौहार्दपूर्ण सम्बन्ध कायम छ । भारतमा त झन् गुजरातका राजनीतिज्ञहरूको सम्मान त त्यही बेलामा पनि देख्न पाइएको थियो । उनीहरू जन्मदिनका दिन दोलाइ ओडाउनका लागि लामबद्ध नै भएका थिए । सबै दलहरूको आकर्षणको केन्द्रमा सबै धर्महरू हुने गर्दा रहेछन् किनभने धार्मिक संस्थाहरूको प्रभावले निर्वाचनमा प्रत्यक्ष प्रभाव पर्ने रहेछ । भारतमा भारतीय जनता पार्टीका लागि धार्मिक सम्प्रदायको धेरै समर्थन छ भनिन्छ पनि । 

कुनै पनि धर्म या सम्प्रदायमा ३ प्रकारमा मानिसहरू हुन्छन् स्वाभाविक रूपमा । एकथरि कट्टर धर्मवादी, जसले आफ्नो पन्थलाई कसैले पनि आलोचना गरेको सहँदैनन् । अर्काेथरि हुन्छन् मध्यममार्गी, जो अन्धविश्वास, आचारसंहिताको सम्मिश्रणबाट व्यावहारिक रूपमा आफूलाई ढालेका हुन्छन् र तेस्रोथरि हुन्छन् परिवर्तित समाजका लागि धर्मको महत्त्व भनेको पथ प्रदर्शन हो र बाटोको स्वरूप सधैँ निर्माण भएको बेला जस्तै हुँदैन, समयानुकूल परिवर्तन गर्दै लैजानुपर्छ भन्ने । 

त्यहाँ पनि तारतम सागरबाहेक अरू कुनै कुरामा लाग्नुहुँदैन भन्ने र सनातन धर्म भनेकै त्यही हो, जसलाई सत्गुरु देवचन्द्रको आशीर्वचनअनुसार महामतिले तयार गरेको स्वतःस्फुर्त प्राप्त ती मन्त्रहरूले पथ प्रदर्शन गरिनुपर्छ भन्ने एकथरि देखिए भने अर्कोथरिचाहिँ हामी सनातन धर्म मान्ने भनेपछि वेद, पुराण, उपनिषद् तथा अरू पनि धार्मिक ग्रन्थसहित अरू धर्मको पनि अस्तित्व ग्रहण गर्दै आफ्नो सम्प्रदायको प्रचार गर्दै रहने भन्ने पनि रहेछन् । 

स्वर्ण जन्मोत्सवमा वेद, पुराणको वाचनलाई मन नपराउने पनि देखिएका थिए तर ती सबै गुरुजीको अघिल्तिर भन्न सक्दैनथे र पनि भुसको आगो जस्तै गरी भित्रभित्रै मुरमुरिएका देखिन्थे । आमभक्तहरूमा त्यस्तो थिएन तर आफूलाई समकालीन मानेर विभिन्न मन्दिरको जिम्मा लिएकाहरूमा त्यस्तो आसय देखिन्थ्यो । 

जामनगरमा सुरक्षाको राम्रो प्रबन्ध रहेछ । खासै चोरी नहुने बुझियो । भारतको रिलायन्स कम्पनीको कार्यालय पनि त्यहाँ ठूलो रहेछ । खाडीको बाटो ल्याएको तेल प्रशोधन हुने रहेछ । सायद भारतको तेल भण्डार पनि त्यहाँ कतै छ क्यारे ! चराहरूका लागि आवश्यक सिमसार भएका कारण ठूलो क्षेत्रमा चराहरूको स्वर्गका रूपमा त्यहाँ स्थान विकास गरिएको रहेछ । 

पुराणको साङ्गेपछि अर्थात् १ जनवरी २०१५ मा भएको जन्मोत्सव समारोहपछि हाम्रो समूह पनि श्री कृष्ण प्रणामी धर्मका लागि प्रख्यात मन्दिरहरू महामंगलपुरी धाम, पन्नाजी अर्थात् पद्मावतीपुरीधाम र मथुुरा वृन्दावन जाने निर्णयअनुसार जामनगरपछि सुरत हुँदै जाने कुरा भयो, जहाँ महामंगलपुरीधाम रहेछ । 

हामी सुरत जानका लागि गुजरातभित्रका नगरहरूको रेलवेको संजाल रहेछ । अन्तरनगर पहुँचका लागि रेलवेको विशेष व्यवस्था रहेछ । त्यसैअनुरूप अन्तरनगरीय रेलवेको टिकट लियौँ । ७ जनामा ४ जना वरिष्ठ नागरिक । भारतमा वरिष्ठ नागरिकका लागि महिलालाई ५८ वर्ष र ५० प्रतिशत छुट, पुरुषका लागि ६० वर्ष उमेर र ४० प्रतिशत छुट । म, तुतु दाइ, राधा दिदी र देवकीका लागि भनेर मैले वरिष्ठ नागरिकको टिकट मागेको थिएँ तर सभ्य भाषामा टिकट दिने बहिनीले विदेशीहरूका लागि यो छुट दिन मिल्दैन भनिन् । 

मैले सोधेँ, ‘नेपालबाट आउँदा त मलाई दिएको थियो ?’

