प्रदेश १ मा राई मुख्यमन्त्री :आचार्य हटेसँगै ठुलो दल एमालेका सत्ता स्थानीय सरकारमा सीमित !

लोकसंवाद टिप्पणी

प्रदेश १ मा राई मुख्यमन्त्री :आचार्य हटेसँगै ठुलो दल एमालेका सत्ता स्थानीय सरकारमा सीमित !

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक १५, २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै छन् । विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेशसभामा अल्पमतमा रहेका आचार्यविरुद्ध मतदान गर्ने निर्णय गरिसकेकाले उनले विश्वासको मत पाउने सम्भावना न्युन छ ।

योसँगै गण्डकी प्रदेशबाट सुरु भएको एमालेको प्रदेश सरकार ढल्ने क्रम प्रदेश १ मा आएर सम्पन्न हुँदै छ । गत निर्वाचनबाट देशकै सबैभन्दा ठुलो दल बनेर ७ प्रदेशमध्ये ४ प्रदेशमा सरकारको नेतृत्व एमालेले गरेको थियो । तर एमाले र माओवादी केन्द्रको एकता भंग हुनु र एमालेभित्र आन्तरिक विवाद व्यवस्थापन नभई पार्टी विभाजित भएका कारण एमालेले आफ्नो एकल बहुमत रहेको लुम्बिनी,  बाग्मती  पछि  प्रदेश १ सरकारको  नेतृत्व गुमाउने अवस्थामा पुगेकाे हो  ।

यसअघि कर्णालीमा एमालेको एकल बहुमत भएर पनि माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेकै चार प्रदेशसभा सदस्यको साथ पाएर विश्वासको मत पाउन सफल भएका थिए । अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले अभूतपूर्व मत दिए पनि संघीय सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीको हठका कारण केन्द्रसँगै प्रदेशका सरकारको नेतृत्वबाट समेत एमाले एक पछि अर्काे गरेर हट्नुपर्ने अवस्था सिर्जना भएको हो ।

गण्डकीपछि लुम्बिनी र बागमतीमा सरकारको नेतृत्व गुमाएको एमालेले आज प्रदेश १ मा पनि नेतृत्व गुमाएपछि एमाले सबैभन्दा धेरै जनमत पाएर पनि अब आगामी निर्वाचनसम्मको बाँकी अवधिमा प्रतिपक्षीका रुपमा रहनेछ । रोचक प्रसंग नै मान्नुपर्छ, माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले प्रदेशसभामा धेरै सिट नहुँदा पनि सरकारको नेतृत्वमा हत्याउन सफल भइ रहेका छन्  ।

मुख्यमन्त्री आचार्यको एक साता सत्ताको बसाई लम्बियो । अब भने कांग्रेसको कोइराला पक्ष आलोपालोमा मुख्यमन्त्री भन्ने एजेन्डाबाट पछि हटिसकेको छ । सोही कारण आजको प्रदेशसभाबाट आचार्यले विश्वासको मत नपाउने र राई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । 

एमाले अध्यक्ष केपी ओलीले सत्तामा हुँदा २–२ पटक प्रतिनिधिसभा विघटन गरे भने सत्तामा टिक्नका लागि जस्ता हर्कतहरु अपनाए, त्यसले एमालेविरुद्ध विपक्षीलाई एक ठाउँ गठबन्धन बनाउन बाध्य पारेकाे थियो । जसका कारण अब एमालेको सत्ता स्थानीय सरकारमा मात्रै कायम हुन पुगेको छ । यो एमालेका लागि निकै ठुलो धक्काका रुपमा लिइएको छ । 

प्रदेश १ मा आचार्यले आज विश्वासको मत पाउने सम्भावना करिब करिब छैन । प्रदेशका बहुमत प्रदेश सभा सदस्य उनको विपक्षमा छन् । ९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ जना सांसद रहेका छन् । प्रदेशमा बहुमत ल्याउनका लागि ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । एमालेसँग ४१ जना मात्र सांसद छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । विपक्षी गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । राप्रपासँग १ सांसद रहेका छन् । तर राप्रपा कसैको पक्षमा खुलिसकेको अवस्था छैन । 

