लोकसंवाद संवाददाता | समाचार | असोज १८, २०७८
कुनै समय थियो माओवादीका हरेक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तस्बिर अनिवार्यजस्तै थिए । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओपछि प्रचण्डको तस्बिर राखिएको हुन्थ्यो । माओवादीले सशस्त्र सङ्घर्षका क्रममा उनकै नामबाट ‘प्रचण्ड पथ’ नै बनायो ।
यी सबै युद्ध कालमा नेतृत्वको केन्द्रिकरण र देवत्वकरणका उदाहरण थियो । युद्धका समयमा सबै निर्णयका लागि सबै नेताहरू एक ठाउँ नहुने हुँदा नेतृत्वको केन्द्रिकरण आवश्यक भएको प्रस्टीकरण दिइयो । तर जब माओवादी शान्ति प्रक्रियामा आयो, तब यस्ता प्रचलनहरू केही कम हुँदै गए । तर एउटा कुरा चाहिँ प्रस्ट के भयो भने मूल नेतृत्वका कमजोरीविरुद्ध दृढताका साथ बोल्न सक्ने सामर्थ्य नेताहरुले गुमाउँदै गए ।
यसैको परिणाम प्रचण्ड आज पनि पार्टीमा निर्णायक छन् र अन्य नेताहरू तदर्थ भूमिकामा देखिन्छन् । प्रचण्डले सार्वजनिक मञ्चबाटै आफूलाई नेतृत्व छाडेर किताब लेखेर बस्न रहर भए पनि वैकल्पिक नेतृत्व तयार नभएको बताइरहेका छन् । तर उनका अघि म नेतृत्व गर्छु भनेर हिम्मतसाथ बोल्ने नेता प्रचण्डको पार्टीमा अहिले कोही छैन ।
प्रचण्डसँगै जनयुद्धकालदेखि नेतृत्व पङ्क्तिमा रहेका मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्दसहितका नेताहरू अलग पार्टीमा पुगिसकेका छन् । यसरी प्रचण्डको पार्टीबाट अलग्गिएका नेताहरूका सैद्धान्तिक तर्कहरू एकातिर राख्ने हो भने उनीहरूमा प्रचण्डपछि नेतृत्वमा पुग्न सकिँदैन भन्ने मनोविज्ञानले पनि काम गरेको पाइन्छ ।
प्रचण्डले लामो समयदेखि पार्टी एकलौटी रुपमा सञ्चालन गरेको र निरन्तर प्रमुख नेताका रुपमा रहेको कुराको नेपालका सबैजसो राजनीतिक पार्टीले आलोचनाको विषय बन्ने गरेको छ । यसरी आलोचना गर्नेमा एमालेका नेताहरू पनि अग्र पङ्क्तिमा नै पर्ने गर्छन् । तर त्यही एमाले यति बेला व्यक्ति पूजा र ओलीभक्तिमा केन्द्रित हुन थालेको छ । तीन दिनसम्म चलेको एमालेको विधान महाधिवेशनले ओलीलाई त्यसरी नै अनुकूल अवस्था सिर्जना गरिदिएको छ ।
महाधिवेशनको तामझाम र बाटोदेखि हलसम्म ओलीका ठूलाठूला तस्बिर टाँगेर ओलीभक्तिभाव प्रकट गरिएका थिए । बाहिर जस्तो दृश्य देखिन्थ्यो भित्र पनि ओलीका लागि त्यस्तै अवस्था बन्नु स्वाभाविक थियो । तत्कालीन नेकपा कालमा पार्टीभित्र देखिएको विवादपछि नै ओलीलाई जसरी अघि ल्याइएको थियो, त्यसले यस्तै सङ्केत त्यसैबेला गरेको थियो ।
ओली राष्ट्रवादी नेता भएको ‘गुलियो भ्रम’ र उनका बेतुक र बिना प्रमाणका मीठा गफले पनि धेरै नेता कार्यकर्तालाई लट्ठ पर्ने गरेको देखिन्छ । ओलीका पछि रहेको ठुलो भीडका कारण पनि एमालेका नेताहरू उनी विरुद्ध ‘चुँ’ सम्म बोल्ने समेत हैसियत राख्दैनन् ।
ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पार्टीको आगामी ५ वर्षको नीति र विधान त पारित गरेको छ नै यसले अरु दुई काम पनि गरेको छ । त्यो भनेको पहिलो कुरा अध्यक्ष ओलीलाई अझै शक्तिशाली बनाउने गरी खाका तयार पारेको छ भने दोस्रो विगतमा माधवकुमार नेपाल समूहमा रहेर एमालेमै बसेका नेताहरूको राजनीतिक प्रतिवेदनमा रहेका विमतिलाई खारेज गरिदिएको छ ।
बरु ओलीले विगतदेखि जे भन्दै आएका थिए, त्यही अनुसार आएको प्रतिवेदन नै पारित भयो । यसबाट एमालेभित्र ‘ओलीवाद’ कति हाबी छ भन्ने प्रस्ट हुन्छ । विगतमा माधवकुमार नेपाल समूहमा रहेर ओलीका प्रवृत्तिको विरोध गर्ने नेताहरू पनि अब फेसबुक र ट्विटरमा स्ट्याटस लेखेर चित्त बुझाउनुपर्ने या ओलीमहात्यमा सामेल हुनुपर्ने अवस्थामा पुगेका छन् ।
यससँगै ओलीको राजनीतिक प्रतिवेदनमा रहेका प्रतिनिधिसभा विघटन, सर्वोच्चको फैसलाजस्ता विषयमा रहेका असहमति अब विगतमा माधवकुमार नेपालसँग रहेर एमालेमै बसेका नेताहरुले व्यक्त गर्न सक्नेछैनन् या त्यस्तो अवस्थामा अनुशासनको कारबाहीको घेरामा पर्नेछन् । अर्थात् यो महाधिवेशनले एमालेमा फरक मत राख्दै आएका उनीहरूको विचारलाई खारेज गरिदिएको छ र ओलीको अडानलाई आधिकारिक रुपमा संस्थागत गरिएको छ ।
महाधिवेशनले ओलीलाई एमालेको ‘रानीमौरी’ बनाउने र उनकै वरिपरि संगठन निर्माण गने भएको छ । पार्टीभित्र आफ्नो एकलौटी माहौल निर्माण गरेका ओलीले भने, ‘हामी एकताबद्ध भएनौँ र सबै नेता भएर बुरुक्क उफ्रियौँ भने जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छ ।’ उनले आफूलाई मूल नेताका रुपमा विश्वास गरिराख्न समेत कार्यकर्तालाई उनले अनुरोध गर्न भ्याए ।
विगतमा माओवादी पार्टीमा हरेक कार्यक्रम राखिएको ‘प्रचण्ड पथ’ र फोटोलाई ‘भित्ते राष्ट्रपति’ र माओवादी पार्टीका कार्यक्रम देखिएको नेता पुर्ने गरी प्रयोग गरिएको ‘माला संस्कृति’ को धुँवाधार विरोध गरेर स्थापित ओली नेतृत्व फोटो पूजालाई छोडेर ‘जिउँदै मूर्ति पूजा’ का लागि मूर्ति सयौँको संख्यामा राख्न लगाएर ओलीभक्तिभाव प्रकट गर्न लगाइयो भने ‘माला संस्कृति’ अभिन्न अंग बन्यो भने अघोषित ‘ओलीवाद’ को अभ्यास गरिएको छ ।
उनले भने, ‘मलाई एउटा आफ्नो अगुवाको रूपमा र एउटा साथीको रूपमा तपाईँहरूले जुन विश्वास दिनुभएको छ, एक थोपो पनि तलमाथि पर्न दिने छैन । देशको हितको विरुद्ध, जनताको हितको विरुद्ध, प्रगतिको विरुद्ध र पार्टीको हितको विरुद्ध एउटा पनि कदम मबाट चालिनेछैन ।’
विधान महाधिवेशनले पनि अब फेरि ओलीले पार्टी र तीनै तहको चुनावको नेतृत्व गर्ने निश्चित गरेको छ । उमेरले ७० वर्ष पुगेका ओलीले अब एक कार्यकाल अध्यक्ष हुने गरी विधान संशोधन गराएका छन् । विधानमा गरिएको व्याख्याअनुसार अब ७० वर्ष नपुग्दै कोही व्यक्ति निर्वाचित भएमा उसले उमेर हद काटे पनि आफ्नो पूर्ण कार्यकाल काम गर्न पाउनेछ ।