उनले भनिन्, ‘त्यो गलत भएको रहेछ तर दिन मिल्दैन ।’

अनि हामी करिब ५ घण्टाको जस्तो लाग्छ, आन्तरिक सेवाको साधारण कोठामा सुरत आइयो । त्यो कोठा हामी जनकपुरबाट बिजुलपुरा आएजस्तो भीड रहेछ । अरू त केही होइन, लघु शंकाका लागि शौचालय जाँदा जान र आउन मुस्किल पर्ने अनि आउँदा आफ्नो सिटमा अर्को बस्ने संभावना धेरै । तर, आरामसँग आइयो भन्नुपर्‍यो । 

बिहानको घटना पो थियो अझ समस्याजनक । हामी कवीर मन्दिरको धर्मशालामा बसेका थियौँ । कवीर धर्मशालामा मेरो सम्बन्ध राम्रै रह्यो र त होला, बेलुका मलाई तातो दूध दिन थालेका थिए र बरखी बारेका बेला भएकाले मेरो पोसाक सेतो कुर्था र सुरुवाल भएकाले कवीर पन्थको पोसाक पनि सेतो हुनाले कतिले मलाई नै कवीरपन्थी सन्यासी ठानेका थिए र मेरो पाउमा हातले छोएर सम्मान गर्थे । 

म गुजराती भाषा नजान्ने भएकाले जेजे गर्छन्, उनीहरूले होमा हो मिलाउँथे । हिँड्ने बेलामा रेल थियो ६ बजेको । पुसको बिहान ६ बजे भनेको सखारै हुन्थ्यो । हामीले मीत सम्धीजीलाई अन्तिम सहयोगका लागि बोलायौँ । मैले मन्दिरको सहयोगमा एउटा सिम लिएको थिएँ, त्यसैले नेपालमा र भारतमा पनि संचारको सुविधा दिएको थियो । 

हामी बिहानै सखारै उठेर बाहिर निस्कन खोज्छौँ त ढोकामा यमानको मुढा अड्याएको छ, ताल्चा लगाएको छ अनि त्यो खोल्ने मानिस ढोकाको छेउमा सुतेको होइन रहेछ । बाहिरबाट सम्धीजीले फोन गर्न थाल्नुभयो, म आएँ भनेर । समय घर्केला जस्तो भयो । तर, कतै भेटिँदैन साँचो लिएको मान्छे ।

कुनैकुनै कोठामा गएर सुतेका मानिसहरूलाई उठाउन थालेँ र साँचो माग्न थालेँ । तर, कसैसँग छैन । मुख्य महाराजजीको कोठा खोज्दै गएँ र उठाएँ अनि साँचोका लागि अनुरोध गरेँ । उहाँले तत्काल फोन गरेर सहयोगीलाई ढोकामा पठाउनुभयो । हामीले त चिन्ने कुरै भएन किनभने बेलुका सुत्न मात्र त्यहाँ आउँथ्यौँ नत्र मुख्य मन्दिरमा मात्र हामी हुन्थ्यौँ या त घुम्न गएका हुन्थ्यौँ । 

एक दिन घुम्दै हामी गौशालामा गएका थियौँ । श्री कृष्णले चराएका गिर गाईहरूका सन्तान यिनै हुन् भन्थे, सिंग नभएका ठूलाठूला गाईहरू करिब ३०० जति थिए । त्यहाँबाट नै मन्दिरका लागि दूधको व्यवस्था हुँदो रहेछ । त्यही दूध नै पनि र मोही, दही, घीउ बनाइँदो रहेछ मन्दिरका लागि । बल्लबल्ल ढोका खुल्यो, करिब १० मिनेटमा रेल छुट्ने भयो । 

फेरि अन्तरनगर संजालको समय सारिणी एकदम ठीक समयमा छुट्ने र आउने रहेछ । मीत सम्धीले यसरी गाडी चलाउनुभयो कि हामी रेलभित्र पसेर सिट खोज्दाखेरि नै रेल चल्यो । एक मिनेट मात्र ढिलो भएको भए भोलिपल्ट मात्र जान पाइने रहेछ । हामीले त कवीर मन्दिरबाट, मूल मन्दिरबाट बिदा लिएर हिँडेका थियौँ । मध्यदिउँसो जस्तो सुरतको मूलमुलावा मन्दिर पुगियो र नुहाइधुवाई आरती गरी खाना खाइएको थियो । 

