रोसीमा उहिल्यै एउटा रेकीको संकेत: थारो कि लैनु अनि बेला हेर्, तँलाई हेर्, मलाई हेर् !

रोसीमा उहिल्यै एउटा रेकीको संकेत: थारो कि लैनु अनि बेला हेर्, तँलाई हेर्, मलाई हेर् !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  कात्तिक २०, २०७८

धर्म र दर्शन भनेका आफ्ना धारणाहरूलाई पुष्टि गर्नका लागि हामी आफैँले तयार गरेका आधारस्तम्भहरू हुन् । जसरी मरुभूमिमा बालुवाको रासमा कतै कुनै डोरेटो छ भने, या कुनै बाक्लो जंगलमा कतै केही बाटो नभएको ठाउँमा गोरेटो मात्र देखिए या मानिसहरू हिँड्दा मोेलिएको ठाउँ मात्र भेट्दा पनि आधार हुन्छ र त्यही बाटोबाट गन्तव्यसम्म पुग्न सकिन्छ कि भनेर हिँडिन्छ अर्को कुनै बाटो पत्ता नलाग्दासम्म या परिचित ठाउँको नाप नक्सा थाहा नपाउन्जेलसम्म ।

अहिले पनि कतिपय बेलामा आफू गएको ठाउँमा पनि झुक्किन्छ र कसैको घरका बारेमा या ठाउँका बारेमा सोध्नुपर्ने हुन्छ । शहरमा त्यही पल्लो घर गन्तव्य हुने गर्छ तर 'थाहा छैन' भनेर अनभिज्ञता देखाउने चलन हुन्छ । थाहा पाएर पनि त्यस्तो हुन्छ या थाहा नपाउँदा पनि त्यस्तो हुने गरेको सुनिन्छ, देखिन्छ । दर्शन र धर्मको पनि सायद त्यही नियति होला कि ?
वास्तवमा प्रत्येक व्यक्ति आफैँमा एउटा एकाई हो । उसले आफूलाई ज्ञान प्राप्त गर्नेगरी तयारी गरेको हुन्छ जन्मँदै पनि । ज्ञान भनेको या त पढेर जान्ने हो रे, या त  परेर  जान्ने हो रे ! हामीले गर्भको भोगेको जुनसुकै व्यवहार पनि अनुभवको रूपमा सायद सम्झन सक्दैनौँ । आमाको पाठेघरमा बस्दाको बेला स्वर्णिम नै हुन्थ्यो होला, एकातिर कोचरिएर बसेका पनि थियौँ होला, आमाको खान्कीबाटै आफ्नो खाना पाएका थियौँ होला । कतिपय समयमा आमाका चपत्कारलाई पनि सुन्यौँ होला । 

पत्रकारितामा हामी भनिने विशिष्ट समयका बारेमा भनिन्थ्य- ३ प्रकारका मानिसहरूले आफू एक्लो हुँदा पनि हामी भनेर आफूलाई सम्बोधन गर्छन् । राजाले, पत्रिकाको सम्पादकले र गर्भवती महिलाले । कारण के रे भने, राजा आफूलाई इतिहासदेखिको शासन गर्ने संस्था सम्झन्छन् रे ! सम्पादकले वाणीविहीनहरूको आवाज बोल्दा समाजको भाषा बोल्नुपर्छ रे र गर्भवती महिलाले आफू मात्रको हेरचाह गरेर हुँदैन, एक्लो देखिने नारीसँग गर्भमा भावी नागरिक पनि हुन्छ रे ! त्यसैले भन्छन् नि, 'गर्भवती महिला कतै  चिप्लिएर लडेमा भन्ने गर्छिन् रे- हामी लड्यौँ किनभने उनीभित्र अर्को जीवन पालिएको छ ।'

