बस्न मिल्ने, भारी बिसाउन मिल्ने परंपरा संकटमा : कहाँ गए वर-पीपल चौतारा ?

बस्न मिल्ने, भारी बिसाउन मिल्ने परंपरा संकटमा : कहाँ गए वर-पीपल चौतारा ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  कात्तिक २४, २०७८

बालखमा विद्यालय जानभन्दा बाख्रा गोठालो जान खुब मजा हुन्थ्यो । किन ढाँट्नु ! सिस्नेरी टाकुराबाट बाख्रा उता लगाएर हामी वर-पीपलको चौतारीमा बस्थ्यौँ । बाघचाल, गट्टा, चुंगी, नागपास, तासलगायत रुचिअनुसारका खेलमा दिन बित्थ्यो । 

बीचबीचमा पिसाब वा दिसा लाग्दा कि भिरतिर झरिन्थ्यो वा ठाडो खोलातिर लागिन्थ्यो । कसैले देख्ला र लाज लाग्ला भनेर होइन, पीपल भगवान् हो, नजिकै फोहोर गर्दा बिरामी परिन्छ, भोलिदेखि आची मलद्वारमै अड्किन्छ, पिसाब फेर्ने यन्त्र नै कुहिएर झर्छ भनेर । कसैले तथानाम बोलिहल्यो भने प्रत्येकचोटि बिनाबी पनि भनिहाल्थ्यो । आउँदाजाँदा पीपललाई दाहिने घुम्ने । हात पनि जोडिहाल्ने बानी हामीले त्यतिखेर नै सिक्यौँ अरूले गरेको देखेर । 

चौतारीमा वर-पीपलको बोट नौलो लगाऊँ
छाहारीको तलतिर बसी गीत यौटा म गाऊँ

माधव घिमिरेले लेखेको उपर्युक्त कवितांशले नेपाली समाज र संस्कृतिमा वर-पीपलको स्थान र सम्मानलाई संकेत गरेको छ । कुवा खन्ने, चौतारो चिन्ने, पाटीपौवा बनाउनेजस्ता कुरालाई हामीले मानवसेवा, धर्म तथा परोपकारका रूपमा लिएका छौँ । मरणोपरान्त पनि जीवित रहने, कीर्तिपताका फिँजाउने, तथा स्वर्ग जाने सोपानका रूपमा लिएका छौँ ।

वनस्पतिका लाखौँ प्रजाति पाइए तापनि वर र पीपलको महत्त्व आफ्नै किसिमको रहेको छ । हुनत साल, सिसौ, शमि, बाँस, डुम्री, आँप, चाँप आदिलाई पनि हाम्रो सभ्यताले उत्तिकै सम्मान गरेको छ र श्रद्धाका साथ व्यवहारमा प्रयोग गरेको छ । वनस्पति र प्राणीबीचको अन्योन्याश्रित सम्बन्धलाई हामीले हृदयतः अंगीकार गरेका छौँ । यसको अनिवार्यताका गाथागान गरेका छौँ । यति हुँदाहुँदै पनि पीपलको आवश्यकता र यससँगै वरको सन्निकटतालाई अझ बढी महत्त्व दिएका छौँ । 

पीपललाई सम्मान र संरक्षण गर्नुपर्ने चेतना परापूर्वकालबाटै विकास भएको पाइन्छ । यज्ञ सामग्रीका रूपमा पीपलको प्रयोग वैदिककालदेखि नै हुँदै आएको पाइन्छ । पिप्पलाद नाम गरेको वैदिक शाखाको विकास भएको तथ्यसमेत वैदिक साहित्यमा सुरक्षित छ । यज्ञमा अनिवार्य मानिएको पञ्चपल्लवमा पीपलको पात पनि समाहित हुन्छ । यज्ञमण्डपको साजसज्जाका लागि बनाइने तोरणमा पनि पीपलको पात गाँसेर अकर्षक बनाइन्छ । 

कसैको खेतबारीमा, भिरपाखामा, मानव आवतजावत नहुने ठाउँमा न वर-पीपल लगाइन्छ, न त चौतारो बनाइन्छ । चौतारो ठूलो फाँटको बीचमा हुन सक्छ, उकालो सकिएर बनेको अलिकति सम्म ठाउँमा हुन सक्छ, मैदानमा हुन सक्छ वा भन्ज्याङ जस्ता ठाउँमा हुन सक्छ । शहरमा वा गाउँमा जता पनि पीपलको चौतारो भएको हामी देख्न सक्छौँ ।