यससँगै ओलीलाई पार्टी अब पाँच वर्ष हाँक्न कसैले रोक्नेछैन । उनी अब फागुनमा ७० वर्ष पूरा हुने भए पनि नेतृत्व चयनका लागि एमालेको महाधिवेशन मङ्सिरमा नै हुनेछ । त्यसैले अध्यक्ष निर्वाचित भइसकेपछि उनले पछि हट्नुपर्ने छैन । ओलीको चाहनाअनुसार पदाधिकारी मात्रै रहने गरी सचिवालय गठन हुनेछ भने पोलिटब्युरो हटाइएको छ ।
ओलीलाई केन्द्रमा राखेर भइरहेका निर्णयमा कुनै नेताको फरक मत रहेन । प्रतिवेदनमाथिको छलफलमा समूह निर्माण गर्दा ओली निकटलाई टोली नेता बनाइएको थियो । सबै टोली नेता केन्द्रबाटै तोकिदा ओलीको प्रतिवेदनमा फरक विचार राख्ने नेताहरू निरीह सावित भए ।
एमालेमा संसद् विघटन, नेकपा र एमालेको विभाजन, सरकारको भूमिकाका विषयमा एकमत छैन । समूहगत छलफलमा पनि प्रतिनिधिहरूले अध्यक्ष ओलीलाई गरिएको देवत्व करण, संसद् विघटन गलत भएको र पार्टी सञ्चालन ठिक रुपमा नहुँदा विभाजनसम्म पुगेको धारणा राखेका थिए । तर त्यस्ता धारणाले हलमा कुनै स्थान पाएनन् ।
एमालेलाई करिब १५ वर्ष नेतृत्व प्रदान गरेका माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन हुँदा एमालेलाई सांगठनिक रूपमै पनि ठुलो क्षति भएको छ । विभाजनमा नेपाललाई साथ नदिए पनि एमालेमा फरक मत राखेर बसेका नेताहरू र तल्लो तहसम्म संघर्ष गरेका नेताहरू रहेका छन् । तर उनीहरूका धारणा महाधिवेशनको हलमा पुग्न दिइएन पा पाएन ।
जीवन्त कम्युनिस्ट पार्टीले आफ्नो विगतको समीक्षा पनि निर्ममतापूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्छ । तर एमालेले देशकै ठुलो कम्युनिस्ट पार्टी बनेर पनि नेकपा विभाजित हुन पुगेको, एमाले पनि एक रहन नसकेको, सरकार सञ्चालन चुस्त रुपमा हुन नसक्दा इतिहासकै बलियो कम्युनिस्ट सरकार पतन भएको र जनमत खण्डित भएको विषयमा कुनै समीक्षा हुन सकेन ।
बरु ओलीले विगतदेखि जे भन्दै आएका थिए, त्यही अनुसार आएको प्रतिवेदन नै पारित भयो । यसबाट एमालेभित्र ‘ओलीवाद’ कति हाबी छ भन्ने प्रस्ट हुन्छ । विगतमा माधवकुमार नेपाल समूहमा रहेर ओलीका प्रवृत्तिको विरोध गर्ने नेताहरू पनि अब फेसबुक र ट्विटरमा स्ट्याटस लेखेर चित्त बुझाउनुपर्ने या ओलीमहात्यमा सामेल हुनुपर्ने अवस्थामा पुगेका छन् ।
एमालेको अबको महाधिवेशनमा अध्यक्षमा ओली नै निर्विकल्प देखिएका छन् भने पदाधिकारीका अन्य पदमा मात्रै अब नेताहरूबिच प्रतिस्पर्धा हुनेछ । त्यसमापनि यसअघि दुई पटक कार्यकारी पदमा निर्वाचित भइसकेका नेताहरू स्वतः त्यो पदको प्रत्याशी हुन पाउने छैनन् । ओली अध्यक्षमा दोहोरिँदा अब एमालेका दोस्रो तहका नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेलसहितका नेताहरूको पार्टीको नेतृत्व शंकाकाे घेरामा परेको छ । अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा पनि अब ओलीको इच्छा विपरीतका कुनै उम्मेदवार हुने र विजयी हुने सम्भावना समाप्त हुने अवस्था एमालेको विधान महाधिवेशनले नै प्रस्ट पारेको छ ।