मध्यरातमा ‘जँड्याहा भलाद्‌मी’को स्वागत सत्कार (नियात्रा)

मध्यरातमा ‘जँड्याहा भलाद्‌मी’को स्वागत सत्कार (नियात्रा)

रूपक अलङ्कार  |  साहित्य  |  असोज १६, २०७८

विद्यालयको सानोतिनो जागिर सकेर निस्कँदा आधा दिन बितिसकेको थियो । भोलिदेखि तिहारको बिदा सुरु भएकाले मनमा उमङ्गको सिमसिमे झरी परिरहेको थियो । २ घन्टामा घरै पुगिने भए तापनि आजैदेखि घर गएर के गर्ने ? भन्ने प्रश्नको उत्तर पाउन मलाई मुस्किल परिरहेको थियो । 

हात्तीगौँडाबाट गोल्फुटार आई नपुग्दै हृदयाकाशमा मित्र राजु बडालको बिन्दास चेहरा उदायो । म पनि छिरेँ उसैको डेरातिर । डेरामा अन्यमनस्क भावले सिलिङतिर हेरेर उग्राइरहेको बडाललाई देखेपछि मैले कतै घुम्न जाने प्रस्ताव राखेँ । यस्ता प्रस्ताव हामी विगतमा पनि राखिरहन्थ्यौँ र प्रस्तावलाई खेर जान दिने बानी हाम्रो थिएन । नत्र यस किसिमको महोत्सवमा मैले उसलाई र उसले मलाई सम्झिनुपर्ने वैज्ञानिक कारण नै के छ र ?

मलाई लाग्छ, ऊ पनि यस्तै अवसरको प्रतीक्षामा थियो । कहाँ, कसरी, कहिले जस्ता बहानाबाजीका प्रश्नोत्तरमा अल्झिनै चाहेन । उसले उठेर लुगा लगाइहाल्यो । मैले पनि लगाएको कोट उसकै कोठाका किलामा झुन्ड्याएर उसको दाने हुकलाई आफ्नो ज्यानमा झुन्ड्याएँ । ‘सेकेन्ड ह्यान्ड’ मोटरसाइकलले हामी २ भाइको ज्यानलार्ई बोकेर आफ्नो गति लियो । खल्तीमा टन्न पैसा भएपछि मात्र घुम्न निस्किने हाम्रो संस्कार नभएकाले पैसाको खासै चिन्ता गरिएन पनि । 

कता घुम्न जाने भन्ने कुराको निधो त भएको थिएन । मैले पहिलो चरणमा धुलिखेल पुग्ने अनि विचार गरौँला भनेपछि हाम्रो यात्रा धुलिखेलसम्मका लागि तय भयो । धुलिखेलमा मोटर छेउ लगाएर चिया पिउँदै गर्दा सिन्धुलीगढीसम्म जाँदा उपयुक्त हुने कुरामा २ भाइको निर्विवाद चोसोेमोसो मिलेपछि मोटरसाइकल दाहिनेतिर मोडियो । 

भर्खरभर्खर पिच भएको बीपी राजमार्गको चिल्लो सडकमा घुम्ती मार्दै विहङ्गम शैलीमा यात्रा अगाडि बढायौँ । उपयुक्त लागेसम्मका चिया पसलमा चिया पिउनचाहिँ छोड्नुहुँदैन भन्ने सहमतिपत्रलाई नच्यातीकन अघि बढेकाले हामी गन्तव्यमा पुग्छौँ होला भन्ने हामीलाई नै लाग्न छाडिसकेको थियो । 

त्यसभन्दा अघि धुलिखेलबाट पूर्व नलागेकाले मलाई त्यताको भूगोलको छटाले मोहित गराइरहेको थियो । हुनत १०-१५ दिन काठमाडौं खाल्डामा निसासिएपछि नागढुंगाबाट बाहिर हेर्दा पनि म औधी मोहित हुन्छु । त्यत्रा वर्ष बिताएको ठाउँ र देखिरहेका चुचुराको पनि न्यास्रो लागिसकेको हुन्छ भने यो ठाउँको छटा त पहिलोपल्ट पिइरहेको थिएँ । 

काभ्रेमै जन्मे, हुर्केको बडाललाई बाख्रा चराउन जाँदै छु जस्तो लाग्यो होला । तर, पाँचखाल, खावा, पलान्चोक डाँडाँ जस्ता परिचित स्थान देखिन छाडेपछि भने उसमा पनि उत्सुकताको जरो बढेको महसुुुुुस मैले गरेँ । 

