लक्ष्मण शेष : उचाइमा पुगेका संगीतकर्मी, स्रष्टाका अधिकारका लागि लडिरहेका योद्धा

लक्ष्मण शेष : उचाइमा पुगेका संगीतकर्मी, स्रष्टाका अधिकारका लागि लडिरहेका योद्धा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कात्तिक १३, २०७८

लक्ष्मण बिडारीलाई वियोगी, विरही, प्यासी जस्ता नामका पछाडिका उपमाले तान्यो र उहाँ लक्ष्मण शेष हुनुभयो । 

यसका पछाडि पनि कारण छन् । लक्ष्मण शेषका अवतार पनि हुन् । र, उहाँलाई शून्य नहुने, नमेटिने केही न केही रहने कुराले आकर्षित गर्‍यो ।

यो आकर्षणले उहाँलाई यस्तै कर्म गर्न प्रेरित पनि गर्‍यो । संगीतकार त उहाँ हो नै, त्यसबाहेक स्रष्टाले आफ्नो सिर्जनाबाापत पाउनुपर्ने रोयल्टी अरू कोही टाठाबाठा बिचौलियाले खाएर स्रष्टा भने तातोपानी नपाएर मर्नुपर्ने अवस्थाले नराम्ररी घोच्यो । 

यस कारण आज उहाँ एउटा संगीतकर्मी भन्दा पनि रोयल्टी, प्रतिलिपी अधिकार र बौद्धिक सम्पत्ति संरक्षणका लागि लडिरहेको अभियन्ताका रूपमा धेरै परिचित हुनुहुन्छ । 

यसका लागि उहाँले राजनीतिक नेता, संसद, अदालत र अख्तियारमा समेत मुद्दा दायर गरेको अवस्था छ । र, अबको केही समयमा यसले सकारात्मक परिणाम ल्याउनेमा आशावादी भएर निरन्तर लागिरहनुभएको छ । 

परिवारिक अवस्था

उहाँका पिताजी हेटौँडा पिप्लेका नाम चलेका पण्डित हरिप्रसाद विडारी । पिताजी सदाचारी तथा शुद्ध ब्राह्मण । समाजमा कसैलाई केही दुःख, आपत, विपत्, झैझमेला वा विभिन्न क्रियाकलापमा समाजका मान्छेलाई केही समस्या पर्‍यो भने अन्तिम निर्णय भने ‘हरि गुरुसँग लिऔँ न त’ भनेर आदर गरेर हेरिन्थ्यो समाजमा । 

उहाँको पारिवारिक आर्थिक अवस्था निम्न मध्यम । त्यो यस कारण कि सेतो चामलको भात खान सधैँ रहरै रह्यो रे उहाँको परिवारमा ! 

कारण थियो, पिताजी जजमानी गर्ने अनि जजमानी गरेर ल्याएको चामलमा पूजाआजा गर्दै गर्दा अबीर, केशरी नमिसिएको हुने कुरै भएन । 

तैपनि, खान, लगाउन गाह्रो थिएन । खेतबारी पनि थियो । तर, त्यसले खान नपुगे पनि पिताजीको जजमानीले भरथेग गर्थ्यो । दक्षिणाले सन्तान पढाउन मद्दत गर्थ्यो । 

जन्म र बाल्यकाल

उहाँको जन्म मकवानपुर जिल्लाको पिप्लेमा भएको हो । साल भने २०२९ अनि माघ महिनाको २५ गते । सरस्वती पूजाको दिन । 

उहाँलाई गीत, संगीत कलाको क्षेत्रमा प्रवेश गर्नका लागि भगवान्ले यो पावन तिथि जुराएको उहाँको ठम्याइसमेत छ । 

उहाँका २ जना दिदी अनि ४ जना दाजुभाइ । उहाँ भने कान्छो छोरो । 

डण्डी-बियोे खेल्दै, परालको कुन्युमा लुकामारी खेल्दै, इँट्टाभट्टाको इँट्टाको चाङमा लुक्ने अनि अरूको बारीको आलु ल्याएर पोल्दै खाने आदि बाल्यकालका बदमासी गर्दै बितेको हो उहाँको बालापन । 

तर, उहाँमा एउटा पृथक् गुण थियो, त्यो के भने, सबै केटाकेटीलाई भेला पारेर समूह बनाएर उहाँले बाल क्लब गठन गर्नुभएको थियो । उहाँ सबैसँग २५ पैसासमेत उठाउनुहुन्थ्यो नयाँ कामका लागि । 

त्यो उठाएको पैसाले भकुण्डो किन्ने, नेट किन्ने, फुटबल ग्राउण्ड बनाउने, अन्य क्लबसँग म्याच खेल्ने आदि गर्नुहुन्थ्यो । उहाँ त्यसलाई जमघट गर्ने र एकताको भावका रूपमा अथ्र्याउनुहुन्छ । 

त्यस बेला ईश्वर खड्का भन्ने एक जना दाइले सुस्केरा क्लब बनाउनुभएको थियो । उहाँ भने सक्रिय सदस्यको रूपमा काम गर्नुहुन्थ्यो । 

२०४६ सालपछि भने उहाँहरूले म्युजिकल क्लब बनाउनुभयो । त्यसपछि आफ्नो सांगीतिक यात्रा सुरु भएको बताउनुहुन्छ लक्ष्मण । 

प्रारम्भिक शिक्षा 

उहाँको घर नजिकैको बालज्योति प्राविबाट प्रारम्भिक शिक्षा सुरु भएको हो । बस्नलाई डेस्क-बेञ्च नै थिए त्यस बेला । कक्षामा करिब २५ जना हुन्थे विद्यार्थी । 

छात्र र छात्राका छुट्टै बेञ्च हुन्थे । कोही केटो केटीको बेञ्चमा गएर बस्यो भने त्यसले कुटाइ खान्थ्यो । 

उहाँलाई के लाग्छ भने, कसैको पनि जिन्दगीको स्वर्णिम दिन भनेको एक कक्षादेखि ७ कक्षासम्मको समय हो । किनकि त्यस बेला दिमागमा कुनै दबाब हुँदैन, तनाव हुँदैन । खाली खेल्ने र खाने मात्र ध्याउन्न हुन्छ । 

मातापिताले खाना कहाँबाट ल्याउनुहुन्थ्यो, लगाउने कहाँबाट ल्याउनुहुन्थ्यो, खर्च कसरी व्यहोर्नुहुन्थ्यो, त्यससँग कुनै सरोकार नै हुँदैनथ्यो । 

मनमा कहिले उज्यालो हुन्छ र खेल्ने, कहिले साथीसँग भेट्ने अनि स्कुल जाने मात्र लाग्थ्यो रे उहाँलाई त्यस समयमा । 

७ कक्षापछि भने उहाँ सिद्धार्थ माविमा आउनुभयो पढ्नका लागि, हेटौँडा नगरपालिकासँगै । 

उहाँ भन्नुहुन्छ, ‘अब सीमित चेतना बृहत् हुन पुग्यो र दबाब अनि प्रतिस्पर्धा हुन थाल्यो । पढाइमा प्रतिस्पर्धा । खाजा खानेमा प्रतिस्पर्धा । सफा लुगामा प्रतिस्पर्धा । 

फेल होइएला भन्ने दबाब । घर टाढा भएका कारण बजारको खाजा किनेर खान सकिएन भने बेइज्जत हुन्छ भन्ने दबाब । त्यस समयबाट जिन्दगीमा एक प्रकारको दबाब हुन गएको महसुस गर्नुहुन्छ उहाँ । 

उहाँ पढ्ने स्कुल त्यस बेलाको हेटौँडामै एकदमै अनुशासनमा कहलिएको थियो । तर पनि उहाँहरू भने भागेर राप्तीमा पौडी खेल्न जानुहुन्थ्यो । 

उहाँहरू स्कुल ड्रेस झोलामा हालेर घरबाट ल्याएको ड्रेस लगाएर जानुहुन्थ्यो पौडी खेल्न । तर, सर भने खोलामा पनि आइपुग्ने अनि लठ्ठी हानेर स्कुलमा ल्याउने । उहाँका अनुसार सरले यतिसम्म गर्नुहुन्थ्यो कि सिनेमा हलमा टर्च बालेर आफ्नो विद्यार्थी खोजेर पिट्दै ल्याउनुहुन्थ्यो । 

प्रसूति गृहमा डाक्टरले उहाँलाई ‘तपाईंलाई के चाहिन्छ ?’ भन्दा उहाँले ‘छोरी’ भन्नुभयो रे ! डाक्टरले उहाँलाई ‘बधाई, तपाईं भाग्यमानी हुनुहुँदो रहेछ किनकि तपाईंकी छोरी भएकी छन्’ भनेको अझै सम्झना छ लक्ष्मणलाई । 

लक्ष्मण ९-१० कक्षा पढ्दा भने नक्कले भइसक्नुभएको थियो रे ! उहाँ गीत गाउने, कविता लेख्ने आदि गर्नुहुन्थ्यो भने रसिक पनि हुनुहुन्थ्यो । केटीहरूप्रतिको आकर्षण पनि बढिरहेको थियो । 

तर, उहाँ भन्न सक्नुहुन्नथ्यो । कताकता अनुशासित हुनुपर्छ भन्ने पनि थियो । त्यसैले मनमनै उहाँ आफ्नो भाव व्यक्त गर्नुहुन्थ्यो । 

कतिपय अवस्थामा प्रेम प्रकट गर्न नजान्दा उहाँले केटीको कुटाइ पनि खानुभएको छ । कतिले थुकेका पनि छन् । प्रेमका दृष्टिकोणले त्यस समय उहाँको पीडादायी नै रह्यो ।

उहाँ माविमा पढ्दा एउटा कक्षामा झण्डै ५० जना हुन्थे । छात्र-छात्राहरू लगभग बराबर । उहाँ भने अन्तिम बेञ्चमा बस्नुहुन्थ्यो । 

कहिलेकाहीँ झोँक चलेर पहिलो बेञ्चमा पनि बस्न जानुहुन्थ्यो । तर, प्रथम, द्वितीय हुनाले हेपाहा व्यवहार गरेपछि उहाँ फेरि पछाडिको बेञ्चमा जानुहुन्थ्यो बस्न । 

मनमा केवल साहित्य र संगीत भएका कारण उहाँको अंग्रेजी तथा गणित कमजोर थियो । 

उहाँले २०४६ सालमा एसएलसी पास गर्नुभएको हो । त्यस बेला एसएलसी दिने २०-२५ जना थिए । 

कलेज भने उहाँले मकवानपुर बहुमुखी क्याम्पसमा पढ्नुभयो । तर, पढाइ भने विविध कारणले अगाडि बढ्न सकेन । 

पहिलो जागिर

उहाँ १९ वर्षको उमेरमै जागिर हुनुभयो । हेटौँडा सिमेन्ट कारखानामा । त्यहाँ एक हजार ४०० जना मजदुर थिए । त्यसमध्ये सबैभन्दा सानो उहाँ । 

सानो भएका कारण सबैले माया गर्थे लक्ष्मणलाई । कवि भन्थे । कान्छो पनि भन्थे रे उहाँलाई । हेटौँडा सिमेन्टका सम्पूर्णको मायाले नै आफू आज संगीतकार लक्ष्मण शेष हुन सकेको उहाँ गर्वले बताउनुहुन्छ । 

उहाँको त्यसबेलाको तलब एक हजार ३५० रुपैयाँ थियो । पहिलो तलब एक हजार रुपैयाँ आमालाई दिनुभयो । बाँकी ३५० रुपैयाँको भने उहाँले कुल देवता, पितृ देवता अनि इष्ट देवता तथा भुटनदेवी मातालाई लड्डु चढाउनुभयो । 

उहाँले हेटौँडा सिमेन्टमा १० वर्ष काम गर्नुभयो- कहिले प्रशासन त कहिले लेखा फाँटमा । 

उहाँका अक्षर असाध्यै राम्रा थिए । चेकमा सही गरेको तथा कविता लेखेको देखेर कारखानाका महाप्रबन्धक तेजकान्त झाले ‘तिमी असाध्यै महत्त्वाकांक्षी मान्छे रहेछौ । तिमी काठमाडौं जाऊ र उतै रेडियो नेपालतिर गीत पनि गाऊ’ भनेर उहाँलाई शाखा कार्यालय थापाथली सरुवा गरिदिनुभयो । 

उहाँले ‘तिमीमा प्रतिभा छ । तिमी यो सानो हेटौँडामा सीमित भएर नबस । सानो पोखरीमा होइन, ठूलो तलाउमा हामफाल’ भनेर आशीर्वाद दिएर महाप्रबन्धक झाले उहाँलाई थापाथली पठाउनुभएको हो । ‘नत्र आजको लक्ष्मण शेष जन्मँदैनथ्यो होला’, उहाँले झा सरलाई यसरी सम्झनुभयो । 

हार्मोनियम, तबला बोकेर काठमाडौं

उहाँ हार्मोनियम, तबला, केही किताब, क्यासेट, दुईवटा सर्ट अनि दुईवटा पाइन्ट लिएर २०५० सालमा पहिलो पटक काठमाडौं आउनुभएको हो । 

हुनत त्यसभन्दा अघि सानोमा पनि नआउनुभएको त होइन तर त्यसको त्यति सम्झना छैन उहाँलाई । 

उहाँ कान्छो छोरो । कहिले भात नपकाएको । लुगा नधोएको । काठमाडांैमा कहाँ बस्छ, के खान्छ ? भनेर आमा बेस्मारी रुनुभयो । 

र, उहाँको सामान पनि खोस्नुभयो । अनि, ‘तँलाई जानु छ भने नाङ्गै जा, घरको केही सामान लान पाउँदैनस्’ भन्नुभयो’ उहाँलाई आमाले ।

‘मेरो सपना पूरा गर्नु थियो, त्यस कारण म भागेर आएँ’, उहाँ भन्नुहुन्छ । 

काठमाडौं आएको केही समय उहाँ दिदीको शरणमा जानुभयो । दिदीसँग एक-डेढ महिना बसेपछि उहाँ आफैँ डेरा लिएर बानेश्वरमा बस्न थाल्नुभयो । 

पहिलो २ वर्ष उहाँका एकदमै पीडादायी रहे । तलबले १५ दिन मात्र खान पुग्थ्यो । 

कोठा भाडा ८०० रुपैयाँ थियो । बाँकी ७०० रुपैयाँले १५ दिन पुग्थ्यो । बाँकी १५ दिन भने कहिले साथीकहाँ, कहिले कसकोमा घाँडो लागेरै टाँसिनुहुन्थ्यो । 

‘एकदमै भोक लाग्यो भने जोडिएको बिस्कुट र चिया खायो अनि २-४ दिन भात खाएर पुर्‍यायो’, उहाँ भन्नुहुन्छ ।

सिनेमाको लत

संजयबाबू ढकाल, मधु रूपाखेती भन्ने साथीले उहाँलाई सिनेमा हेर्ने लत नै लगाइदिए ।

त्यो कसरी भने, उहाँहरू फिल्म हेरेर आउने अनि उहाँसँग फिल्मका कुरा गर्ने । कहानी भन्ने ।

हिरोले यसो गर्‍यो, उसो गर्‍यो भन्ने । हिरोइनले यसो गरी भन्ने । त्यसले उहाँलाई यो फिल्म भन्ने कस्तो होला भन्ने उत्सुकता जगाइदियो । 

आमाको काखमा हुँदा उहाँले ‘वीर भीमसेन’ भन्ने फिल्म हेर्नुभएको रहेछ । त्यस बेलाको सम्झना नै अहिलेसम्म के रहन्छ र ? तर, लागेको लतले उहाँलाई पिताजीले ल्याएको दक्षिणा चोर्ने बनायो । 

एक रुपैयाँ चोर्‍यो । ५० पैसाको भुजा लड्डु खायो, पोलेको मकै खायो अनि घर आयो । 

एक दिन पिताजीले थाहा पाएर भर्‍याङमा बाँधेर नराम्रोसँग रामधुलाई गर्नुभयो । त्यसपछि पिताजीको पैसा चोर्न बन्द भयो । 

उहाँका दाजु एकदमै उपन्यास पढ्ने । उहाँ भने ती उपन्यास बेचेर फिल्म हेर्न जाने । यो कुरा दाजुले पनि थाहा पाएपछि फेरि उहाँका करङ गनिए । 

अब भने उहाँ फिल्म हेर्ने पैसा जुटाउन पिताजीसँग होम, रुद्री लगाउँदा सँगै जान थाल्नुभयो । 

‘सानो गुरु’ भनेर उहाँलाई पनि टीका लगाएर पैसा दिन्थे । उहाँ त्यो दक्षिणा लिएर फिल्म हेर्न जान थाल्नुभयो । 

अब उहाँलाई फिल्ममा देखिएका प्रेम प्रसंगले तान्न थाले । शोले, शक्ति, मुकद्दरका सिकन्दर जस्ता हिन्दी फिल्मले उहाँलाई ताने । 

त्यसपछि उहाँले स्कुलमा पढ्ने एउटी युवतीलाई मनपराउन थाल्नुभयो । ‘त्यो कस्तो खालको प्रेम थियो भने, हेर्दा कान तातो हुने, गाला रातो हुने । गोडा भासिएको जस्तो हुने । हेर्न पनि नसक्ने । त्यो प्रेम मनमा थियो र मनमनै हराएर गयो’, भन्नुहुन्छ उहाँ । 

साहित्य चेत

आफूमा साहित्यको चेत सानैदेखि रहेको बताउनुहुन्छ लक्ष्मण । उहाँले ६ कक्षामा पढ्दा नै कविता लेखेर जिल्लामा प्रथम हुनुभएको रहेछ । यो २०४२ सालको कुरा हो । र, त्यसको प्रमाणपत्र हालसम्म पनि आफूसँग सुरक्षित रहेको बताउनुहुन्छ उहाँ । 

त्यसपछि उहाँलाई मकवानपुर जिल्लामा हुने हरेक साहित्यिक कार्यक्रममा बालकविका रूपमा बोलाउन थालियो । 

कलेज, स्कुल र क्लबमा हुने कार्यक्रममा उहाँलाई ‘कविता भन्देऊ’ भन्न थालियो अब । यसले एक प्रकारको उत्साह तथा दबाब पनि थपियो लक्ष्मणमा । 

अब उहाँले जबर्जस्ती कविता लेख्न थाल्नुभयो । यसले ‘म त कवि हो, समाजको ठूलो मान्छे, सम्मानित मान्छे’ भन्ने आभास गरायो र अनुशासित पनि बनायो भन्नुहुन्छ उहाँ । 

अब नराम्रो बोल्नुहुँदैन, नराम्रो खानुहुँदैन, नराम्रो गर्नुहुँदैन भन्ने भयो उहाँलाई । त्यसबेला उहाँले रामायण, महाभारतदेखि पिताजी तथा मामाका दराजका किताब पनि सबै पढेर सक्नुभयो ।

उहाँ त्यस बेला अनुष्टुप, मन्दाक्रान्ता, शिखरिणी जस्ता १६ वटा छन्दमा कविता वाचनसमेत गर्नुहुन्थ्यो रे !
 