यज्ञका लागि गरिने अरणिमन्थनमा पनि पीपलको प्रयोग हुन्छ । पीपल, शमि आदि वृक्षमा पनि उम्रिने भएकाले शमिगर्भ पीपल अरणिमन्थनका लागि अझ उपयुक्त मानिन्छ । सुरो आदि यज्ञीय सामग्री निर्माणमा पनि पीपलको उपयोग गरिन्छ । 

पीपलको अर्काे नामा अश्वत्थ हो । घाडाहरू आएर विश्राम गर्ने वा बस्ने अर्थमा यसको नाम अश्वत्थ भएको हुन सक्छ । ‘वैदिक यज्ञीय उपकरण र वृक्षहरू’ नामक पुस्तकमा आमोदवद्र्धन कौण्डिन्न्यायनले पीपलको पर्यायवाची अश्वत्थलाई परिभाषित गर्ने २ वटा वैदिक प्रसंग उल्लेख गर्नुभएको छ- एक पटक देवताहरूबाट भागेर अग्निले अश्वको रूप लिए । त्यसपछि एक वर्षसम्म पीपलको रूखमा बसे । त्यस कारण पीपललाई अश्वत्थ भनियो ।

त्यस्तै, अग्नि अश्वत्थ वृक्षका रूपमा र अग्नि राखेको भाँडो शमि वृक्षका रूपमा परिणत भएको कथा पनि पाइन्छ । यी दुवै कथाले पीपलको अत्यधिक प्रज्ज्वलनशीलतालाई संकेत गरेका छन् । शमिमा पीपल उम्रिने प्राकृतिक तथ्य पनि यहीँ ध्वनित भएको छ । यसरी वैदिक सभ्यताले नै पीपलको गुण सम्यक् पहिचान गरेको स्पष्ट हुन्छ । वैदिक सभ्यताबाटै अनुप्राणित आजको सभ्यतासम्म आइपुग्दा पनि पीपलको महत्त्व उत्तिकै छ । 

पीपललाई बोधिद्रुम, चलदल, कुञ्जरासन, वनौषधि जस्ता नामले पुकारिएको पाइन्छ । बोधिद्रुम गौतमबुद्धले पीपलको छायामा ध्यान गरेर बुद्धत्व प्राप्त गरेका कारण नाम रहन गएको अनुमान गर्न सकिन्छ । पीपलका पातहरू अत्यधिक चलायमान हुने हुनाले यसलाई चलदल भनिएको हो, हात्तीका लागि उपयुक्त खाना वा सोत्तरका रुपमा पीपल कुञ्जरासन भएको हो । आयुर्वेदका दृष्टिमा उपचारका विविध पद्धतिमा पीपलको उपयोग हुने भएकाले यसलाई वनौषधि भनिएको हो । 

पीपलमा मरुत् देवताको वास हुने प्रसंग पनि पढ्न पाइन्छ । मरुत् भनेको वायु हो । पीपल अत्यधिक अक्सिजन उत्पादन गर्ने वनस्पति भएको कुरा सर्वविदितै छ । हिन्दु धर्ममा पीपललाई विष्णु भगवान्का रूपमा पूजा गरिन्छ । गीतामा कृष्णले ‘वृक्षहरूमा म पीपल हुँ’ भनेका छन् तर यो कुनै अवतारको विषय नभएर तत्त्व चिन्ताको विषय हो । यस संसारलाई आकाशतिर जरा भएको पीपलको उपमा दिएको छ गीताले । यसलाई पनि पीपलको प्रशंसा नमानेर जगत्चिन्तन नै मानिन्छ । 

(कतिपय मै हुँ भन्ने आधुनिकहरू पीपलका सबै गुण बिर्सेर  यसमा अन्धविश्वास मात्र देख्छन् । त्यस्ता मन्दमतिहरूलाई अहिले नसम्झिऊँ होला ।)