प्रसंग राजाको । मलाई अरू देशका राजाको वक्तव्यका बारेमा थाहा छैन तर नेपालका राजाहरूले बेलाबेलामा जुन संवोधन गर्थे, वक्तव्य दिन्थे, त्यहाँ एक वचनलाई भन्दा बहुवचनलाई नै ध्यानमा राखेर बोलेको पाइन्थ्यो । आफैँले आफैँलाई सम्मानजनक शब्द राखेर बोल्ने चलन देखिन्थ्यो, जस्तो कि आफैँले आफूलाई बक्सेका छौँ भनेर । राजाले आफूलाई राजतन्त्रको प्रतिनिधि मानेर होला, हामीबाट बक्सेका छौँ, हामीबाट यसो गरी बक्सेका छौँ भनिन्थ्यो । अर्थात् आफू एक जना बोलेको छ नरेश, तर सबैलाई आफूमा समेटेर हामी भन्छन् रे ! भन्थे रे ! भन्दा हुन् अझै राजतन्त्र भएका देशमा ।

१७ माघ २०२८ मा राज्यारोहण गरेका तत्कालीन राजा वीरेन्द्रले पहिलो सार्वजनिक राजकीय वक्तव्य राजा हुँदा दिएका हुन्, जसमा ऐश्वर्यलाई बडामहारानीको रूपमा घोषणा गरेका थिए र बडामहारानी रत्नलाई मुमा बडामहारानीका रूपमा घोषणा गरेका थिए सायद । त्यसपछि उनले दिएको पहिलो वक्तव्य भनेको २०२९ सालको नयाँ वर्षको उपलक्ष्यमा हुनुपर्छ । सायद तत्कालीन नयाँ राजा वीरेन्द्रले भनेका थिए, 'म र मेरी श्रीमतीका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्दछु ।'

यस्तै भाकामा राजकीय संबोधन गरेका थिए क्यारे या राजकीय प्रज्ञाप्रतिष्ठानमा बोल्दा हो कि, कता हो, हङ्गामा भएछ- राजाभन्दा ठूला मानिने राजाका आउरेबाउरेहरूका बीचमा ।
राजाले अब यसरी 'म र मेरी श्रीमती' भन्न थालेपछि जनताले हेप्ने भए राजालाई । राजा वीरेन्द्रका बारेमा एउटा धारणा थियो हामी तत्कालीन प्रजातन्त्रवादी नेता, कार्यकर्ता तथा नवयुवाहरूमा कि यी राजा त जापान, बेलायत, अमेरिकामा पढेर आएका हुन्, आफ्ना पिता जस्तै निरंकुश नहोलान् र ती देशहरूमा सिकेको प्रजातान्त्रिक परिपाटीलाई आफ्नो राज्यकालको सुरुमै प्रयोग गरेर पञ्चायतको विकल्प देलान् । प्रजातन्त्,र जुन उनका पिता महेन्द्रले समाप्त गरेका थिए, ससम्मान फिर्ता देलान् । जनशक्ति र राजशक्तिको मिलन गराएर गुमेको प्रजातन्त्रलाई जनताको नासोको रूपमा फिर्ता गरेर आफू संवैधानिक राजाको रूपमा निर्विवाद राजा होलान् । तर, त्यसो हुन सकेन र त आजको गणतन्त्रसम्म मुलुक डोहोरियो ।

हुनत उनकै बेलामा बहुदलीय व्यवस्था कि सुधारिएको निर्दलीय पञ्चायती व्यवस्था भनेर जनमतसंग्रह पनि गराएकै हुन् र जनताको बहुदलीय व्यवस्थाको पुनर्स्थापनाको उत्कट चाहनालाई षड्यन्त्रपूर्वक हराएकै हुन् र पनि जनताका पक्षमा ४५ प्रतिशत मत आएकै थियो । तर, पञ्चायतलाई ४५ प्रतिशत जनताको साझा राजनीतिक मञ्चको वास्ता नगरेर झन् कसिलो बनाउँदै सोभियत संघको पोलिटब्युरोको ढाँचामा पञ्चायत नीति तथा जाँचबुझ समिति बनाएका थिए र २०३८ सालमा संशोधन भएको संविधानलाई झन् पञ्चायतको निर्दलीयताका पक्षमा कडी कडाउका साथ प्रयोग गरेका थिए ।