वाचन गर्दा उहाँको स्वर मिठो भएर उहाँलाई ‘तिमी गीत किन गाउँदैनौ ?’ भन्न थाले साथीभाइ र आफन्तले । त्यसपछि उहाँ अब रेडियोको अगाडि बस्न थाल्नुभयो । 

रेडियोमा आएका सबै गीत टिप्न थाल्नुभयो उहाँले । एउटा गीत पूरा हुन ३ पटक प्रसारण हुनुपर्थ्यो । एकै पटकमा टिप्न भ्याइँदैनथ्यो । 

एक पटक स्थायी अनि अर्को पटक अन्तरा लेख्दै गीत पूरा गर्नुहुन्थ्यो । यसरी गीत टिप्दै जाँदा उहाँलाई प्रायः सबै गीत कण्ठ भए । 

त्यसपछि उहाँले मामासँग सारेगम सिक्न थाल्नुभयो । उहाँका मामा भजन गाउनुहुन्थ्यो, हार्मोनियम बजाएर । 

उस्ताद भोला जोशी, भीम विराग तथा ईश्वर खड्कासँग उहाँको संगत हुन थाल्यो । 

उहाँलाई मामाले एउटा हार्मोनियम पनि उपहार दिनुभयो । अरूका गीत मात्र कति गाउने भनेर आफ्नै गीत बनाएर उहाँ रेडियो नेपालमा प्रतिस्पर्धामा आउनुभयो । 

संगीततर्फको यात्रा

काठमाडौंमा रहँदा उहाँलाई उही पुरानो साथी मधु रूपाखेतीले साथी संजय ढकालसँग भेट गराइदिनुभयो । ढकालको त्यस बेलासम्म सिनेमा उद्योगमा राम्रै नाम भइसकेको थियो । 

उहाँ त्यस बेला प्रोडक्सन म्यानेजर भइसक्नुभएको रहेछ । नेपालका चर्चित अभिनेता तथा अभिनेत्रीलाई काम दिने स्तरमा पुगिसक्नुभएको रहेछ ढकाल । 

राजेश हमाल, भुवन केसीलगायत अन्य चर्चित नायक/नायिकासँग उहाँको उठबस र काम हुने रहेछ । 

ढकालले ‘तँ के गर्न आ’को ?’ भनेर सोध्दा उहाँले ‘गीत गाउन आएको’ भन्नुभयो ।

‘खुब गाइस् गीत !’, ढकालले भन्नुभयो । 

उहाँलाई ‘ल, तेरो गीत सुना त !’ भनेपछि उहाँले आफूले लेखेका गीतहरूमध्ये कण्ठ भएका गीत सुनाउनुभयो ।

‘तँ त खुब राम्रो गीत लेख्दो रछस् त !’, लक्ष्मणका गीत सुनेपछि ढकालको प्रतिक्रिया थियो । 

त्यसपछि ढकालले बनाउँदै गरेको फिल्म ‘सिन्दुर-पोते’मा उहाँलाई ब्रेक दिएर एकै पटक संगीत गर्ने अवसर दिनुभयो । 

उहाँका गीतहरू उदित नारायणले मुम्बईमा रेकर्ड गर्नुभएको हो । त्यस बेला उदित नारायणले ‘यस्तो राम्रो गर्ने को मान्छे आयो नेपालमा ?’ भनेर धेरै नेपालका धेरै फिल्म निर्माताहरूलाई लक्ष्मणको नाम सिफारिस गरिदिनुभयो । 

पहिले हेटौँडामा हुँदाको सुस्केरा क्लबमा उहाँले ६ वर्ष लगातार बिहानदेखि बेलुकासम्म संगीतको अभ्यास गर्नुभएको थियो । यसले उहाँलाई संगीतकार बन्ने न्यूनतम योग्यता दिलाएको रहेछ । 

सुस्केरा क्लबका मनोहर श्रेष्ठ, शैलेश, राम कार्की, यादव, अनिल पाण्डे, केशव राई, शंकर, रविन, राजेश आदि साथीको समूह रात-दिन खट्थ्यो । 

६ वर्षको शैलेश तथा उहाँको कोठामा निरन्तर यस समूहको अभ्यास चलिरह्यो । यो खटाइले उहाँलाई सुर, ताल तथा लयका बारेमा राम्रै जानकारी दियो । 

उहाँ कवि पनि, त्यसपछि उहाँले आफ्नै गीतहरू बनाउन थाल्नुभयो । उहाँका गीतहरू ढकालले मनपराएर ५ वटै गीतहरू ‘सिन्दूर-पोते’ फिल्ममा राख्नुभयो । 

तर, उक्त फिल्म त्यति चलेन । उहाँका गीतहरू भने ‘सुपरहिट’ भए । ‘नघुमाऊ नजर, नहेर कर्केर, नबोल है मायाले ओर्केर फर्केर’, ‘मिठो बोलीमा, परदेशी लोभिन्छ नीलो चोलीमा’ भन्ने गीत एकदमै चर्चित भए । 

‘पाउजुको छमछम’, ‘मनै रहेछ’, ‘सुख पनि जिन्दगी’, ‘आँखैले हेर्‍यो लौ न’ भन्ने ५ वटै ‘आफन्त’ फिल्मका गीत पनि चर्चित भए । त्यसपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उहाँलाई दर्जनौँ फिल्ममा संगीतका लागि प्रस्ताव आउन थाले । 

उहाँले आजसम्म झण्डै १०० वटा फिल्ममा संगीत गरिसक्नुभएको छ । यो श्रेय उहाँ संजयबाबू ढकाललाई दिन चाहनुहुन्छ । उहाँले ढकालको आफू सधैँ ऋणी भएको र ढकालप्रति आभारी भएको पनि बताउन भुल्नुभएन । 

