कैलाशकुमार सिवाकोटी | साहित्य | असोज ०९, २०७८
बा, आमा हजुरहरुलाई बधाइ छ
अब पीरलाई बाटो कटाए हुन्छ
बिलौना र व्यथालाई पठाए हुन्छ
हो अब हाँसोलाई समाउनुहोस्
अलेली भए पनि खुसीसँग रमाउनुहोस्
वर्षौँ बिते तर पारि गाउँको
साहिँलो दर्जीको चिलिम ज्यान फिरेन
उतै खै केले खायो रे !
सात तलाबाट खसेको तल हर्के
नआउने गरी नै हरायो रे ...!
डल्ली सिल्टिएपछि समयले लामै चक्कर लायो
पाँच वटा वर्षपछि बाकसमा हड्डीसम्म आयो ।
तपाइँहरुको भाग्य बलेको छ
आँशुको पहाड ढलेको छ
उन्मुक्त हाँसो हाँस्नुहोस्, चिच्याउनुहोस्,
सारालाई खबर गर्नुहोस्, भन्नुहोस्-
हाम्रो छोरा फिर्ता आएको छ ।
छोरा नआउदा जलेको मन
अब सिञ्चित बनाउनुहोस्
दुई महिनाभित्रै छोरा हात लागेको छ
अरुको भाग्यमा नपरेको हाँसो साथ लागेको छ
फरक यति हो
हिजो बिदाइमा जहाज चढेर
ऊ पराइ भएको थियो ।
अविर र मालाले सजिई गएको थियो ।
आज आगमनमा
ऊ ठूलो बाकसभित्र सुतेर आएको छ ।
हिजैजस्तो अविर र माला पनि लाएको छ ।
खुसी हुनुहोस्, खुसीमा रुनुहोस्
नबोले पनि आफ्नो छोरा पाउनुभएको छ ।