लोकसंवाद संवाददाता | समाचार | असोज ११, २०७८
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।
सो अवसरमा उनीरूबीच नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै २ पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
'दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड- १९ ले नेपाल र भारतका जनताको जीवन र आजीविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाए', नियोगले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा. खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाइएको छ ।
आजै मन्त्री डा. खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढंगले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेष रूपमा अघि बढाउन निर्देशन दिए । मन्त्री खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि नियोगले जनाएको छ ।
महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न मन्त्री डा. खड्काले सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा. खड्का नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार स्वदेश फर्कनेछ ।