उहाँले महाकवि देवकोटाको कृति ‘मुनामदन’मा पनि संगीत गर्ने अवसर पाउनुभयो । ९ वटा गीतमध्ये ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?’ भन्ने गीत भने श्रद्धेय संगीतकार चन्द्रराज शर्मालाई उहाँले संगीत गर्न दिनुभयो ।

त्यस गीतको गरिमा र त्यसको ओजस्वीपनले उहाँले त्यसमा आफ्ना हातका औँला चलाउनुभएन । र, चन्द्रराज शर्माको संगीत तथा नारायण गोपालले त्यसमा आवाज दिएर त्यसलाई अमर बनाउनुभएको छ । 

बाँकी ८ वटा गीतमा भने उहाँले संगीत गर्नुभयो । तर, दुर्भाग्य, ती गीतहरू बजारमा आएनन् । निर्माताले ती गीतलाई बजारमा नै ल्याउनुभएन । त्यसको कारण त थाहा भएन उहाँलाई । 

ती गीतहरू सिनेमा हल तथा सिनेमामा सीमित भए । निर्माताले गीत सुन्न हलमा नै जानुपर्छ भन्ने अवधारणा बनाउनुभयो । तर, त्यसको असर भने उहाँलाई पर्‍यो । 

त्यसको असर वरिष्ठ गीतकार कालीप्रसाद रिजालदेखि अन्यलाई पनि पर्‍यो भन्नुहुन्छ उहाँ । त्यसले उहाँलाई ‘मैले मुनामदनमा संगीत गरेको छु’ भन्न पनि कस्तोकस्तो लागेको सुनाउनुहुन्छ ।

अहिले पनि युट्युबमा उक्त फिल्म हेर्न पाइन्छ र उहाँको संगीत सुन्न पाइन्छ । तर, अन्य माध्यममा भने ती गीत, संगीत बजारमा भने आएनन् । 

उहाँले झण्डै एक दर्जन चलचित्रका गीत मुम्बईमा गएर रेकर्डिङ गर्नुभयो । तर, विविध कारणले ती गीतहरू बजारमा आउन सकेनन् । 

त्यसमध्ये सुशील चौलागाईंको ‘उपहार’ फिल्मको गीत अत्यन्त लोकप्रिय भएका कारण उहाँले सन् २००४ को वर्षको सर्वोत्कृष्ट संगीतकारको पुरस्कार पनि पाउनुभयो । 

गीत भोला रिजालले लेख्नुभएको अनि उदित नारायणले गाउनुभएको थियो । 

उहाँले १०० वटा फिल्म, ५० भन्दा बढी टेलिफिल्म तथा ५०० भन्दा धेरै फुटकर गीतमा संगीत गर्नुभएको छ । एउटा फिल्मको संगीत गर्न झण्डै ३ महिनाको समय लाग्ने बताउनुहुन्छ उहाँ । 

लक्ष्मणले उहाँको पहिलो गीतदेखि आजका मितिसम्मका गीतका रफ ट्र्याकसमेत लाइब्रेरी बनाएर आर्काइभ बनाएर ‘डिजिटल्ली’ राख्नुभएको छ । 

सायद उहाँ मात्र त्यस्तो संगीतकार हो, जसले आफ्ना हरेक गीतको आर्काइभ बनाएर राखेको छ । उहाँले आफूले पाएका सबै सम्मान तथा पुरस्कार पनि व्यवस्थित र सुरक्षित तवरले राख्नुभएको छ ।

भोलि ‘लक्ष्मण शेषले के गर्‍यो त ?’ भनेर भन्दा देखाउन सकियोस् भनेर उहाँले सप्रमाण आफ्ना कामहरू राख्नुभएको छ । 

विवाह

उहाँको विवाह २०५६ सालमा भएको हो । उहाँको सन्तानका रूपमा १ जना छोरी हुनुहुन्छ ।

उहाँ तथा श्रीमतीले पनि एउटा मात्र सन्तान जन्माउने सल्लाह गर्नुभएको थियो । 

प्रसूति गृहमा डाक्टरले उहाँलाई ‘तपाईंलाई के चाहिन्छ ?’ भन्दा उहाँले ‘छोरी’ भन्नुभयो रे ! डाक्टरले उहाँलाई ‘बधाई, तपाईं भाग्यमानी हुनुहुँदो रहेछ किनकि तपाईंकी छोरी भएकी छन्’ भनेको अझै सम्झना छ लक्ष्मणलाई । 

उहाँले छोरी भएको खुसियालीमा अस्पतालमा पैसा तथा लड्डु बाँड्नुभयो । त्यो देखेर डाक्टर पनि अचम्भित भए । छोरी पाएर यति खुसी भएर पैसा तथा लड्डु बाँड्दा उहाँलाई बेवकुफ भन्ने पनि निस्किए । 

‘हाम्रो समाज अहिले पनि छोरामुखी छ । मुखले एकथरि तथा व्यवहारले अर्कोथरि गर्छन्’, लक्ष्मणको गुनासो छ । 

उहाँकी छोरी अहिले स्नातक सकेर उच्चशिक्षाका लागि क्यानाडा जाने तयारीमा हुनुहुन्छ । 