नेपालथोक पुग्दा दिन सकियो र पिच सडक पनि सकियो । निर्माणधीन सडकमा कताबाट चाहिँ जाने भन्ने कुराले नै महामारी ल्याउँदो रहेछ । हाम्रो साथमा हिँड्नका लागि तयार त सुनकोसी मात्र थियो । तर, सुनकोसीको लहैलहै लागेर हिँड्दा कहाँ पुगिन्छ भन्ने विषयमा सबै जानकार छन् । बाटो छेउको छाप्रामा उभिएका मानिसलाई सोध्दा उनले ‘बगरबगरै जानुस्, अगाडि गएपछि बाटोे भेटिन्छ’ भने । 

त्यहाँसम्मको चिल्लो सडकको यात्रामा जाम भएका देहका पाटपुर्जा बल्ल खुल्न थाले । ज्यानले बल्ल थाहा पायो, हामी विकासोन्मुख देशका नागरिक हौँ भन्ने । मोटरसाइकलले पनि आफ्नो वास्तविक रूपको कैरन दिन थाल्यो । सजिलो ठाउँमा बत्ती बल्ने तर उबडखाबड आएपछि निभिहाल्ने गर्दाे रहेछ । बगरको खाल्डामा बङ्लङ्गै दुवै जना पछारिएपछि यात्राको असली स्वाद आउन थाल्यो, जुत्ताहरूका वजन एकाएक दोब्बर भए । शरीरले तीव्र आद्र्रताको अनुभव गर्‍यो । 

भर्खर कालोपत्रे गरेको सडक, ढलान गरेको भित्तो, व्यवस्थित नाली, छेउछाउमा चम्किला बार, नदीदाई छुँलाछुँला जस्तो गरेर नागबेली परेर अघि बढेको बाटो, आसन्न औँशीको साँझ, वारिपारि अलिअलि लुगा लगाएका पहाड, यातायातको सुनसानी मानौँ, घुम्न जानेको हामी मात्र हौँ भनेजस्तो अवस्था । हृदयमा नवीन अनुभूतिका चलचित्र त कति चलेचले । 

मूलकोटमा पुग्दा जगत् अन्धकारको कृष्ण गौह्वरमा लुकिसकेको थियो । त्यति मात्र नभएर पिच बाटो पनि तुरिएको थियो । मूलकोट बजार पुरानै सिँगारमा सिँगारिएको थियो त्यसबेला । उकालो लाग्ने गौँडामै हामीले चिया घुट्क्यायौँ । पसले पुरुषले हामीलाई तहाँ उप्रान्तको बाटाका बारेमा दिव्य ज्ञान पनि दिए । 

  ‘नेपालीको विद्यार्थी ? नेपालीका विद्यार्थी पनि घुम्न हिँड्छन् ?’, उनले नेपालीका विद्यार्थीलाई के सोचेका रहेछन् कुन्नि ! यस्तो अचम्म मान्नुपर्ने के रहेछ त्यस्तो ? यिनलाई अझै चकित पार्नुपर्‍यो भन्ने लागेर मैले भनेँ, ‘नेपाली त फुर्सदमा पढ्ने हो, खासमा हामी संस्कृतका विद्यार्थी हौँ ।’

‘ऊ... त्यही मोडबाट हो अस्ति बस खसेको’ भनेर औँल्यए । १०-८ दिन अगाडि बस खसेर ४१ जना मान्छे मरेको घटना मूलकोटमा मात्र होइन, हाम्रै मनमा पनि ताजा थियो । सम्झिँदा पनि हाम्रो आङ सिरिङ्ग भयो । मूलकोट उताको बाटो कच्ची मात्र थिएन, साँधुरो पनि थियो । बीपी राजमार्गको योजनाले यस खाण्डलाई मूलकोटबाट भर्खर कोतर्न थालेको रहेछ  ।

मूलकोटबाट उकालो लागेपछि डाइभर्सनले हैरान गरायो । जता गयो, त्यतै बाटो सकिन्छ । त्यसमाथि पनि हेडलाइटमा थिचिरहे मात्र बल्ने नत्र नबल्ने खालको सवारी छ । आधाउधी मोटरसाइकल नै गाडिने खालको धुलो छ । अघि भिजेका जुत्ता र लुुगाले बल्ल धुलोको साथ पाए । वजन झन बढ्दै गयो ज्यानमा । बाटो हराएको हरायै गर्दा त केही दिन अगाडि अकाल मृत्युवरण गरेका यात्रीहरूका आत्माले हामीलाई पनि सुनकोसीतिर तान्न खोजेका त होनन् ? भन्ने लाग्यो । अहिले भएको भए एउटा ऐना चढाउने विचार आउँथ्यो होला । 