त्यसपछि १० वर्ष पनि नपुग्दै पञ्चायती व्यवस्थाको पतन भयो र राजा संविधानभित्र बस्न बाध्य भएका थिए । यहाँ मैले नेपालको इतिहासका बारेमा भन्न खोजेको होइन, नयाँ कुनै समीक्षा गर्न पनि खोजेको होइन बरु कसरी आफ्ना तर्कलाई मात्र होइन कि कुतर्कलाई पनि दर्शनको लेपन लगाएर पुष्टि गर्न खोजिन्छ, जस्तो कि पञ्चायती व्यवस्थाका बारेमा हाम्रो पुस्ताले अनिवार्य पढ्नै पर्थ्यो र जाँचमा उत्तीर्ण हुनै पर्थ्यो । पञ्चायत भन्ने  विषयमा के पुष्टि गर्न खोजिएको थियो दार्शनिक पाराले भने, बहुदलीय व्यवस्था भनेको अराष्ट्रिय र मुलुकलाई भड्खालोमा पार्ने व्यवस्था हो ।

बाजे लुटिँदा बेला साँझ थियो, बाजे एक्लै घोडामा पानीभित्र हुनुहुन्थ्यो, उनीहरू ४ जना थिए, हातमा खुकुरी थियो । अहिले बाजे सेनाको कबाजमा हुनुहुन्थ्यो, बेला झलमल्ल घाम लागेको दिउँसो थियो, ऊ एक्लै थियो अरू जो हुन् कबाज हेर्नेहरू ।

जम्मा १८ महिना मात्र त्यो व्यवस्थाले आफ्नो शासन प्रणाली चलाएको थियो । त्यसलाई विघटन गरेर, संसदलाई विघटन गरेर दलमा लाग्ने सबैलाई अपराधी जस्तो गरेर जेलमा कोचिएको थियो, कतिलाई मारियो र कति अझैसम्म  बेपत्ता होलान्, कतिको आँसु अझै सुकेको छैन आफ्नाहरूको शोकमा । एउटा कुराचाहिँ जहिले पनि सत्तामा बस्ने निरंकुशता चाहने शासकले भन्ने रहेछन्, 'मैले गरेको जे जति छ, सबै राष्ट्रियता जोगाउनका लागि गरेको हुँ, यदि मैले या हामीले त्यसो नगरेको भए देश जोगिने थिएन ।'

खोइ त, पञ्चायतले दिएको दर्शन यो देशबाट लुप्त भएको पनि ३१ वर्ष भयो बरु पञ्चायतका बेलामा गरेका अराष्ट्रिय निर्णयहरू अहिले आएर उजागर हुँदै छन् र त्यसका लागि छिमेकीहरूले कब्जा गरेको जमिनका बारेमा अहिले त जनताले बोल्न पाउँछन्, आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जान पनि पाइन्छ, त्यसबेलामा भएका कामहरूको अहिले आएर समाधान गर्न समस्या परेको छ ।

२०१६ सालमा प्रकाशित हुलाक टिकटमा देखिने नेपालको पश्चिमी भागको चुच्चे नक्सा कहिलेदेखि बुच्चे भएको रहेछ । २०१८ सालको जनगणना भएको ठाउँमा त भारतीय सैनिकले पो आफ्नो शिविर बनाएर बसेको रहेछ सन् १९६२ पछि जबकि सन् १९६० मा त राजाले बहुदलीय व्यवस्थाको हत्या गरेर पञ्चायतलाई नेपाली माटोको सुवासका रूपमा दार्शनिक लेपन दिएर प्रजातन्त्रको नामसमेत दिएका थिए । 

