घनेन्द्र ओझा | साहित्य | कात्तिक १३, २०७८
कसले खनेको हो यो बाटो ?
रोप्यो कसले यी गमलामा
-यति सुन्दर फूलहरू ?
को हो मालिक यसको ?
छ कोसँग यस जमिनको धनीपुर्जा ?
कति श्रमिक हातहरूले
बिराए होलान् यो सुन्दर फाँट
कति मुलायम हातहरूले
सुमसुम्याए होलान् यी हिमाल र पहाड
रगत-पसिना कति चुहिए होला
यो पवित्र माटोमा !
अमरसिंह, भक्ति, बलभद्रहरू
पृथ्वी, भीमसेन, बहादुरहरू
कालु पाँडे र जंगबहादुरहरू
के सोच्दा हुन्
सुनेर यो माटोको चित्कार !
बुद्धले रोपेको शान्तिको बीज
भृकुटीले बाँडेको सद्भाव
अरनिकोले कुँदेको साँस्कृतिक सभ्यता
जनकले फैलाएको धार्मिक सहिष्णुता
सबैसबै लज्जित छन् अहिले ।
भ्रातृत्वको/मानवीयताको/प्रेमको
सद्भाव/सहयोग र सम्मानको
हराएको छ अस्तित्व
-धर्मका नाममारदेशका नाममारजातका नाममा
र, विस्तारै बन्दै छ मान्छे
-एकाङ्गी/स्वार्थी/ अमानवीय र अपराधी ।
सुँघेर एक फाँको माटोको वास्ना
भन्दै छ देशभक्त
एउटा दुखी नागरिक
(जो रैतीभन्दा माथि उठ्न सकेको छैन अझै)
- 'माटो जीवन हो, मलाई माटो प्यारो छ ।'
सँगैमा
सत्ताको घुम्ने कुर्सीमा बसेर
टेलिभिजनका पर्दामा
ठूलठूला 'राष्ट्रवाद' र 'राष्ट्रियता'का
आदर्श गफ दिइरहेको छ
- कृपणी शासक ।
दुखी जीवनको
मेलो सोझ्याउन परदेशिएका
वीरवहादुर, हर्कबहादुर
यस्ता धेरै बहादुर, नाथ, राज
सिंह वा कुमार र प्रसादहरू
चुटिएर दिनरात
आगो जस्तो मरुभूमिमा
ह्वारह्वारी पठाइरहेका छन् रेमिट्यान्स
- बूढा बाआमाका चाउरिएका गालामा खुसी भर्न
- ठाउँठाउँमा च्यातिएका
प्रेयसीका चोली र गुन्यु फेर्न
- उधारिएको घरको छानो टाल्न ।
तर, मेरो देश
देख्दैन यी सबै
मेरो शासक
सुन्दैन यो सबै
गजधम्म बसेर कुर्सीमा
आदेश फलाक्छ बरु
- 'देशसँग माग्ने होइन, दिने हो देशलाई ।'
भनिदिनुहोस् न कसैले
- मेरा निम्ति माखो नमार्ने यो देशलाई
के दिऊँ अब मैले ?