केहीछिनमा पुरानै बाटो भेटिएपछि भने त्यति समस्या परेन । धुलोेमा भससस गर्दै मोटरसाइकलले हामीलाई तानिरह्यो । ‘मइनटोल’ बालेर ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ भन्ने गीत क्यासेटमा घन्काउँदै मानिसहरुको जत्था सडकमा धुलो उडाउँदै नाच्दै आइरहेको थियो । उनीहरूको अगाडि पुग्दा नपुग्दै हाम्रो मोटरसाइकलको बत्ती निभिगयो । 

अलिकति डर पनि लाग्यो, भिरबाट गुल्ट्याइदिने पो हुन् कि भनेर । तर, रातका बेलामा यतिको रमाइलोे गर्न जानेका मान्छेमा दयामाया पक्कै पनि हुन्छ भन्ने विश्वास पलाएपछि हामीले उनीहरूसित कुरा गर्‍यौँ । उनीहरू गाउँतिर भैलो खेल्न हिँडेका रहेछन् । उनीहरूले नै ‘अब खुर्कोट आइपुग्न लाग्यो’ भनेपछि हामीले खुर्काेट भन्ने ठाउँ पनि रहेछ बीचमा भन्ने थाहा पायौँ । नत्र त झाँगाझोली भन्दा केही पनि थाहा थिएन, त्यो पनि बस दुर्घटना भएपछि थाहा भएको । 

खुर्कोट भन्नु पनि के रहेछ र ? बल्ल बन्न थालेको बजार । चौतारा अगाडिको पसलमा फ्रुटी र बिस्कुट खायौँ । ह्यान्डी प्लास्ट किनेर हेडलाइटको स्विचमा टाँसेपछि बत्ती निभिरहने समस्याले पनि पिछा छाड्यो । त्यहाँसम्म पुग्दा खाएको हन्डर र ठक्करले हामीलाई त्यतैतिर बास बसाउन नखोजेको पनि होइन तर त्यसपछि आउने बाटो अत्यन्त फरासिलो छ भन्ने जानकारी पाएपछि हाम्रो मन त्यहाँ अडिनै मानेन । भर्खर बेलुकाको ९ बजेको त हो नि भनेर हामी अगाडि बढिहाल्यौँ । 

अन्धकारको साम्राज्य थियो । विकराल पहाडहरूले भष्मासुरको भयङ्कर अवतार धारण गरेका थिए । सडक छेउको ढिस्को  ढिस्के भूत भएको थियो । मुढो मुढे भूत भएको थियो । बाइकको पिलपिले बत्तीले देखिनेभन्दा बाँकी भूगोल अन्धाधुन्ध थियो । मनमा त्रासद सौन्दर्यको चमक थियो । बाइक नरोकिएसम्म केही हुँदैन भन्ने भ्रमात्मक विश्वास थियो । तर, जे भए पनि मजा थियो । मन चङ्गा भएर उडेर सिन्धुलीको लेकसम्म पुगिसकेको थियो । 

खनियाखर्क लेखेको पसल देखेपछि यो खनियाखर्क रहेछ भन्ने थाहा भयो । बजार कतैकतै खुला पनि थिए । दारु-पानीको वर्षा चलिरहेको थियो सायद ! हाम्रो मनमा यहाँ बास बस्नुपर्छ भन्ने विचारसमेत आएन । भञ्ज्याङ काटेर दक्षिण फर्किएपछि सिन्धुलीमाडी शहरको झलझलाकारिता आँखामा आएर ठोकियो । सिन्धुलीगढीको गौँडो कुन बेला कट्योकट्यो, थाहै भएन । सिन्धुलीगढी गीतमा जस्तो चर्चित यहाँ रहेनछ जस्तो लाग्यो । 

