न्युज कारखाना | लोकरञ्जन | कात्तिक ११, २०७८
अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब २ महिनाअघि दीपक शर्माको शब्द र संगीतमा उनले ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् ।
गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।
‘हमाल दाइलाई आफूलाई अनुकूल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ’, गीतकार तथा संगीतकार दीपक शर्माले भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मनपराउनुभयो ।’
गीत मनपराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेछन् । ‘दाइसँग २ पटकको बसाइमा राम्रो प्राक्टिस भयो’, संगीतकार शर्माले भने, ‘२ पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल पक्रनुभयो । त्यसपछि गीत रेकर्ड गर्याैँ ।’
हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही संवाद बोलेका थिए ।
तर, त्यसलाई गीत मान्न सकिँदैन । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक-स्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ ।