न्युज कारखाना | समाचार | कात्तिक १५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि काममा फर्किएका छन् ।
प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् ।
प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन् । बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन् ।
प्रधानन्यायाधीशले उचित समयमा मार्ग प्रशस्त गर्ने बचन दिए भोलिदेखि नै सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णयसहित उनीहरू आज बन्दीका मुद्दा हेर्न सहमत भएको एक न्यायाधीशले बताए ।
प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्न उचित समय र वातावरण माग गरेपछि न्यायाधीशहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ । तर, जबराले अझै पनि स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भने नभनेको ती न्यायाधीशले बताए ।