ज्ञानमित्र | ज्ञानविज्ञान | बैशाख २५, २०७६
जोन एफ केनेडीले सन् १९६० को अमेरिकी राष्ट्रपतिको निर्वाचनताका एउटा चुनाव प्रचार सभामा सोभियत संघलाई अन्तरिक्षको दौडमा पछाडि पार्दै अमेरिकी सम्प्रभुता स्थापित गर्ने घोषणा गरे । राष्ट्रपति भएपछि उनले अमेरिकाको अन्तरिक्ष कार्यक्रमलाई आवश्यक धनराशी उपलब्ध गराए ।
हुन त अपोलो अभियानको खाका आइजनहावर राष्ट्रपति हुँदा सन् १९६० कै प्रारम्भमा प्रकाशमा आएको थियो । वास्तवमा यो मक्र्युरी अभियानकै अर्को चरणको कार्यक्रम थियो । मक्र्युरी अभियानमा एउटा मात्रै अन्तरिक्ष यात्रीलाई पृथ्वीको निम्न कक्षमा सीमित परिक्रमा गराउने योजना रहेको थियो । तर, अपोलो अभियानको उद्देश्य तीन जना अन्तरिक्ष यात्रीलाई पृथ्वीको वृत्तीय परिक्रमा गराउनुका साथै सम्भव भएमा चन्द्रमा अवतरण गराउनु पनि रहेको थियो ।
यसैबीच १२ अप्रिल १९६१ मा सोभियत अन्तरिक्ष यात्री युरी गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानव हुन सफल भए । सोभियत संघको यस सफलताले अमेरिकाको मनमा चिसो पस्नु स्वभाविक थियो । भोलिपल्ट नै अमेरिकी संसद्को विज्ञान एवम् अन्तरिक्ष सभाको बैठक बस्यो । यस सभामा सोभियत संघलाई उछिन्दै अगाडि बढ्ने योजना बनाइयो । सरकारमाथि अमेरिकी अन्तरिक्ष कार्यक्रमलाई द्रुत गतिले संचालन गर्नका निमित्त दबाब दिने निर्णय भयो । फलस्वरूप २५ मे १९६१ मा राष्ट्रपति केनेडीले अपोलो अभियानको घोषणा गरे । उनले सन् १९६० को दशकमै चन्द्रमामा मानव ओराल्ने महत्वाकांक्षी योजना घोषित गरे ।
यो अभियान पूरा गर्ने अभिभारा संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको काँधमा थियो । यस अभियानमा सैटर्न रकेट र अपोलो यान प्रयोगमा ल्याइए । सन् १९६१–१९७४ सम्म यसका श्रृंखलावद्ध उडान जारी रहे ।
सरकारमाथि अमेरिकी अन्तरिक्ष कार्यक्रमलाई द्रुत गतिले संचालन गर्नका निमित्त दबाब दिने निर्णय भयो । फलस्वरूप २५ मे १९६१ मा राष्ट्रपति केनेडीले अपोलो अभियानको घोषणा गरे । उनले सन् १९६० को दशकमै चन्द्रमामा मानव ओराल्ने महत्वाकांक्षी योजना घोषित गरे ।
अभियानको आरम्भ
राष्ट्रपति केनेडीले लक्ष्य त दिए । तर, यस अभियानमा मानव जीवन, धन, प्रविधिको अभाव, अन्तरिक्ष क्षमताको लघुता जस्ता धेरै बाधा र खतरा थिए । यो अभियान पूरा गर्न निम्न अभिकल्पनामा विचार भयो ।
तर, केही वैज्ञानिक जसमा जान होवाल्ट प्रमुख थिए, उनको विचारमा नम्बर ४ को चन्द्रमा कक्ष केन्द्रित अभियानमा अगाडि बढ्नु थियो । यस योजनामा चन्द्रयानको सानो आकार र कम्ती वजनले उनी प्रभावित बनेका थिए । हवाल्टले यस कार्यक्रमका प्रमुख निर्देशक राबर्ट सिमन्सलाई पत्र लेखेर यो अभियोजनाको वकालत गरे । सिमन्सले उनलाई उनको सुझाव गम्भीरताले मनन् गर्ने आश्वासन दिए । सबै
अभिकल्पनामाथि छलफल गर्न गठित ‘गोलोविन समिति’ले होवाल्टको विचारलाई स्वीकार गर्दै पृथ्वी परिक्रमा केन्द्रित र चन्द्रमा कक्ष केन्द्रित दुवै अभिकल्पनाको मिश्रित योजनालाई सिफारिस गर्यो । ११ जुलाई १९६२ मा विधिवत यसको घोषणा भयो ।
अन्तरिक्ष यान