फर्किनुभन्दा अघि बढ्नु बुद्धिमानी हो भन्ने भएपछि ओरालो लाग्यौँ । तेल बचाऊ अभियान पनि सुरु गरियो । सिन्धुलीमाडीको उज्यालो छउन्जेल बासको के चिन्ता ? विस्तारै जाने हो । भात खाने हो । सुत्ने हो । यस्तै योजना बुन्दै सडकमा सुत्दै । सडकको सुन्दरताबाट पुलकित हुँदै । घुम्ती र मोडको प्रशंसा गर्दै । दुनियाँ बिर्सिंदै र आफूलाई मात्र सम्झिँदै ओरालो झरिरह्यौँ झरिरह्यौँ । 

माडी बजार आइपुग्यो होला । अब बस्ने ठाउँ खोज्नुपर्छ भन्ने सोच्दासोच्दै बजारमा नपसी अगाडि पो लागेछौँ ! त्यत्रो जिल्ला सदरमुकाम यति चाँडै कहाँ सकिन्छ ? मुख्य बजार त आउँदै होला भन्ने बिचार्दाबिचार्दै विस्तारै हामी जंगलभित्र छिर्‍यौँ । 

अलिअलि डर पनि लाग्न थालेको थियो । यसपछि कहाँ पुगिन्छ भन्ने थाहा थिएन । केहीबेर गएर फर्किने विचार गर्दै गर्दा नदी आइपुग्यो । पुल तर्नेबित्तिकै छेउमा एउटा पसल रहेछ । त्यस पसलमा केही मानिस पनि थिए । हामी पनि त्यहीँ रोकियौँ । केही सिप नलागे यहीँ चाउचाउ खाएर यहीँको बेन्चमा आजको रात बिताउनुपर्छ भन्ने खालको खतरनाक विचार मेरा मनमा पैदा भइसकेको थियो । 

हामी त्यस काठे होटलको दैलामा उभिएको देखेर त्यहाँका मानिसले विस्मयपूर्ण तरिकाले हेरे । हेरे पनि हामी भित्र छिरिहाल्यौँ । 

‘यहाँ खाना खान पाइन्छ ?’
 
‘खाना त पाइन्छ तर २ जनालाई पुग्ने हो कि होइन ?’, अधबैँसे साहुनीले आधा सकारात्मक कुरा गरिन् ।  

‘जति पुग्छ, त्यति खाऊँ न । तरकारी के छ नि ?’, परिस्थितिको मूल्यांकन गर्दा यसै भन्न ठिक लाग्यो । 

‘घिरौँलाको तरकारी छ । माछा छ । तताउनुपर्छ अलिक चिसो छ’, दशैँ अगाडि कागबेनी गएर माछा-मासु छाडेर आएको बडाललाई साहुनीको तरकारीको उद्घोषले तरङ्गित नबनाए पनि म भने उत्साहित भएँ । साहुनीले भान्छाको तर्र्जुमा गरुन्जेल हामी फुर्सदिला भयौँ ।

‘सरहरू कतातिर जान लाग्नुभा’ होला यति रातिराति ?’, पल्लो टेबुलमा बसेर दारु-पान गरिरहेका २ जना ‘भलाद्मी’ले पनि हामीलाई उत्तिकै जिज्ञासाका साथ हेरिहेका छन् भन्ने अनुमान हामीले पनि गरेका थियौँ । तिनैमध्ये एक जनाले मन्द गतिमा सोधे ।

‘हामी विद्यार्थी । कलेज बिदा भएपछि यतिकै घुम्न भनेर हिँडेको, काठमाडौंबाट आउँदाआउँदा यहाँसम्म आइपुगियो’, मैले वास्तविकता बताएँ । घुम्नै हिँडेको भनेर उनले पत्याउँदै  पत्याएनन् । निकैचोटि सोध्दा पनि उत्तर नफेरिएपछि पत्याउन करै लाग्यो होला, पत्याए ।

‘उसो भए तपाईंहरू कमर्सको विद्यार्थी हो कि क्या हो ?’, कुन सिद्धान्तले हामीलाई कमर्सको विद्यार्थी देखे, थाहा भएन । 

साहुनीले भातको थाल टेबुलमा राखिदिइन् । हामीले भातमा हात हाल्यौँ । 

‘होइन, हामी त नेपालीका विद्यार्थी ।’
 