सुरतमा मुख्य दुईवटा मन्दिर रहेछन्, मोटा मन्दिर अर्थात् प्राणनाथजीले स्थापना गरेको मन्दिर र हालैका समयमा स्थापना भएको मूलमुलावा मन्दिर, जहाँ अहिले प्राणनाथ अस्पताल छ । भारतभर नै त्यो अस्पतालको ख्याति रहेछ । सुरत आफैँ भारतको हीरा प्रशोधन गर्ने र कपडाका लागि विश्वभर मानिएको  औद्योगिक शहर रहेछ । हाम्रा नेपालीहरूको बाक्लो उपस्थिति रहेछ त्यहाँ । मोटा मन्दिर मुख्य मन्दिर होे, जुन मंगलधामको रूपमा रहेछ । सैयदबाडा भन्ने ठाउँमा त्यो मन्दिर राखिएको रहेछ । सैयदबाडा भन्ने नामले नै स्पष्ट हुन्छ, त्यो इस्लाम धर्मका मानिसहरूको थलो हो र पनि त्यहाँ श्रीकृष्ण प्रणामी धर्मको दोस्रो धामको मन्दिर छ, जसलाई मोटा मन्दिर भन्दा रहेछन् । 

त्यसका गादीपति हुनुहुँदो रहेछ श्री १०८ सूर्यनारायण महाराजजी । मूलमुलावाका गादीपति हुनुहुँदो रहेछ श्री १०८ लक्ष्मणज्योति महाराजजी । हामी सिधै मूलमुलावा मन्दिरमा गयौँ । एउटा  संयोग पनि रहेछ, उहाँ काभ्रेका ब्राह्मण परिवारका अर्थात् नेपाली मूलका हुनुहुँदो रहेछ । यसभन्दा पहिलेका गादीपति पनि सोलुखुम्बूका तारतमज्योति महाराज हुनुहुँदो रहेछ, जसले प्राणनाथ अस्पतालको प्रारम्भिक सुरुवात गर्नुभएको रहेछ । उहाँको शेषपछि उहाँका उत्तराधिकारी लक्ष्मणज्योति महाराजजीले आफ्नो धार्मिक कर्तव्यसहित मानवीय सेवाका लागि प्राणनाथ अस्पताललाई प्रबद्र्धन गर्दै सुरतका लागि मात्र होइन, भारतभरि, नेपालका लागि स्वास्थ्य सेवाको उचित प्रबन्ध गर्नुभएको रहेछ । 

सुरत महानगरमा अरू पनि अस्पताल त हुँदा हुन् तर मानवीय सेवाका लागि श्री कृष्णका उपासक महामति प्राणनाथका नाममा खोलिएको अस्पतालमा मानवीय मूल्यका लागि सेवाको व्यवस्था गरिएको रहेछ । यसै पनि नेपाली महाराजको  अभिभावकत्व भएकाले होला, भारतका नेपाली मूलका मानिसहरू र नेपालबाट धार्मिक यात्रामा जानेहरू अहिले बढी मोटा मन्दिरमा भन्दा मूलमुलावामा जाने रहेछन् । खाने, बस्ने र उचित सेवाको करिब निःशुल्क प्रबन्धले पनि होला, युवा महाराजजीको मंगलधामको यात्रामा मूलमुलावाको पनि महत्त्व दर्शाउन होला, अस्पतालको सेवाले सहयोग पनि गर्न थालेको मैले महसुस गरेँ । 

जुन बेलामा मैले लक्ष्मणज्योति महाराजजीलाई भेटेको थिएँ, त्यसबेला उहाँको उमेर करिब ३० वर्षका थियो होला । भर्खरको युवामा एकातिर ज्ञानको ज्योतिले स्वामी महाराज भएर मानव सेवामा लाग्ने प्रेरणा पाउनुभएको, अर्कोतिर स्वास्थ्यको क्षेत्रमा केही गरूँ भन्ने लागेर प्राणनाथ अस्पतालको प्रबद्र्धनमा लाग्नुभएको मैले पाएँ । उहाँको योजनामा त्यस अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरेर स्वास्थ्यका क्षेत्रमा दिन सकिने सबै खालको उच्चशिक्षा र अनुसन्धान केन्द्रको रूपमा विकसित गर्ने लक्ष्य सुनाउनुभएको थियो मेरो जिज्ञासामा । 

त्यही बेलामा नर्सिङ् ल्याब टेक्नोलोजीको कक्षा भएजस्तो लागेको थियो हामीले अस्पतालको भ्रमण गर्दा नै । अहिले सायद एमबीबीएसको समेत पढाइ सुरु भएको छ कि ! किनभने मैले दोस्रो पटक २०७३ सालमा भ्रमण गर्दा धेरै प्रक्रिया अगाडि बढेको भन्नुभएको थियो । 