यसअघि नेकपा एकीकृत समाजवादीका १० जना सांसद एमालेमा नै रहँदा उनीहरूको समेतलाई देखाएर प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताका रुपमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । १० जनाले एमाले छाडेपछि एमालेसँग ४१ सांसदको मात्रै समर्थन छ ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको हो । बैठकमा मन्त्रालय भागबन्डा र कांग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्ति पछि छलफल गर्ने निर्णय गठबन्धनले गरेको छ । 

प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसको मागका विषयमा गठबन्धनका प्रदेश १ का नेताहरुले शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेका छन् । 

गठबन्धनको किचलोले लम्बिएको आचार्यको पद

१० भदौमा मुख्यमन्त्री बनेका भीम आचार्यले एक साताअघि नै विश्वासको मत लिने तयारी गरेका थिए । तर विपक्षी गठबन्धनमा रहेको कांग्रेसभित्रको किचलोका कारण उनको एक साता सत्ता यात्रा लम्बियो । गत आइतबार कांग्रेसभित्रको विवादकैबीच सचेतक केदार कार्कीले प्रदेशसभाको बैठक स्थगनको निवेदन संसद् सचिवालयमा दर्ता गराएका थिए । यस विषयमा कांग्रेसकै कतिपय नेताहरू भने अनविज्ञ थिए । एकाएक भएको प्रदेशसभाको बैठक स्थगित गर्न निवेदन परेपछि सत्तारुढ गठबन्धनभित्र हलचल मच्चियो ।

विपक्षी गठबन्धनका नेताहरूबीचमा कांग्रेसले मुख्यमन्त्रीमा आलोपालोको हुनुपर्ने बताउँदै आएको थियो । गठबन्धनभित्र पहिले भीम आचार्यलाई मुख्यमन्त्रीबाट हटाएर बाँकी छलफल गर्ने सहमति भए पनि कांग्रेसभित्रको किचलोका कारण गठबन्धनभित्र तरंग उत्पन्न भएको थियो । यही बिचमा मुख्यमन्त्री आचार्यले नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी) का सांसदबाटै विश्वासको मत लिएर सरकार टिकाउने कोसिस गरिरहेका थिए ।

आचार्यले मन्त्री दिने, एमालेको केन्द्रीय सदस्य बनाउने, अर्को चुनावमा टिकट दिने र चुनाव खर्च समेत दिने प्रलोभन देखाइको स्रोतको भनाई छ । यो योजना असफल भएपछि कांग्रेसका सांसदहरूलाई लिएर विश्वासको मत पाउने खेल आचार्यले खेले । 

प्रदेश १ मा सरकार गठनका विषयमा कांग्रेसमा संस्थापनइतर रहेका रामचन्द्र पौडेल र डा. शेखर कोइराला समूह असन्तुष्ट थियो । नेकपा एसको नेतृत्वमा सरकार बनाउने विषयमा कांग्रेस नेता राजीव कोइराला नै असन्तुष्ट थिए । सोही कारण असन्तुष्ट पक्षले फ्लोर क्रससमेत गर्ने चेतावनी दिएका थिए । फ्लोर क्रसको बार्गेनिङ भनेको मन्त्रीका लागि बार्गेनिङका रुपमा भएको स्रोतको भनाई छ ।

प्रदेश १ मा कांग्रेसको संस्थापनइतर समूहको बहुमत रहेका कारण पनि यो मौकालाई उनीहरू गुमाउन चाहँदैनन् । सोही कारण पौडेल र कोइराला आफूहरू निकट राजीव कोइरालालाई मुख्यमन्त्री बनाउने योजनामा अघि बढे । सभापति देउवालाई दबाब दिएर आधा कार्यकाल भए पनि मुख्यमन्त्री आलोपालो गर्ने योजना संस्थापन इतर समूहको नीति रहेको छ । 

मुख्यमन्त्री आलोपालो गर्न र आफूनिकट नेताहरूलाई जसरी भए पनि मन्त्री बनाउनुपर्ने भएपछि संसद् बैठक नै धकेल्नुपर्ने बाध्यता उनीहरूमा आयो । सोही कारण मुख्यमन्त्री आचार्यको एक साता सत्ताको बसाई लम्बियो । अब भने कांग्रेसको कोइराला पक्ष आलोपालोमा मुख्यमन्त्री भन्ने एजेन्डाबाट पछि हटिसकेको छ । सोही कारण आजको प्रदेशसभाबाट आचार्यले विश्वासको मत नपाउने र राई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।