घनेन्द्र ओझा | दृष्टिकोण | कात्तिक २५, २०७८
बुँदा नं. ४.१३ मा ‘नेतृत्व र अधिनायकत्व’अन्तर्गत ‘सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । यस क्रान्तिको नेतृत्व पनि सर्वहारा-श्रमजीवी वर्गले मात्र गर्न सक्छ । सर्वहारा-श्रमजीवी वर्गको, मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले मात्र गर्न सक्छ ।
बडो उदेकलाग्दो कुरा यस बुँदामा उल्लेख छ, त्यो के भने, ‘सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो’ भनिएको छ । सँगसँगै भनएिको छ, ‘यस क्रान्तिको नेतृत्व पनि सर्वहारा-श्रमजीवी वर्गले मात्र गर्न सक्छ । सर्वहारा-श्रमजीवी वर्गको, मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले मात्र गर्न सक्छ ।’
‘सामन्तवाद’ र ‘साम्राज्यवाद’ जस्ता शब्द ‘जार्गन’लाई पटक पटक दोहोर्याइरहेर ‘मार्क्सवाद-लेनिनवाद’लाई पनि ‘मार्गदर्शक सिद्धान्त’ भन्दै अन्ततः यही दस्तावेज अर्थात् जनताको बहुदलीय जनवादका अन्य बुँदाहरूले त्यही ‘मार्गदर्शक सिद्धान्त’ ‘मार्क्सवाद-लेनिनवाद’को दोहोलो काढेका छन्, जुन माथि विभिन्न लेखमा र यही आलेखमा पनि निकै चर्चा गरिएको छ ।
अर्को रोचक के छ भने, हरेकजसो ‘कम्युनिस्ट’ जोडिएका राजनीतिक पार्टीहरूको नारामा भु्ण्डिएको हुन्छ- ‘सर्वहारा, श्रमिक र किसानको पार्टी ।’ तर, सर्वहारा को ? श्रमिक को ? किसान को ? ती राजनीतिक दलका नेतृत्वमा आँखा घुमाउँदा पो छक्क लाग्छ । हो, हरेकजसो पार्टी, चाहे ‘पुँजीवादी’, ‘मण्डले’, ‘तानाशाही’ वा ‘कम्युनिस्ट’, सबैका मतदाता वा ‘भोट बैंक’ भने तिनै सर्वहारा, श्रमिक र किसान नै हुन् । तर, ती सर्वहारा, श्रमिक र किसानको नेतृत्वमा राज्य सञ्चालन गर्ने भन्ने भ्रमको खेती गरेर अन्ततः सामन्त, दलाल र पुँजीपतिहरू नै पुग्ने रहेछन् नि त सत्तामा र र, तिनैले सर्वहारा, श्रमिक र किसानमाथि अनवरत शासन र शोषण गरिरहने रहेछन् ।
यसको साक्ष्य यो तीन दशकको नेकपा एमाले पनि हो र अर्को १० वर्षे सशस्त्र हिंसात्मक युद्ध गरेर आएको नेकपा (माओवादी केन्द्र) पनि हो । यी दुई पार्टीमा हिजो ‘परिवर्तनका लागि’ ज्यान उत्सर्ग गर्ने, लामो समय जेलनेल भोगेका, अङ्गभङ्ग भएका र घाइतेहरूको अवस्था पटक पटक माइतीघरमा देखिने रोदनमा देख्न सकिन्छ । मिडियामा छाइरहने यिनका कथाव्यथामा पढ्न, सुन्न र हेर्न सकिन्छ ।
‘सामान्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरूप र सार दुवैलाई सटीक ढङ्गले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौँ ।’
अनि पार्टीको नेतृत्व र सत्तामा राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री मात्र होइन, यी राज्यमन्त्रीसम्मका ‘सहयोगी’मा समेत ती विचराहरूले अवसर पाउँदैनन् । तब ‘मार्गदर्शन’ वा चुनावी घोषणापत्रमा यस्ता असम्भव कुरा लेखेर सर्वहारा, श्रमिक र किसानको हित होला ? यिनको नेतृत्वमा राज्यको साँचो सम्भव होला ?