हिटलरले पनि त्यस्तै गरेको देखिन्छ इतिहासमा । उसको पनि दमनका लागि हतियार थियो राष्ट्रियता । जर्मन राष्ट्रियता । आफ्नो नाजीबाहेक सबै अराष्ट्रिय । झन् ती लगानीकर्ता र वैज्ञानिकहरू, जो यहुदीहरू थिए, विरोधीहरू थिए, ती सबैलाई त आलु पोलेको भन्ने संकेत शब्दमा ग्यास च्याम्बरमा राखेर पोलिएको थियो करोडौँ जर्मनहरूलाई । 

अहिले पनि कुनै पनि  निरंकुशता लाद्न चाहने शासकले भट्याउने नारा हो- उग्र राष्ट्रवादी नारा । जब आफू विदेशीको इसारामा नाच्ने बेला हुने रहेछ, अरूलाई झुक्याउन पनि उग्र राष्ट्रवादको नारा दिएर छक्याउने कोसिस हुने रहेछ । अहिलेका विश्वका राजनेताहरूको त्यही छनक पाइन्छ । कतै गोराहरूको साम्राज्यको कुरा गर्‍यो, कतै एक दलीय व्यवस्थाका विरुद्धमा जोजो उठ्न सक्छन्, तिनलाई अराष्ट्रवादी, मुलुकविरोधी भनेर जेलमा हाल्ने, संगठन स्वतन्त्रता नदिने, मानवअधिकारको बेग्लै व्याख्या गरेर अमानवीय यातना दिएकोलाई राष्ट्रियता जोगाउन गरेको सत्प्रयास मान्ने ।

एक जना अनुसन्धाता हरि गौतम १ पुस २०१७ देखि २६ चैत २०४६ सम्म मारिएका नेपालीहरूको कसले पो खोजी गरेको छ र ? माओवादी जनयुद्धमा भन्दा तेब्बर मानिसहरू मारिएका हुनुपर्छ भन्ने अनुमान गर्नुहुन्छ । किन रे भने, उहाँले गणेशमानजीको जीवनी तयार गर्दा गरेको अनुसन्धानमा त्यस्तो परिणामको आँकलन गर्नुभएको छ । दुर्भाग्य के भयो भने, त्यसपछि नेपाली कांग्रेसले सत्तामा आफूलाई धेरै वर्षदेखि स्थापित गरेर नेपालमा प्रजातन्त्रको पक्षमा जनमत त तयार गरेको छ तर आफ्ना पीडितहरूको लेखाजोखा अझै गर्न सकेको  पाइँदैन । एउटा कुरामा भने यस पटकका गृहमन्त्री बालकृष्ण खाण तथा नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ, बिर्सिएका महान् शहीदहरूका नाममा पदकहरू दिएर कम्तीमा पनि उनीहरूप्रति सम्मान व्यक्त गरिएको पाइयो ।

बेला हेर, तँलाई हेर, मलाई हेर ...

अहिले त म मेरो जन्मस्थानको घर ग्वाल्टार, सिन्धुलीबाट कर्मस्थानको ठाउँ काठमाडौं आइपुग्न सहज तरिकाले ४ या ५ घण्टामा आइन्छ । निजी गाडी भए करिब ३ घण्टामा नै आइपुगिन्छ । तर, पहिले जब हामी कलेज पढ्न आएका थियौँ या हामीभन्दा पहिलो पुस्ता पनि विभिन्न कामको सिलसिलामा त्यसबेलामा भनिने नेपाल खाल्डो अर्थात् काठमाडौं ३ शहर आउँदा भनिन्थ्यो हाम्रो गाउँघरमा- '१० कोस कोसी, ६ कोस रोसी हिँडेपछि फेदी पुगिन्छ । त्यहाँबाट ४ कोस हिँडेपछि बनेपा पुगिन्छ अनि गाडी चढ्न पाइन्छ ।'