अपोलो अन्तरिक्ष यान तीन मुख्य भाग एवम् दुई बेग्लै सानो भागमा विभाजित थियो । नियन्त्रण यानमै अन्तरिक्ष यात्रीले अधिकांश समय (प्रक्षेपण र अवतरणको बेला पनि) बिताउनु थियो । पृथ्वीमा यही भाग फर्केर आउने योजना थियो । सेवा कक्ष -Service Module) मा यात्रीका उपकरण, अक्सिजन ट्यांक र इन्जिन रहेका थिए । नियन्त्रण र सेवाकक्षको संयुक्त रूप नै थियो । नियन्त्रण यान (Command Module) चन्द्रयान चन्द्रमामा अवतरण गर्ने यान थियो । यसमा अवरोह र आरोह दुवै चरणका इन्जिन जडान गरिएका थिए । चन्द्र धरातलमा अवतरण गर्दा एवम् पुनः मुख्य नियन्त्रण यानमा आई जोडिनु यी इञ्जिनको काम थियो । यी दुवै इन्जिन पनि नियन्त्रण यानमा जोडिएपछि मुख्ययानबाट विच्छेद हुने योजना रहेको थियो । मुख्य योजनामा चन्द्रयानको अधिकांश भाग बाटैमा छाड्नु रहेको थियो । यसलाई सकेसम्म हलुको बनाउने योजना गरिएको थियो र एउटा मात्र सैटर्न–५ रकेटको प्रयोग गर्ने योजना बनाइएको थियो ।
चन्द्रमामा अवतरणको पूर्वअभ्यासका लागि चन्द्र अवतरण जाँचवाहन -LUNAR LANDING RESEARCH VEHICLE (LLRV) बनाइयो । यो उड्ने वाहन थियो । यसमा चन्द्रमाको कम गुरुत्वाकर्षणको आभास दिनका लागि एउटा जेट इन्जिन लगाइएको थियो । पछि यसलाई चन्द्र अवतरण प्रशिक्षण (LUNAR LANDING TRAINING VEHICLE (LLTV) मा परिणत गरियो । यसैगरी लन्च स्केप टावर ( LET) , यसको कार्य नियन्त्रण यानलाई प्रक्षेपण यानबाट विच्छेद गर्न प्रयोगमा ल्याउनु थियो । र, स्पेसक्राफ्ट लुनार मोड्युल एडप्टर (SLA) यसको कार्य अन्तरिक्ष यानलाई प्रक्षेपण यानसँग जोड्न प्रयोगमा ल्याउनु रहेको थियो । यस अभियानमा सैटर्न—१ बि र सैटर्न—५ रकेट प्रयोग हुन गइरहेका थिए ।
अभियानः यस अभियानअन्तर्गत निम्न बमोजिमका अभियान प्रस्तावित भएका थिए ।
१. मानवरहित नियन्त्रणयान जाँच
२. मानवरहित चन्द्रयान जाँच ।
३. मानव सहितको नियन्त्रणयान पृथ्वीको निम्न कक्षमा ।
४. मानवसहित नियन्त्रणयान र चन्द्रयान पृथ्वीको निम्न कक्षमा ।
५. मानवसहित नियन्त्रणयान र चन्द्रयान पृथ्वीको दीर्घ वृत्ताकार कक्षमा (अधिकतम दूरी ७४०० किमी) ।
६. मानवसहित नियन्त्रणयान र चन्द्रयान चन्द्र कक्षमा ।
७. चन्द्रमामा अवतरण ।
८. चन्द्र धरातलमा केही समय बिताउनु ।
९. चन्द्र धरातलमा वैज्ञानिक प्रयोग गर्नु ।
१०. चन्द्र धरातलमा लामो समय बिताउनु ।
चन्द्र अवतरण पूर्व बनेको प्रमुख योजना परम्परागत थियो । तर, रकेट सैटर्न–५ को सबै परीक्षण उडान सफल रहे । यस सफलताको उत्साहले बीचका केही अभियान योजनालाई निरस्त गरियो । यससम्बन्धी नयाँ योजना अक्टुवर १९६७ मा घोषणा भयो । यसका अनुसार प्रथम मानव सहितको नियन्त्रण यानको उडान अपोलो—७ हुनु थियो । यसउपरान्त चन्द्रयान र नियन्त्रणयान सँगै सैटर्न—१ बी को उडान अपोलो—८ गर्ने योजना थियो, जसको लक्ष्य पृथ्वीको परिक्रमा गर्नु रहेको थियो । अपोलो ९ को उडानमा सैटर्न—५ रकेटबाट नियन्त्रणयानको पृथ्वी परिक्रमा गर्ने योजना तथा यसपश्चात अपोलो—१० को चन्द्र अवतरणको अन्तिम ‘रिहर्सल’ उडान हुने कार्यक्रम तय भएको थियो ।
तर, १९६८ सम्म आइपुग्दा थाहा हुन गयो, अपोलो– ८ को उडानका लागि चन्द्रयान बनाउन भ्याइँदैन । नासाले कार्यक्रम बदल्दै अपोलो ८ लाई पृथ्वीको परिक्रमा गर्न पठाउने योजना परिमार्जन गरेर चन्द्रमाको परिक्रमामा पठाउने निधो गर्यो ।
यो बदलाव र हतारको कारणको पछाडि सोभियत संघको चन्द्र परिक्रमा अभियान जोण्ड (ZOND) को भय पनि रहेको चर्चा थियो । अमेरिकी वैज्ञानिक चन्द्र यात्रामा जसरी भए पनि सोभियतभन्दा पहिला हुन चाहन्थे ।