‘नेपालीको विद्यार्थी ? नेपालीका विद्यार्थी पनि घुम्न हिँड्छन् ?’, उनले नेपालीका विद्यार्थीलाई के सोचेका रहेछन् कुन्नि ! यस्तो अचम्म मान्नुपर्ने के रहेछ त्यस्तो ? यिनलाई अझै चकित पार्नुपर्‍यो भन्ने लागेर मैले भनेँ, ‘नेपाली त फुर्सदमा पढ्ने हो, खासमा हामी संस्कृतका विद्यार्थी हौँ ।’

‘ए, संस्कृति ?’, उनले कुरो बुझेनन् ।

‘होइन, संस्कृत, संस्कृत’, मैलै अझै प्रस्ट पारेँ ।

‘त्यही त, संस्कृति भनेको’, उनले संस्कृतिमा नै जिद्दी गरिरहे । 

धन्न, उनीसित सग्धि सपिति गरिरहेका मानवले जनकपुरमा ६ महिना संस्कृत भाषा प्रशिक्षणको कक्षा लिएका रहेछन् । उनले बुझेका रहेछन् संस्कृत र संस्कृतिको फरक । 

‘त्यस्तो होइन क्या सर, संस्कृत क्या, तपाईंका बाले पढ्नेजस्तो’, आफ्नै साथीले बुझाएपछि उनलाई कुरो प्रस्ट भयो । 

‘ए, संस्कृत पो भनेको ? उसो भए त तपाईंहरू पण्डित हुनुहुँदो रहेछ !’, बल्ल उनी छर्लङ्ग भए । उठेरै नमस्कार गरे । 

अब उनको प्रवचन सुरु भयो । पिताजी रहेछन् स्वयंपाकी ज्योतिषी । गाउँका नामी पण्डित । लामो कुरा भयो । हामीले लामै कुरा गर्‍यौँ । 

‘गुरुजीहरूलाई मेरा तर्फबाट भेट’ भनेर साढे ११ बजे राति चिसो कोकाकोला पनि पिलाए । कुरैकुरामा उनीहरू दुवै जना विद्युत् प्राधिकरणका जागिरे भन्ने पनि थाहा भयो । अन्त्यमा उनले निर्णय सुनाए, ‘यहाँभन्दा अगाडिको बाटो कठिन छ । जंगल छ । सिंगल लाइटलाई चोर-डाँकाहरूले भाटो हान्न पनि सक्छन् । त्यस कारण जानुहुँदैन । तपाईंहरू हामीसितै हिँड्नुहोस् । हामी घर गए पनि तपाईंहरूलाई माडी बजारमा बासको व्यवस्था गरिदिन्छौँ ।’

नशा त उनलाई राम्रै चढिसकेको थियो तर उनको व्यवहार र बोलीमा संयम बाँकी नै देखेर उनको कुरा स्वीकार्न करै लाग्यो ।

उनले बिरालाका लागि माछा किने । उनीहरूका दुइटा र हाम्रो एउटा मोटरसाइकलले बाटो झलमल पार्दै हामी माडी फर्कियौँ । माडी बजार आइपुगेपछि फेरि उनले आफ्नो निर्णय परिमार्जन गरे, ‘यस्ता गुरुहरूलाई मैले यति राति होटलमा सुताउनुहुँदैन । मेरै घर लान्छु ।’

उनले मोटरसाइकल मोडिहाले । हामीले हुन्न/हुन्छ केही भन्नै पाएनौँ । सडकबाट केही उकालो लाग्नेबित्तिकै उनको घर अइपुगिहल्यो । 

फोन गरेर गृहिणीलाई उठाए । घरमा बत्ती बल्यो । ढोका खुल्यो । काठको घर, भान्छा छुट्टै, बस्न छुट्टै रहेछ । गृहिणीलाई पनि हाम्राबारेमा बेलिबिस्तार लगाए । 

जँड्याहा लोग्नेले कसलाई उठाएर ल्यायो मध्यरातमा भन्ने पो हो कि भन्ने डरले हामी अलिक त्रस्त थियौँ तर उनकी गृहिणीले हामीलाई पनि हार्दिक स्वागत गरिन् । कागती हालेको चिया पकाएर ख्वाइन् । उनले आफ्नो घरको सानो बिरालोलाई माछा खुवाए, हामीले चिया खाँदै गर्दा । 

दुवै जनाले बेलुकाको खाना पनि खाए- करिब मध्यरातको १२ बजेतिर । काठामाडौंबाट हिँडेदेखि नै कहाँ गएर बस्ने होला भन्ने पिरको पनि उनले देखाएको ओच्छ्यानमा पल्टिएपछि अन्त्य भयो ।