हाम्रो घरबाट हनुमानढोकालाई २८ कोस मानिन्थ्यो । १० कोस कोसी हिँडेर दुम्जाको नेपालथोक पुगिन्थ्यो । त्यसपछि रोसी पसिन्थ्यो । रोसीका बारेमा एउटा कहावत नै थियो- त्यहाँ केही उच्छड, उत्ताउला र बलिया मानिसहरूले एकान्तमा भेट्दा घरबाट ल्याएका पैसा, चामल, चिउरा, घीउ, कुराउनी सबै लुट्छन् रे ! त्यो बाटो त भोजपुरदेखि या इलामदेखिकै थियो । मूलबाटो । मानिसहरू हुलका हुलमा मात्र हिँड्थे दिउँसै पनि । रात परेपछिको कुरै बेग्लै ।

कतिले पैसा बोकेर पनि ल्याएका हुन्थे रे सरकारको तिरो तिर्न । बाँकी बुझाउन । आफ्ना मानिसहरूका लागि खर्च बर्च पुर्‍याउन । जागिरेहरूले आफ्ना कमाइ लिएर आउँथे घर जान । कसैले चियो गर्थ्यो होला रोसी पसेपछि चाहे फेदीबाट रोसी पस्दा होस् या नेपालथोकबाट रोसी पस्दा होस् । बाटो ढुक्नेहरू हुन्थे रे ! र, संकेतको शब्द थियो रे- थारो कि लैनु । अर्थात् पैसा नभएको व्यक्ति थारो भयो, पैसावाला, घोडचढी, भारी बोकाएर हिँड्नेचाहिँ लैनु भयो ।

यस्ता धेरै घटना भएका होलान् र त आज पनि हामी गाडीमा हिँड्दा पनि थारो र लैनुको झझल्को मान्छौँ, जबकि अहिले त्यस्तो छैन । सुरक्षाका लागि बाटाबाटामा प्रहरी चौकी पनि राखिएका छन्। त्यस्तो छैन अहिले । तर, म त्यस्तो एउटा कथाको कुरा भन्न खोज्दै छु कि हैवार कोइरालाहरूको बिर्ता हुँदै हो ।

एक जना काशीनाथ भन्ने कोइराला बाजे सेनामा सुबेदार पनि हुनुभएको रहेछ । उहाँको दिङ्दिङ् बिसी र हैबारमा थुप्रो जग्गा रहेछ र बलिनीमा गोठ रहेछ । उहाँले आफूसँग कति पैसा छ भन्ने कुरा यसरी भन्नुहुन्थ्यो रे कि मसँग सुनकोसी थुन्न सक्ने पैसा छ ।

उहाँका लागि काठमाडौं आउने-जाने पानी पँधेरो थियो । भारी बोक्ने सेनाका जवानहरू नै थिए होलान् । आफ्नो घरबाट चाहिने चामल, चिउरा, मकै, भटमास, गहत, दाल, तोरीको तेल, घीउ, कुराउनी लिएर जाने त सामान्य कुरो भयो । उहाँसँग सायद त्यसबेला आफ्ना मानिसहरूका लागि आवश्यक पर्ने चाँदीमा रुपैयाँ पनि थिए होलान् । कम्तीमा पनि ५ जना भरिया थिए, एक जना सयस थियो घोडाका लागि । हातमा घडी, तोला बराबरका बेरुवा औँठी दुईवटै हातका केही औँलामा ।

दौरा-सुरुवालमा बाजे घोडामा चढ्नुभएको थियो र बास बस्ने ठाउँमा खाना पकाउने भान्से बाजे पहिले नै छाँटिएर गइसकेका  थिए । मंगलटारदेखि कटुन्जेसम्मको घुम्ती र एकान्तमा कसोकसो सुबेदार बाजेको घोडा एक्लै परेको रहेछ साँझको बेलामा । बाजेले घोडालाई कोर्रा हान्न पनि गाह्रो थियो किनभने रोसीको जँघारमा घोडा साँझको बेलामा हेलिएर अघि बढ्दै थियो ।