आफ्नै स्टुडियो 

उहाँलाई गीत रेकर्डिङका क्रममा मुम्बईमा पैसा खर्च भएको देखेर चित्त दुख्यो । र, उहाँले नेपालमा नै किन स्टुडियो नबनाउने भनेर २०५९ सालमा पुतलीसडकमा ‘आवर’ नाम गरेको रेकर्डिङ स्टुडियो खोल्नुभयो । 

करिब १० वर्ष अर्थात् २०६९ सालसम्म उहाँ निरन्तर स्टुडियो स्थापित गर्नतिर लाग्नुभयो । 

धेरै समय स्टुडियोलाई दिनुपरेका कारण सिनेमामा संगीत गर्ने क्रम उहाँको घट्दै गयो । यसले उहाँको क्यारियर ओरालो लाग्न थाल्यो । 

गीत संगीत गर्न र रेकर्ड गर्न आएको मान्छेलाई ‘तिमीले पैसा कहाँबाट ल्याएको ? यसको स्रोत के हो ? यो पैसा माया मार्न सक्छौ ? होइन भने रेकर्ड नगर’ भनेर उहाँले कतिपय मान्छेलाई फर्काइदिनुभएको समेत छ । 

२०६० सालमा आएपछि देशमा राजनीतिक माहोल बिग्रियो । २०६२/०६३ सालमा आइपुग्दा मनोरञ्जन व्यवसाय ठप्प भयो । 

उहाँको लगानी सबै डुब्यो । अब समाज बदल्ने सबैभन्दा ठूलो अस्त्र राजनीति रहेछ भनेर उहाँ क्रान्तिकारी तथा प्रगतिशील राजनीतितिर लाग्नुभयो । 

४-५ वर्ष राजनीतिमा लागेपछि उहाँको सांगीतिक क्यारियर ठप्प जस्तो भयो । उहाँलाई सिनेमामा संगीत गर्न दिन छाडियो । 

कारण थियो- उहाँ अन्याय र अधिकारका कुरा गर्नतिर लाग्नुभयो । निर्मातामाथि भएको अन्याय, गीतकार, संगीतकार, निर्देशकमाथि भएको अन्यायका विरुद्धमा दह्रोसँग उभिएर उहाँले नेतृत्व नै गर्नुभयो । 

उहाँले अन्याय गर्ने हलहरूमा ताल्चा लगाउन थाल्नुभयो । त्यस्ता अन्याय गर्ने व्यक्तिलाई बोलाएर प्रश्न गर्न थाल्नुभयो ।  

उहाँले नेपाली सिनेमालाई हेला गर्ने र विदेशी सिनेमालाई माया गर्ने वितरकका विरुद्ध अभियान नै छेड्नुभयो र आन्दोलन नै गर्नुभयो । 

यसले गर्दा सिनेमा उद्योगमा बोलवाला रहेका वितरकले उहाँलाई संगीत गर्न दिन छाडे । त्यसपछि उहाँको क्यारियरले कोल्टो फेरेर उहाँ नेता हुन पुग्नुभयो ।

तर, सिनेमा तथा संगीत क्षेत्रका मानिसले नै शोषक तथा अन्याय गर्ने वितरकको समर्थन लागेको देखेपछि उहाँको अभियान शिथिल भयो । 

त्यसपछि उहाँ संगीतकार संघको अध्यक्ष हुनुभयो । उहाँले अब गीत, संगीतको मात्र कुरा गर्न थाल्नुभयो । 

२०७१ सालदेखि २०७५ सालसम्मको ४ वर्ष भने उहाँ आफ्नो जीवनको महत्त्वपूर्ण समय रहेको ठान्नुहुन्छ । त्यस समयमा उहाँले नेपाली गीत, संगीतको क्षेत्रमा नयाँनयाँ योजना तथा प्रतिवद्धताहरू ल्याउन थाल्नुभयो । 

उहाँ संगीत क्षेत्रका सीमित सिण्डिकेट तथा बदमासका विरुद्ध मुठ्ठीभर शोषकहरूका विरुद्ध तमाम संगीतकर्मीहरूको अधिकारका लागि संविधानमा मौलिक हक लेखाउनतिर लाग्नुभएको छ । 

यसका लागि कानुनमा सशोधन तथा संसदमा गएर बोल्ने, मन्त्री तथा सभासद्हरूसँग छलफल गर्ने, सडकमा आन्दोलन गर्नेदेखि लिएर संचार माध्यममा समेत सचेतनाको कार्यक्रम गर्नुभयो उहाँले । 

यस कारण आज उहाँलाई रोयल्टी, प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति संरक्षणको अभियानमा प्रमुख अभियन्ताको रूपमा सम्बोधन गर्ने गर्छन् । 

स्रष्टाहरूलाई कल्याणकारी कोष बनाउनेदेखि संगीत आश्रम बनाउनेसम्मका उहाँका अभियान अहिले पनि जारी छन् । 

यसै विषयलाई लिएर उहाँले ४ वटा मुद्दासमेत दर्ता गर्नुभएको छ भने अख्तियारमा पनि मुद्दा हाल्नुभएको छ । 

