म नभए पनि...

म नभए पनि...

जुनू राना  |  साहित्य  |  कात्तिक ०६, २०७८

यो सुन्दर पृथ्वीमा
म नभएर के भो र
तिमी त हुने छौ नि
फूलहरू त फुलिरहने छन्
चराहरू त उडिरहने छन् ।

त्यो आकाश, ती घाम–जून
चम चम चम्किरहने तारामण्डल
यो धरती, यी पहाड, यी हरियाली
वेगवान् दगुरिरहने नदीहरू
कल कल गर्दै बगिरहने खोलाहरू
यी भुइँकुहिरा डुलिहिँड्ने गोरेटाहरू
शीतल पवनका स्पर्शहरू
सबै सबै उस्तै नै रहने छन् ।

म नभए पनि
साँझ उस्तै हुने छ
रात उस्तै हुने छ
बिहान उसरी नै आउने छ
उसरी नै
बजारका कफी शप खुल्ने छन्
सपिङ मल, सिनेमाघर, थिएटर
सारा कुरा नियमित चल्ने छन् ।

म नभए पनि
केही फरक पर्ने छैन
जस्तो-
सदाझैँ यात्रीहरू आउँछन्, जान्छनन्
प्लाटफर्मलाई फरक पर्दैन ।

म नभए पनि
सडकमा गाडीहरू गुडिरहेकै हुनेछन्
यात्रुहरू आहोर दोहोर गरिरहने छन्
सडकको छातीमा टेकेर को कहाँ पुग्छ
सडकलाई कुनै फरक पर्ने छैन ।

हो, म नहिँड्दैमा
यो सडकलाई कत्ति फरक पर्दैन
म नहुनुले यो पृथ्वीमा
कुनै फरक पर्दैन
यो दुनियाँलाई
म नहुनु वा नरहनुले कुनै फरक पर्दैन ।

– हङकङ