लोकसंवाद संवाददाता | विदेश | कात्तिक २५, २०७८
हामी जतिबेला हेरात सहरबाट बाहिर निस्कियौं, भीडभाड भएको सडकपछि हामीले एउटा लामो र सुनसान हाइवे भेट्यौ । तालिबानका दुई वटा चौकी पार गर्दै अघि बढ्दै गर्दा उनी भनिरहेकी थिइन्– अब अफगानिस्तानमा कसले राज गर्ला ?
पहिलो चौकीमा भेटिएका लडाकू मिनसार थिए । उनर उनीहरुले हाम्रो कार र त्यहाँको संस्कृति मन्त्रालयले दिएको अनुमतिपत्रको राम्रोसँग जाँच गरे । हामी त्यहाँबाट जान लाग्दा काँधमा एसल्ट राइफल भिरेका एक लडाकूले मुस्कुराउँदै भने, ‘तालिबानसँन नडराउनुहोस्, हामी असल मान्छे हौं ।’
तर अर्को चौकीमा रहेका पहरेदार फरक थिए । चिसो स्वभावको र खतरनाक पनि थिए । यसरी तालिबानसँग भेट हुन्छ भनेर तपाईले अनुमान पनि गर्न सक्नुहुन्न ।
केही लडाकूले विरोध प्रदर्शनको समाचार कभर गरेको निहुँमा अफगान पत्रकारलाई नराम्रोसँग कुटेका थिए । र हालै एक अनलाइन भिडियोमा एक विदेशी फोटोग्राफरलाई तालिबान लडाकूले बन्दुकको बटले हिर्काएरहेका थिए ।
खुसीको कुरा हामीलाई त्यो चाँज चौकीबाट चाँडै छुटकारा मिल्यो । तर हामीलाई एक चेतावनीजस्तै लाग्ने बयान लिइएको थियो । त्यसमा उनीहरुले भनेका थिए, ‘हाम्रो बारेमा राम्रा कुरामात्रै लेख्ने निश्चित गर्नुहोला ।’
एक बच्चाको ९०० डलर
हेरातबाट करिब १५ किलोमिटर टाढा हामी एक रोडा, माटो र इँटाबाट बनेका घरको एउटा ठूलो बस्तीमा पुग्यौं । वर्षौको लडाई र सुख्खाबाट विस्थापित भएर दुरदराजको आफ्नो घर छाडेर आएर बसेका मानिस यहाँ थिए । ताकि नजिकैको सहरमा काम र सुरक्षा प्राप्त होस् । हामी कारबाट बाहिर निस्किएपछि धुलो उड्न थाल्यो । हावा निकै तीखो थियो, जुन केही सातामा कडा चिसोमा बदलिनेवाला थियो ।
हामी त्यहाँ गरिबीका कारण मानिसहरु साँच्चै आफ्ना बच्चाहरु बेच्न थालेका हुन् ? भन्ने पत्ता लगाउन गएका थियौं । मैले जब पहिलो पटक यसबारेमा सुने, तब मैले मनमनै यस्ता एकाध मामिला होलान भन्ने सोचेँ । तर हामीले जे देख्यौं, त्यसलाई स्वीकार गर्न म पूर्ण रुपमा तयार भएको थिइनँ । हामी त्यहाँ पुगेको केही समयपछि नै एक व्यक्तिले हाम्रो टोलीका एक सदस्यसँग बच्चा किन्ने हो ? भनेर सिधा प्रश्न गरे । उनी यसको बदलामा ९०० अमेरिकी डलर मागिरहेका थिए । मेरा सहयोगीले उनलाई बच्चा किन बेच्न खोजेको भनेर सोधे । जवाफमा ति व्यक्तिले आफ्ना ८ जना छोराछोरी रहेको र उनीहरुलाई खुवाउने खाना नभएको बताए ।
बच्चा बेचेर खाना जुटाउने बाध्यता
हामी त्यहाँबाट केही अघि बढेका थियौं। एक महिला सानी बच्ची लिएर आइन् । उनी छिटोछिटो र निकै डराएर कुरा गरिरहेकी थिइन् । हाम्रा अनुवादकले भने, –उनले सामान र खानेकुरा किन्न पैसाको आवश्यकताका कारण उनले डेड वर्षकी काखकी छोरीलाई पहिले नै बेचिसकेकी थिइन् ।