अन्यायविरुद्धको लडाइँ

उहाँ भन्नुहुन्छ, ‘सम्मान अनि पुरस्कार त कतिपय स्रष्टाको कोठाकोठामा गोदाम देखेको छु । तर, उनीहरू जस्तो अमर स्रष्टा औषधि गर्न नसकेर थला परेका छन् ।’

स्रष्टासँग तातोपानी खाने पैसा छैन । अस्पतालमा भर्ना भएपछि औषधि गर्ने पैसा छैन । मृत्युपछि आर्यघाटमा जलाउने पैसा छैन । यो अन्याय भयो भनेर यसका लागि उहाँले एउटा अभियान नै संचालन गर्नुभयो । 

‘हजारौँ गीत बनाइसकेका स्रष्टाले करोडौँ रुपैयाँ रोयल्टी पाउनुपर्ने अवस्था हो । तर, उहाँहरूले एक रुपैयाँ पनि पाइरहनु भएको छैन’, लक्ष्मण भन्नुहुन्छ ।

यस्तो रोयल्टी केही मुठ्ठीभर मानिसले खाइरहेको अवस्था छ । विश्वका ५०० भन्दा धेरै ठाउँबाट प्राप्त डलर तथा पाउण्डमा प्राप्त हुने रोयल्टी उनीहरूले लाइसेन्स लिएर ठेकेदारी गरेर खाइरहेका लक्ष्मणको आरोप छ ।

‘गुगल, युट्युबलगायतका सामाजिक संजालमा प्रत्यक्ष गएर लाइसेन्सिङ गरेर स्रष्टाको सबै अधिकार लुकेर खाइरहेको अवस्था हो’, लक्ष्मण भन्नुहुन्छ ।
 
उहाँले पछिल्लो ३-४ वर्ष त्यसको अध्ययन गर्ने, आईटीका इन्जिनियरहरूलाई राखेर सबै प्रमाण बटुल्ने काम गर्नुभयो । 

र, यी सबै प्रमाण राखेर सरकारमा, संसद्मा, न्यायालयमा, अख्तियारमा मुद्धा र उजुरी दर्ता गरेको अवस्था हो अहिले । यसको परिणाम यस वर्षभित्रै आउनेमा उहाँ ढुक्क हुनुहुन्छ । 

यदि परिणाम आउने हो भने हरेक स्रष्टाले आफ्नो गीत, संगीत संसारको कुन ठाउँमा बज्यो र त्यसबापत कति रोयल्टी आयो भनेर मोबाइलमा हेर्न सक्छन् । 

यसका लागि आफू रात-दिन खटिरहेको पनि उहाँले बताउनुभयो । यस काममा लागेपछि उहाँलाई करोडौँ रुपैयाँका प्रलोभन आएका छन् । ज्यान मार्नेसम्मका धम्की पनि आएका छन् । 

तर, आफू लोभीपापी नभएको, निष्ठा र सत्यमा विश्वास गर्ने कारणले लोभ तथा डर नभएर अहिलेसम्म टिक्न सकेको लक्ष्मण बताउनुहुन्छ । 

उहाँको ‘सांस्कृतिक ग्राम नेपाल’ भन्ने एउटा सपना रहेछ, जहाँ नेपालका १२९ जातिको सानोसानो एकीकृत बस्ती होेस् । सबैका धर्म, संस्कृति, परंपरा, वेशभूषा, भाष, गीत, संगीत, साहित्य तथा इतिहास भौतिक रूपमा र डिजिटल्ली पनि संरक्षण होस्, जसको अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार पनि होस् । 

यसका लागि उहाँले प्रस्ताव बनाएर साँखु नगरपालिकामा पेस गरेकामा नगरपालिकाको पूर्ण बहुमतबाट पास पनि भइसकेको छ । 

यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएर जाओस् भनेर उहाँले राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैसँग प्रस्ताव गर्नुभएको छ । 

यो आयोजना सफल भएर नेपालको अमूल्य निधिको रूपमा रहेको परंपरा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा बेच्न सकियो भने यसले नेपालको अर्थतन्त्रमा केही प्रतिशत भए पनि योगदान हुन सक्थ्यो भन्ने उहाँको इच्छा रहेछ । 

मान, सम्मान तथा पुरस्कार 

उहाँका दर्जनौँ मान, सम्मान तथा पुरस्कारका चाङ छन् । बायोडाटा निकै लामो छ । तर, उहाँ स्रष्टालाई मान, सम्मान तथा पुरस्कार भन्दा पनि अधिकार चाहिने बताउनुहुन्छ । 

स्रष्टाको सिर्जनाको, उसको बौद्धिक सम्पत्तिको एकएक पैसा न्यायोचित रूपमा प्राप्त गने र बौद्धिक सम्पत्तिमाथि मौलिक हक एकदमै महत्त्वपूर्ण हुने उहाँको ठहर छ । यसैका लागि आफ्नो यो लडाइँ जारी रहेको पनि उहाँले बताउनुभयो ।