उल्टै बरु पटक पटक सत्तामा पुगेका एमाले, माओवादी आदि कम्युनिस्टहरूले आजसम्म सर्वहारा, विपन्न, श्रमिक र किसानका हक अधिकार, हित र आर्थिकलगायतका उन्नतिका निम्ति के काम गरे ? के कस्ता योजना र नीति ल्याएर लागू गरे अनि यस्ता वर्गका मानिसको के कति उत्थान भएको छ ? भनेर खोज्नै पर्दैन किनभने आज पनि यो वर्ग ३० वर्षअघिकै नियति भोगिरहेको अवस्था छ ।
यसमै उल्लेख छ, ‘त्यसरी नै जनताको जनवादी अधिनायकत्व भनेको जनताको जनवादी राज्यसत्ता हो । अधिनायकत्व राज्यसत्ताको एउटा मुख्य र निर्णायक कामलाई अभिव्यक्त गर्ने शब्द हो । अर्थात् अधिनायकत्व भनेको राज्य हो । मार्क्सवादी दृष्टिकोणअनुसार राज्य भनेको वर्गीय हुन्छ, पुँजीवादपन्थीहरूको वर्गविहीन वा वर्गभन्दा माथि राज्य भन्ने कुरा झूठ कुरा हो ।’
एकातर्फ ‘मार्क्सवादी’हरू ‘वर्गविहीनता’को वकालत गर्दै ‘साम्यवाद’को सपना देखाउँछन्, अर्कातिर ‘मार्क्सले त समाजमा वर्ग सधैँ कायम रहन्छ भनेका छन्, वर्गविहीनताको झूटो कुरा त पुँजीवादपन्थीले गर्ने हुन्’ भनेर आफ्ना ‘मार्गदर्शनमा’ प्रस्ट लेखिदिन्छन् र अझै भनिरहन्छन्- ‘हामी साम्यवादको चरणमा पुग्छौँ, समाजमा वर्ग अन्त्य गर्छौं ।’
र, मार्क्सवादका आलोचकहरूको मत के पनि छ भने, मार्क्स वास्तवमा यहाँ चुकेका छन्, जब उनले एकातिर समाजमा वर्ग सदैव कायम रहन्छ, आजको श्रमिक वा हुँदा खाने वर्ग जब हुनेखानेमा उक्लिन्छ, तब अर्को हुँदा खाने वा विपन्न, श्रमिक अथवा सर्वहारा वर्गको जन्म पनि भइरहेको हुन्छ भन्छन् र अर्कातिर वर्गविहीन समाज वा साम्यवादको सपना पनि देखाउँछन् । यहाँ मार्क्स आफैँमा बाझिएका आलोचकहरूको मत छ ।
वास्तवमा यही कुराको पुष्टि यो बुँदाले पनि गरिदिएको छ कि एकातिर हुँदा खाने वा सर्वहारा वर्गको नेतृत्वको कुरा गरिएको छ अनि वर्ग निरन्तरताको पनि र वर्गविहीनता झूट हो पनि भनिएको छ । आफैँ अलमलमा रहेर दुनियाँलाई बाटो देखाउँछु भन्ने भ्रम एमालेमा पनि जीवित नै रहेछ अर्थात् यो दस्तावेज निर्माण र पारित गर्ने प्रखर नेतृत्वमा पनि रहेछ भन्नुपर्ने देखिएन र ?
अर्को रमाइलो यसै बुँदामा छ- ‘राज्य एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण गर्ने साधन हो । तर, जनताको राज्यको काम नियन्त्रण र दमन गर्ने मात्र होइन, आमजनताको नेतृत्व गर्दै जनताको निम्ति कल्याणकारी काम गर्नु हो । त्यसले जनवादविरोधी प्रतिगामी तत्त्वहरूलाई मात्र दमन र नियन्त्रण गर्छ । व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ । त्यस कारण हामीले अधिनायकत्व शब्दको सट्टा कार्यक्रममा आमरूपमा राज्यसत्ता भन्ने शब्द प्रयोग गरेका छौँ ।’
राज्य भन्नु नै एउटा वर्ग (शासक वर्ग भन्न खोजिएको हुन सक्छ)ले अर्को वर्ग (शासित वर्ग भन्न खोजिएको हो सायद)लाई नियन्त्रण गर्ने साधन हो भन्ने सुरुमै उल्लेख छ यस पङ्क्तिको । र, तल भनिएको छ, ‘तर, जनताको राज्यको काम नियन्त्रण र दमन गर्ने मात्र होइन, आमजनताको नेतृत्व गर्दै जनताको निम्ति कल्याणकारी काम गर्नु हो । त्यसले जनवादविरोधी प्रतिगामी तत्त्वहरूलाई मात्र दमन र नियन्त्रण गर्छ । व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ ।’
माथिका बुँदाहरूमा मानवअधिकार, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन्, शक्ति पृथकीकरण, कायम संविधानको पूर्ण पालनाका प्रतिबद्धता जनाउने यही दस्तावेजले यहाँनेर आएर विरोधाभाषी कुरा गर्छ । भन्छ, ‘त्यसले (अर्थात् राज्यले) जनवादविरोधी प्रतिगामी तत्त्वहरूलाई मात्र दमन र नियन्त्रण गर्छ । व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ ।’
‘जनवादविरोधी प्रतिगामी तत्त्व’ भनेका को ? के जबजकै अनुसार एमाले भविष्यमा तानाशाही वा एकदलीय निरङ्कुशतासहितको शासन प्रणालीमा जाने हो ? यसो नभए यो सन्दर्भ अर्थात् ‘जनवादविरोधी प्रतिगामी तत्त्व’माथि दमन र नियन्त्रणको कुरा किन यहाँ उल्लेख गरियो ? बहुदलीय वा लोकतान्त्रिक प्रणालीमा त कोही कसैमाथि पनि नियन्त्रण र दमन हुँदैन र सबै प्रणाली संविधान, ऐन र कानुनद्वारा सञ्चालन हुन्छ । जनता सबै अधिकारका समान हकदार हुन्छन् । तब, किन गरिनुपर्छ ‘जनवादविरोधीहरू’माथि दमन र नियन्त्रण ?
