लोकसंवाद संवाददाता | समाचार | कात्तिक २८, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल लामो स्वास्थ्य उपचारपछि राजनीतिक गतिविधिमा सक्रिय भएका छन् । दिल्लीमा मिर्गौला प्रत्यारोपणपछि काठमाडौँ फर्किएर लामो समय आराम गरेका खनालले शनिवार सुरु भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दस्ताबेज प्रस्तुत गरेका छन् । जसमा उनले जबजको सैद्धान्तिक पक्षको व्याख्यासहित अब पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । उनले मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको समेत उनले उल्लेख गरेका छन् ।
जनवादी क्रान्ति सम्पन्न
नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो कि भएन भन्नेबारेमा कम्युनिस्ट पार्टीहरुबीच एकमत पाइँदैन । केही कम्युनिस्ट पार्टीले अझै पनि नयाँ जनवादी क्रान्ति सम्पन्न भई नसकेको भन्दै सोहीअनुसार आफ्ना गतिविधि अघि बढाइरहेका छन् । कतिपय पार्टी भने अब जनवादी क्रान्ति सम्पन्न भएको उल्लेख गरेका छन् । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता खनालले प्रस्तुत गरेको दस्ताबेजमा पनि नयाँ जनवादी क्रान्ति सम्पन्न भएर समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आइपुगेको उल्लेख गरेका छन् । ‘हामी समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आयौँ । कम्युनिस्ट आन्दोलनलाई त्यो धरातलमा उठाउनुपर्छ’, उनले भनेका छन्, मार्क्सवाद–लेनिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्छ ।’
एमाले नेतृत्व दक्षिणपन्थी अवसरवादी
एमालेलाई विगतमा सफल नेतृत्व दिएका खनाल गत ९ भदौमा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेपछि उनी नयाँ पार्टीमा आबद्ध भए । पञ्चायतकालका कठिन दिनहरूमा आफूले नेतृत्वदायी भूमिका निभाएर एमालेलाई देशको सफल राजनीतिक पार्टी बनाएका खनालले राजनीतिक जीवनको उत्तरार्धमा आएर नयाँ पार्टी रोजेका छन् । उनले एमालेको नेतृत्व दक्षिणपन्थी अवसरवादी गुटले कब्जा गरेको र पार्टीको वैचारिक, राजनीतिक, सैद्धान्तिक विकास र रूपान्तरण ठप्प भएकोले आफूहरूले विद्रोह गर्नुपरेको उल्लेख गरेका छन् । उनले पाटीमा व्यक्ति स्वार्थ, पद लोलुपता र आफ्नो गुटलाई मात्रै पक्षपोषण गर्ने र अन्य कार्यकर्तालाई पाखा लगाउन थालेको तथा मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको कुरालाई अस्वीकार गरेका कारण आफूहरूले विद्रोह गरेर नयाँ पार्टी बनाएको उल्लेख गरेका छन् ।
उनले केपी ओलीको नेतृत्वमा रहेको एमालेको नेतृत्व गुटमा जमेर रहेको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहङ्कारवाद, व्यक्तिवाद, विसर्जनवाद र पुँजीवाद पन्थको बुँदा बुँदा केलाएर वैचारिक र सैद्धान्तिक रूपले खण्डन गर्दै त्यसले फैलाएका भ्रमबाट कम्युनिस्ट पंक्तिलाई मुक्त पार्नुपर्ने पनि आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् ।
उनले विद्रोहको कारणबारे उल्लेख गर्दै भनेका छन्, ‘नेपाली जनताले विगत चुनावमा दिएको दुई तिहाइको बहुमतलाई पटक पटक ध्वस्त पारेकाले, एकीकृत भइसकेको पार्टीलाई ‘उत्प्रेषणको आदेश’ गराएर फेरि विभाजन गरेको र एमालेलाई गुटको पार्टी बनाएकाले ।’
उनले नेपाली क्रान्ति र नेपाली समाजको चरित्रका बारेमा, पार्टीको लक्ष्यका बारेमा, पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्तका बारेमा पूर्ण रुपले दक्षिणपन्थी विश्लेषण अघि सारेको र एमाले नेतृत्व गुटको नेतृत्वमा समाजवादको दिशामा अघि बढ्न असम्भव भएकाले विद्रोह गर्नुपरेको उल्लेख गरेका छन् ।
विद्रोह भनेको विभाजन र विनाश होइन
नेता खनालले विद्रोह विभाजन र विनाश नभएको उल्लेख गरेका छन् । एमाले विभाजनलाई विद्रोहका रुपमा उल्लेख गरेका खनालले विद्रोहका कारणहरू उल्लेख गर्दै त्यसको औचित्य पुष्टि गर्ने कोसिस गरेका छन्:–
–विद्रोह जहिले पनि यथास्थितिवाद पश्च गमन विरुद्ध हुन्छ ।
–विद्रोह जहिले पनि नवीनताका निम्ति हुन्छ ।
–विद्रोह जहिले पनि नयाँ सिर्जनाका निम्ति हुन्छ ।
–विद्रोह जहिले पनि अग्र गतिमा बाधा विग्न पुर्याउने शक्ति र प्रवृत्तिका विरुद्ध हुन्छ ।
–विद्रोह जहिले पनि क्रान्तिकारी परिवर्तनका निम्ति हुन्छ ।
–विद्रोह जहिले पनि एउटा प्रणाली र पद्धतिलाई तोडेर नयाँ प्रणाली र पद्धति विकास गर्नका निम्ति हुन्छ ।
–त्यसैले हाम्रो विद्रोह न्यायपूर्ण छ, प्रगतिशील छ, क्रान्तिकारी छ, औचित्यपूर्ण छ । कहिलेकाहीँ आफैँले बनाएको संगठनमा विद्रोह गर्नुपर्छ ।
नेता खनालले आफैले बनाएको संगठनबाट विद्रोह गरेका उदाहरणका रुपमा पहिलो अन्तर्राष्ट्रियबाट मार्क्सको विद्रोह, दोस्रो अन्तर्राष्ट्रियबाट लेनिनको विद्रोह, पेरिस विद्रोह, अक्टोबर विद्रोह, दरभंगा विद्रोह, झापा विद्रोह आदिलाई उल्लेख गरेका छन् ।
जबजबारे के भन्छन् खनाल ?