शनिबार पीपलको बोटलाई घुम्छन् । ध्वजापताका बाँध्लान् । भाकल गर्लान् । वरदान माग्लान् । यस्ता धेरै कुरा पनि छन्, जसको कुनै खास कारण छैन । मानिसका आस्था र विश्वासले जे गर्न मन लाग्छ, त्यही गर्ने । पीपललाई पूजा गर्नेले पनि आफ्नो आँगनमा, घरको भित्तामा, छतमा उम्रेको पीपललाई पूजा गरेर राख्दैन, तत्काल उखेलिहाल्छ किनभने घरआँगनमा सजाउनका लागि पीपल उपयुक्त वृक्ष होइन ।

यसका जरा टाढासम्म जाने हुनाले घरका भित्ता भतकाउन सक्छ । शरीर ठूलो हुने हुनाले हुरी-बतास आँधीबेहरीमा जनधनको क्षति हुन सक्छ । त्यस कारण घर नजिक वर-पीपल रोप्नुहुँदैन भनिएको हो ।  

रातिको समयमा अक्सिजनको समस्या पनि हुन सक्छ । दिउँसो भगवान् भनेर पूजा गरे पनि राति पीपलको फेदमा भूत-प्रेत बस्ने, वीर
बोक्सी हातमा बत्ती लिएर नांगै नाच्नेजस्ता रहस्यमय किंवदन्ती यही भएर सुरु भएका होेलान् । 

पीपलको वैज्ञानिक अध्ययनबाट अझ धेरै महत्त्व र आवश्यकता प्रष्टिन सक्ला तर यहँको विषय भने यसको सामाजिक तथा सांस्कृति पक्षको प्रशंसा मात्र भएकाले यसैलाई निरन्तरता दिनु उपयुक्त हुन्छ । कृषि कर्ममा रमाउने नेपाली समाजका लागि पीपल-चौतारी, औषधालय, प्रतीक्षालय, सूचनालय र वाचनालय हो । अलिक पहिलाको स्थितिलाई हेर्ने हो भने विद्यालय र न्यायालय पनि हो ।

विशेषगरी त्यस्ता वर-पीपलका चौतारीहरू कि त गाउँलाई पायक पर्ने गरी कि वा बटुवालाई पायक पर्ने गरी बनाइएका हुन्थे । रूख लगाएर वरिपरि चौतारो चिनेर २-४ जना मानिस बस्न मिल्ने, भारी बिसाउन मिल्ने प्रकृतिको चौतारो बनाउने परंपरा हाम्रो सभ्यतामा विकास भएको हो ।

कसैको खेतबारीमा, भिरपाखामा, मानव आवतजावत नहुने ठाउँमा न वर-पीपल लगाइन्छ, न त चौतारो बनाइन्छ । चौतारो ठूलो फाँटको बीचमा हुन सक्छ, उकालो सकिएर बनेको अलिकति सम्म ठाउँमा हुन सक्छ, मैदानमा हुन सक्छ वा भन्ज्याङ जस्ता ठाउँमा हुन सक्छ । शहरमा वा गाउँमा जता पनि पीपलको चौतारो भएको हामी देख्न सक्छौँ ।

पीपलसित सम्बन्धित ठाउँ उपत्यकामा मात्र कति छन् ? सूची लामो हुन सक्छ । शहरका चौतारा सडकको चपेटामा पर्दै गएका छन् । गाउँका चौतारा नयाँ बनेका सडकले बटुवाको बाटो बदलिदिएकाले एक्लिँदै गएका छन् । 

चौतारालाई ‘सार्वजनिक वा सरकारी हो, मेरो होइन’ भनेर अतिक्रमण गर्ने लोभी-पापीहरू पनि हामी नै हौँ । मानिसको भलो गर्ने पवित्र उद्देश्यले बनाइएको चौतारो आफ्नो एक बित्ता बारी बढाउनका लागि मास्नेको कदापि भलो हुँदैन । पीपलको संरक्षणकै लागि भनेर पहिलाका मानिसले पीपल काट्नेको अकाल मृत्यु हुन्छ, सन्तान मासिन्छन्, अनिष्ट हुन्छ भन्ने मान्यता अघि सारेका हुन् । बाख्रा चराउन जाँदा पीपलको रूखदेखि अलिक पर पिसाब फेर्न जाने परंपरा पनि कम्ती शक्तिशाली होइन रहेछ ।