हामी उनीहरुसँग थप सोध्न चाहन्थ्यौं । त हाम्रा वरिपरी ठूलो भीड जम्मा भइसकेको थियो । त्यहीबाट एक जनाले आफूले १३ वर्षकी भान्जीलाई पहिले नै बेचेको बताए । उनले घोर प्रान्तका एक व्यक्तिले निकै टाढाबाट आएर उनकी भान्जीलाई किनेको बताए । किन्ने मानिसले बालिका ठूली भएपछि उनको विवाह आफ्नो छोरासँग गरिदिने बताएका थिए । यी बच्चाहरुको भविष्यका बारेमा कसैले पनि ठोकुवा गरेर भन्न सक्दैन ।
एउटा घरमा हामीले ६ महिनाकी बालिका सुतिरहेको देख्यौं । हामीलाई के थाहा भयो भने, ती बालिका जब हिँड्न थाल्छिन्, तब खरिदकर्ताले लिएर जानेछ । उनका बाबुआमाका अरु ३ जना बच्चा छन् । हरियो आँखा भएको सानो छोरा छ । यो परिवारले कयौं दिन भोकै बिताउनु परेको छ । ती बालिकाका बाबु खाली सिसी, पुराना कागज र भाँडाकुडा बटुलेर परिवारको गुजारा चलाउँदै आएका थिए । उनले हामीसँग भने, ‘अब धेरै दिन मैले केही कमाउन सक्दिनँ । जब केही कमाइ हुन्छ, तब हामी ६–७ वटा ब्रेड किनेर बाँडेर खान्छौं ।
मेरी पत्नी छोरी बेच्ने मेरो निर्णयमा सहमत छैनन् । त्यसैले म चिन्तित छु । तर म लाचार छु । बाँच्ने कुनै आधार नै बाँकी रहेन ।’ म उनही पत्नीको आँखा कहिल्यै बिर्सन सक्दिनँ । उनमा क्रोध र लाचारी दुवै देखिएको थियो । छोरी बेचेर उनले जुन पैसा पाउनेवाला थिइन्, त्यसले उनलाई बाँच्न केही महिना सहयोग हुन्थ्यो । त्यसबाट अरु बच्चाहरुका लागि खानेकुराको व्यवस्था गर्न पनि सकिन्थ्यो, केही महिनासम्मका लागि ।
हामी त्यहाँबाट निस्कन लाग्दा अर्की एक महिला आइन् । उनी पैसाको इशारा गर्दै स्पष्ट रुपमा आफ्नो बच्चा सुम्पिन तयार थिइन् ।
हामीले यस्तो अवस्था होला भन्ने सोचेका पनि थिएनौं । हामीले यहाँका यति धेरै परिवार आफ्नो बच्चा बेच्न समेत तयार छ भनेर विश्वास नै गरेका थिएनौं । एक आपसमा खुलेर कुरा गर्ने त कुरै छाड्नुहोस् ।
हामीसँग जे जानकारी उपलब्ध थियो, त्यो बताउन संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी संस्था युनिसेफसँग सम्पर्क ग¥यौं । युनिसेफले यस्ता परिवारसम्म पुग्ने र सहयोग गर्ने कोशिस गर्ने बतायो ।
अफगानिस्तानको अर्थव्यवस्था विदेशी सहयोगबाट चल्दै आएको छ । तालिबानले १५ अगस्टमा सत्ता हातमा लिएपछि त्यस्तो सहयोग रोकिएको छ । जसका कारण सरकारी खर्च, कर्मचारीको तलब, विकास कार्य सबै रोकिएको छ। यसबाट अर्थव्यवस्थाको तल्लो तहमा रहेका र अगस्ट अघि नै कठिन रुपमा जीवन चलाइरहेका मानिसका लागि झनै समस्याग्रस्त अवस्था बनेको छ ।
मानव अधिकारको ग्यारेन्टी नहुने र पैसा कसरी खर्च हुन्छ भन्ने स्पष्ट नभएसम्म तालिबानलाई पैसा दिनु खतरनाक हुन्छ । तर समस्याको हल पनि नभेटिएको र जसरी अफगानीको दिनहरु बितिरहेका छन्, यसले जनताको अवस्था दिनप्रतिदिन दयनीय बनिरहेको छ । उनीहरु भोकमरीको सिकार भइरहेका छन् । हामीले हेरातमा जे देख्यौं, त्यसबाट के स्पष्ट हुन्छ भने कुनै बाहिरी सहयोग बिना अफगानिस्तानका लाखौं मानिसले चाडो कटाउन सक्नेछैनन् ।
योगिता लियमे/ बीबीसी