जबजका १४ विशेषतामध्येको अन्तिम र महत्त्वपूर्ण विशेषता बुँदा नं. ४.१४ मा छ- ‘जनताको बहुदलीय जनवाद’ शीर्षकमा ।
यस बुँदाले भन्छ, ‘हाम्रो कार्यक्रम सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरोधी कार्यक्रम हो । हाम्रो क्रान्ति सामन्तवाद-साम्राज्यवादविरोधी क्रान्ति हो ।’
यसलाई प्रस्ट पार्न चीन, कोरिया, भियतनाम र पूर्वी युरोपेली देशहरूको सन्दर्भ दिँदै ती देशमा पनि यस्तै क्रान्ति भएको उल्लेख गरिएको छ र भनिएको छ, ‘यी सबै ठाउँका क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरूलाई मुक्त पार्ने र साम्राज्यवादका सबै प्रकारका हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो । राष्ट्रिय पुँजी र उद्योग-व्यवसायको विकासको बाटो खोलेको थियो । राज्यसत्ताको एउटा तेस्रो रूप आमजनताको जनवादी संयुक्त राज्यसत्ताको स्थापना गरेको थियो ।’
अझ आफ्नो ‘क्रान्ति’लाई ‘नयाँ जनवादी क्रान्ति’को लेप लगाउन छाडिएको छैन यहाँ । थपिएको छ, ‘सामन्तवाद-साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अर्धउपनिवेशी उत्पादन सम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आमजनताको संयुक्त राज्यसत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा हाम्रो क्रान्ति पनि नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो ।’
यसो गर्नुको कारण हुन सक्छ, त्यस बेला अर्थात् यो दस्तावेज ‘जनताको बहुदलीय जनवाद’ निर्माण र पारित गर्ने समयमा सीपी मैनाली, मोहनचन्द्र अधिकारीलगायतकाहरू ‘नौलो जनवाद’कै पक्षमा थिए । मदन भण्डारीलाई मैनाली, अधिकारीलगायत नौलो जनवादका पक्षधरहरूलाई जबजप्रति ‘कन्भिन्स’ गर्न निकै सकस परेको थियो । र, यही कारण मैनाली, अधिकारीहरूको ‘मन राखिदिन’ मात्र मदन भण्डारीले आफ्नो दस्तावेजमा ‘नयाँ जनवादी क्रान्ति’ र ‘नयाँ जनवाद’ शब्दावलीको उल्लेख गरिदिएका हुन् भन्ने आधार यही दस्तावेजका अघिल्ला बुँदाहरू नै हुन्, जहाँ नयाँ जनवादसँग मेल खाने एउटै बुँदा त के शब्दसम्म भेटिँदैन । तर, यो अन्तिम बुँदामा भने ‘नयाँ जनवाद’ राखिदिएर थपथपाएका छन् ।
भनिएको छ, ‘अरू मुलुकमा कतिपय आफ्ना विशेषताहरूका सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद र कहीँ राष्ट्रिय जनवाद जस्ता नाम दिइयो । सार तत्त्वमा त्यो सबै नयाँ युगको सन्दर्भबाट जनताको जनवाद नै थियो । हामीले आफ्नो देशमा विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति एवं आजसम्मका अनुभवहरूलाई विश्लेषण गर्दै तिनै आधारभूत तत्त्वहरूको साथमा कतिपय भिन्न कुराहरू पनि समावेश गरेका छौँ, हामीले थपेका विषयहरूलाई प्रतिनिधित्व गर्ने मूल अभिव्यक्तिको हिसाबले ‘बहुदलीयता’लाई उल्लेख गरेका छौँ ।’
अझ थपिएको छ, ‘यस हिसाबले हामीले आफ्नो सन्दर्भमा उक्त क्रान्तिको कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनेर उल्लेख गरेका छौँ । वास्तवमा यो पनि हामीले आफ्नो सन्दर्भमा प्रयोग गरेको जनताको जनवाद नै हो । उपरोक्त अन्य देशहरूमा बहुदलीय प्रतिस्पर्धा रहेन । हामी भने त्यसभन्दा भिन्न सुस्पष्टरूपमा बहुदलीय प्रतिस्पर्धा सामेल गर्न चाहन्छौँ । यस अर्थमा हाम्रो कार्यक्रम र विचारको यो एउटा विशेष कुरा हो । यसलाई कार्यक्रममा पनि विशेष ढङ्गले उल्लेख गर्नु आवश्यक छ । त्यसै कारण कार्यक्रमको शीर्षकमा हामीले सार तत्त्व र आफ्ना थप विशेष कुराहरूसमेत समावेश गरेर ‘जनताको बहुदलीय जनवाद’ भनेका हौँ ।’
‘सामान्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरूप र सार दुवैलाई सटीक ढङ्गले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौँ ।’
यी हरेक बुँदालाई सूक्ष्म ढंगले हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नामभित्र रहेका ‘कम्युनिस्ट’ र ‘लेनिनवादी’ शब्द कताकता नमिलेका देखिन्छन् ।