एकीकृत समाजवादीका नेता खनालले मार्क्सवाद र वर्गीय लोकतन्त्रका चार ऐतिहासिक चरणबारे संक्षिप्त व्याख्या गरेका छन् । मानव जातिको ऐतिहासिक विकाससँगै विभिन्न सामाजिक, आर्थिक ढाँचाहरू विकसित भए । तिनीहरूकै प्रतिबिम्ब स्वरूप लोकतन्त्रका पनि विभिन्न रुपहरु विकसित भए । आदिम साम्यवाद, दास प्रथा र दासकालीन व्यवस्था, सामन्तवाद र सामन्ती व्यवस्था, पुँजीवाद र पुँजीवादी लोकतन्त्र, समाजवाद र समाजवादी लोकतन्त्रका बारेमा उनले दस्ताबेजमा उल्लेख गरेका छन् । यसैको आवरणमा विभिन्न देशमा विभिन्न नामका राजनीतिक शब्दावलीले व्यवस्थाहरूलाई परिभाषित गरेको पाइन्छ ।
नेपालमा पनि कम्युनिस्ट पार्टीहरूले राजनीति व्यवस्थाका लागि आफ्नो सैद्धान्तिक अवधारणाको विकास गरेका छन् । मदन भण्डारीले कम्युनिस्ट पार्टीलाई संसदीय राजनीतिक व्यवस्थामा होम्ने गरी जनताको बहुदलीय जनवादको रुपमा नयाँ सिद्धान्तको विकास गरेका थिए । एमालेले लामो समय यसलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अपनाउँदै आएको छ ।
नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापछि पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने क्रममा कहिले नयाँ जनवाद, कहिले नौलो जनवाद, कहिले राष्ट्रिय जनवाद वा राष्ट्रिय प्रजातन्त्र, कहिले जनताको जनवाद, कहिले लोक जनवाद भन्दै पाँचौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवाद भनिएको उल्लेख गरेका छन् ।
उनले स्वरूपमा जतिसुकै जनवाद जन्माए पनि तिनीहरू सारतः पुँजीवादी जनवाद कै रूप भएको उल्लेख गर्दै अहिले नेपालमा स्थापना भएको नै जनताको बहुदलीय जनवाद भएको र पाँचौँ महाधिवेशनमा मदन भण्डारीले अघि सारेको जनवादका माग, नीति र सिद्धान्तलाई संविधानमा पूर्ण रुपमा संस्थागत गरिएको बताएका छन् । उनले २०६२/६३ पछि पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको र नयाँ संविधानमार्फत पुँजीवादी जनवादकै एउटा रूप बहुदलीय जनवादलाई लागू गरिसकेको दस्ताबेजमा उल्लेख गरेका छन् ।
उनले दस्ताबेजमा भनेका छन्, ‘अब यो जनवादलाई भरपुर उपयोग गर्दै हाम्रो पार्टीले मुलुकलाई शान्तिपूर्ण प्रयत्नद्वारा लोकतान्त्रिक ढंगले समाजवादी क्रान्ति र रूपान्तरणको दिशातिर अघि बढाउनुपर्छ । अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद–लेनिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गर्नुपर्छ ।’
नेता खनालले नेतृत्वदायी पंक्तिमा नै सैद्धान्तिक बहस, छलफल र अध्ययनलाई गहिरो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले क्रान्तिको एउटा चरण पार गरेर ऐतिहासिक रूपले नै नयाँ चरणमा प्रवेश गरेको यथार्थलाई गहिरो गरी बुझ्नुपर्छ । अघिल्लो चरणको क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यभन्दा वर्तमान चरणका कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य गुणात्मक रूपले नै भिन्न हुन्छन् भन्ने कुरा बुझ्न र बुझाउनुपर्नेमा समेत जोड दिएका छन् ।
उनले केपी ओलीको नेतृत्वमा रहेको एमालेको नेतृत्व गुटमा जमेर रहेको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहङ्कारवाद, व्यक्तिवाद, विसर्जनवाद र पुँजीवाद पन्थको बुँदा बुँदा केलाएर वैचारिक र सैद्धान्तिक रूपले खण्डन गर्दै त्यसले फैलाएका भ्रमबाट कम्युनिस्ट पंक्तिलाई मुक्त पार्नुपर्ने पनि आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् । उनले पार्टीको कार्यशैलीमा व्यापक सुधार गर्ने, पार्टीको अध्ययन शैलीमा सुधार गर्ने, इतिहासको गहिरो अध्ययन गर्ने कुरामा समेत जोड दिएका छन् ।