एउटा नेपाली मूलको युवा भारतको महानगरमा गएर मानवीय सेवामा समर्पित हुँदै धार्मिक सम्प्रदायको एउटा मन्दिरमा गादीपति हुनु, त्यत्रो अस्पतालको व्यवस्थामा मुख्य ट्रस्टी भएर कार्यकारी हुँदै अस्पतालको व्यवस्थामा सम्पूर्ण जिम्मा लिनुलाई नै मैले ठूलो क्षमता र त्यागको काम मानेको हुँ । कतिपय सेवा आफ्नो अस्पतालमा, नभए त्यस्तो सेवाका लागि बाहिरका डाक्टर, अस्पताल र प्रयोगशालामा समेत सम्पर्क र समन्वय गरेर स्वास्थ्य सेवा उपलब्ध गराइएको पाएँ । जस्तो कि मेरी श्रीमतीको देब्रे आँखापट्टिको भाग हल्लिरहने थियो । त्यसका लागि कन्सल्टेन्ट विशेषज्ञ झिकाएर जँचाइदिनुभयो अस्पतालको खर्चमा र बुटोक्स सुईका लागि उहाँकै क्लिनिकमा पठाउनुभयो आफ्नो एम्बुलेन्समा- पहिलो पटक पनि र दोस्रो पटक पनि । त्यो बुटोक्स सुई महँगो हुने रहेछ । अर्को त्यस्तै आँखा झिमझिम गर्ने बिरामी खोेजेर दुई जनामा त्यो ओखतीको मूल्य घटाउने काम ती नसा विशेषज्ञ डाक्टर परेश झुनझुनवालाले गरेका थिए । उनको भनाइ थियो, ‘प्राणनाथ अस्पतालका लागि हामीले पनि फी लिँदैनौँ । जति अस्पतालले सेवा शुल्क दिन्छ, त्यही नै हाम्रो पनि सन्तुष्टिको आधार हो । पैसा त अरू नै कन्सल्टेन्सीमा कमाउँछौँ नि !’

अर्थात् प्राणनाथ अस्पतालको विशेषता भनेको फिजियो थेरापी, सुत्केरी सेवा र मुटुका लागि विशेष सेवा रहेछ । मिर्गौला, कान, दाँतका लागि पनि विशेष सेवाको व्यवस्था गरिएको थियो । सायद अहिलेको ठाउँको क्षेत्रफल कम भएकाले शहरबाहिर कतै धेरै जमिन किनेर ठूलो अस्पतालको परिकल्पना पनि गरिएको थियो । त्यो कार्यान्वयनको चरणमा होला । 

अर्को विशेषता के रहेछ भने, सुरत यसै पनि हीराको शहर त हुँदै हो, कपडा तयार गर्ने, रंगाउने कामका लागि पनि विश्व प्रसिद्ध नै रहेछ । तपती नदीको किनारामा अवस्थित त्यो शहरमा एउटा पौराणिक लोकोक्ति रहेछ । भनिँदो रहेछ कि महाभारतको युद्धमा जब कर्णको अन्त्य अवस्था भएको थियो, उनले श्री कृष्णसँग माग गरेका थिए, ‘मेरो मावली पनि तपाईं, मेरो आराध्यदेव पनि तपाईं, त्यसैले मलाई तपाईंले चोखो ठाउँमा लगेर जलाइदिनुपर्छ ।’

त्यही भएर कर्णकी दिदी तपतीको किनारा (किनभने तपती सूर्यकी छोरी हुन् र कर्ण पनि सूर्यका छोरा)मा लगेर जलाइएको हो रे ! त्यही ठाउँमा कर्णको मूर्ति बनाएर मृत्युशैय्यामा सुतेका कर्ण छन्, देवी-देवताहरूले उनलाई घेरेका छन्, त्यसको सम्झनाको व्यवस्था गरेको रहेछ । त्यहाँ कर्णको स्मृतिमा भनेर स्वर्गबाट तीनपाते वर अर्थात् त्रिपटबटको त्यहाँ अस्तित्व रहेछ । त्यहाँ भनिएको छ कि कर्णको अस्तित्वका लागि पनि यो त्रिपटबटको प्रतीक यहाँ छ । भन्छन् मानिसहरू, न अर्को पात आउँछ, न कसैले त्यो पात झरेको देखेको छ, न पलाएको देखेको छ । 

त्यो सायद अब विश्व सम्पदामा पर्दै छ जस्तो लागेको छ किनभने धेरै अनुसन्धान हुँदा पनि अर्को पात पलाएको पनि देखिएको छैन रे ! त्यसैले अहिलेचाहिँ बाहिरबाट कसैले त्यो तीनपाते बरलाई बिगार्न नपाओस् भनेर कडा सुरक्षा दिइएको छ त्यहाँको गौशााला र मन्दिरबाट । 
क्रमशः