अचानक ४ जना भुसतिघ्रे जवानहरू हातमा खुकुरी नचाउँदै बाजेलाई घेरेछन् र भनेछन्, 'बाजे, बेला हेर्, तँलाई हेर्, मलाई हेर् । हातको औँठी पनि ले बाजे, घडी पनि ले बाजे, पैसा जति छन्, सबै दे बाजे !' सुबेदार बाजेलाई यस्तो घटना पहिलो पटक परेको रहेछ र यसो समयको ख्याल गर्दै बाजेले औँठी ३ थान, घडी र केही चाँदीका सिक्का पनि दिनुभएछ ।

उनीहरूले धन्न ज्युँदै छाडेछन् । तिनलाई के मात्र थाहा रहेछ भने, घोडचढी बाजे धनी होलान् र घोडामा नै पैसा लादेर हिँडेका होलान् । घोडामा पैसा लादेको थिएन । भरियाहरू लासकोटमा पुगेर भारी पनि बिसाएछन्, भात पनि पकाएछन् तर सुबेदार बाजे कता हो कता, हराएपछि उनका सेनालाई, भरियालाई डर भएको त थियो ।

'बाजे कता पो जानुहोला त ?' भन्दै हातमा उज्यालो लिएर खोज्न जान थालेछन् रोसीको त्यही बाटो, जुन बाटो उनीहरू केही पहिले आएका थिए । खोलाको कलकल आवाजमा कसैले उहाँलाई सुबेदार बाजे भनेर बोलाएको पनि सुनिने अवस्था थिएन तर पनि कराउँदै अलिक पर पुग्दा बाजे त आउँदै हुनुहुँदो रहेछ तर थारो कि लैनु समूहले भेटेर बाजेलाई लुटिसकेका थिए । 'धन्न ! ज्युँदै छाडेका रहेछन्' भन्दै भगवान् पशुपतिनाथको आराधना गर्दै सबै फर्किए ।

त्यो समूह पर्सिपल्ट नेपाल पुग्यो । यो हल्ला सबैतिर फैलिएकोे रहेछ । त्यसको केही महिनापछि सुबेदार बाजे टुँडिखेलमा सेनालाई कबाज खेलाएको ठाउँमा निरीक्षणका लागि घोडा चढेर सेनाको पछिपछि जाँदै गर्दा सेनाको त्यो कबाज हेर्नेमध्ये एक जनाको घडीको टिलिक्क टिलिक्क परेको चमक देख्नुभएछ । यसो ध्यान दिएर हेरेको त त्यही बाजेलाई

लुट्नेमध्येको एक जना पो रहेछ ! औँठी पनि ३ वटै लगाएको रहेछ, सायद नेपालमा बेच्न आउँदै थियो । घडी पनि त्यही लगाएको रहेछ टिलिक्क परेको ।
अनि, बाजेले पनि सोध्नुभएछ घोडाबाट ओर्लेर- 'बेला हेर्, तँलाई हेर, मलाई हेर्, ले मेरो औँठी र घडी ।'

बाजे लुटिँदा बेला साँझ थियो, बाजे एक्लै घोडामा पानीभित्र हुनुहुन्थ्यो, उनीहरू ४ जना थिए, हातमा खुकुरी थियो । अहिले बाजे सेनाको कबाजमा हुनुहुन्थ्यो, बेला झलमल्ल घाम लागेको दिउँसो थियो, ऊ एक्लै थियो अरू जो हुन् कबाज हेर्नेहरू ।

अनि, त्यो बाजेको खुट्टामा छाँद हालेर ज्यान बक्सिस् माग्दै रुन थाल्यो । अरूले कुरा कति बुझे होलान् र ? बाजेले 'अब त्यस्तो नगर्नू' भनेर माफी दिनुभएछ अनि आफ्नो घडी र औँठीहरू फिर्ता लिनुभएछ । केही चाँदीका रुपैयाँहरू त त्यसले खर्च गरेको थियो होला । उसको होस हवास नै कति उड्यो होला, अनुमान गर्न सकिन्छ ।
क्रमशः