लोकसंवाद संवाददाता | समाचार | कात्तिक २४, २०७८
सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ ।
पार्कभित्रको बीपी र पुष्पलालको शालिक एमाले महासचिव ईश्वर पोखरेलले अनावरण गर्ने नगरपालिकाको निर्णयविरुद्ध सत्ता गठबन्धनका दलले विरोध गरेपछि शालिक अनावरण गर्ने कार्यक्रम स्थगित गर्दै बुधबार बिहान ११ बजेदेखि मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
निषेधाज्ञा सिन्धुलीमाढीस्थित बसपार्क क्षेत्र, स्टल बजार, जुनार चोक, सिन्धुली अस्पताल आसपासको क्षेत्रमा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
निषेधाज्ञामा उक्त क्षेत्रमा जुलुस, धर्ना, आमसभालगायत शान्ति सुरक्षामा असर पुग्ने कुनै पनि किसिमका कार्यहरू गर्न पाइनेछैन । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रको बीपी र पुष्पलालको शालिक अनावरण एमाले महासचिव पोखरेलले बुधबार बिहान १० बजे गर्ने नगरपालिकाले निर्णय गरेको थियो ।
सर्वदलीय निर्णयबाट शालिक अनवारण गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दलले विरोध गदै मंगलबार पार्कमा तालाबन्दी गरेका थिए । बुधबार बिहान लामो समयसम्म सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेका नेता, कार्यकर्ताबीच विवाद भएको थियो ।
कुनै पनि पार्टीका व्यक्तिले शालिक अनावरण गर्न नमिल्ने भन्दै कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले शालिक अनावरण गर्न रोक गरेका थिए । गठबन्धन दलका कार्यकर्ताहरूले पार्कलाई घेरेका थिए भने एमालेसम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए । विवाद बढेपछि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।