सुरेश हाचेकाली | साहित्य | कात्तिक १२, २०७८
इन्द्रेणी
जहाँ
महान् सौन्दर्यका लागि
रङहरू रङसहिष्णुतामा बाँच्छन्
र घच्चा लगाउँदैनन्
जिजीविषाका कल्कलाउँदा गीतहरूमाथि
यो क्षितिजदेखि
दृष्टिभन्दा परको क्षितिजसम्म
टाँगिएको छ
कुनै अदृष्य कलाकारको हातले
इन्दे्रणीको सप्तरङ्गी माला
जसभित्र अटाउँछन्
सृजनाका स्वर्णिम तरेलीहरू
तल,
जलिरहेछन् अविराम
फूल, वनपात,मन्दिर,
लालाबाला,
हजारौं गाउँहरू,
डाँडामाथिका घामजून
र अगरबत्ती जस्तो मग्मगाउँदो माटो
अग्नि उत्सवबाट निस्किएको
धुँवाको कुइरीमण्डलभित्र
क्रमशः पुरिदै जान्छन्
इन्द्रेणी
र नखुम्चिएको रूमालजस्तो नीलो आकाश
घामपानी परेको बेला
देख्छु इन्दे्रणीभरि
घामको निःशुल्क लालिमा
र मनग्गे रङहरू
जसभित्र लुकेका छन्
माटोका प्रतीकात्मक सपना
र गीतका
लेख्न बाँकी लयात्मक अन्तराहरू
इन्द्रेणी,
रङहरूको माला
जसमा
एक रङले अपमान गर्दैन अर्को रङलाई
म टाङ्न चाहन्छु
इन्दे्रणीको रङ्गीन माला
जुनारको बगैंँचा
किम्बुबारी
र अलैंची बगानभरि
इन्द्रेणी,
जहाँ
महान सौन्दर्यका लागि
रङहरू रङ सहिष्णुतामा बाँच्छन्
र घच्च लगाउँदैनन्
जिजीविषाका कल्कलाउँदा गीतहरूमाथि ।