बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

न्युज कारखाना  |  समाचार  |  कात्तिक १७, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 

लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब २३ कात्तिकदेखि निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । ‘आजको कार्यक्रम सकियो । नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछ’, पौडेलले भने ।

यसअघि बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गरिन् ।

‘न्यायलयको सुधारका लागि बार लागेको छ । बारको प्रांगण त्यागेर सर्वोच्च पुगिसकेका छौँ । न्याय शुद्वीकरणको अभियानमा अवरोध भएकाले प्रधानन्यायाधीशको राजीनामम मागेको हो । विकृति, विसंगति र भ्रष्टाचार हटाउन द्वार खोल्न पनि प्रधानन्यायाधीशको राजीनामा आउनुपर्छ’, उनले भनिन्, ‘जुन धाराबाट आएको, त्यही धाराबाट जान खोज्नुभयो भने त्यो धाराको पानीले बगाउनेछ । सम्मानजनक बहिर्गमनका निम्ति अनुरोध गर्दछौँ ।’

बार उपाध्यक्ष मानबहादुर रुम्जाली राईले प्रधानन्यायाधीश जबराको राजीनामा नै बटमलाइन भएको बताए । ‘समग्र न्यायपालिको स्वतन्त्रता, जबाफदेहिता, स्वच्छता खोजेको हो । सेतो पट्टीवाला साथीहरू बारको विज्ञप्ति पढिदिनुहोस् । उहाँहरूले प्रधानन्यायाधीशको राजीनामाका लागि मात्र बारको आन्दोलन हो भन्नुभएछ । शान्तिपूर्ण रूपमै आन्दोलन टुंग्याउन चाहन्छौँ । यसका लागि राजीनामा बटमलाइन हो’, उनले भने ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । ‘अहिले विस्फोट भयो । संषर्घ पहिलेदेखि हो । चोलेन्द्र नहटाउने हो भने नयाँ आउने प्रधानन्यायाधीशलाई पनि समस्या हुन्छ । राजनीतिक नेतृत्वको राजनीतिले आज यो अवस्था आयो । प्लिज, यसलाई अगाडि बढाउनुभयो भने हामी छाड्दैनौँ । बहिर्गमन मात्र होइन, यो राजद्रोह पनि हो । आजको आन्दोलन चोलेन्द्र हटाउने मात्र होइन, समग्र न्याय सुधारको हो’, उनले भने ।