अराजक राज्य र दलाल व्यवस्थाको अन्त्यका लागि जनताको विद्रोह

अराजक राज्य र दलाल व्यवस्थाको अन्त्यका लागि जनताको विद्रोह

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  कात्तिक २९, २०७८

राज्य भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कुल योग हो । अहिले नपाली राज्यका यी सबै अंगमा अराजकता मौलाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै अंगको अवस्था उस्तैउस्तै छ ।

जनताले निर्वाचित गरेको व्यवस्थापिका, व्यवस्थापिकाबाट बनेको कार्यपालिका र कार्यपालिकाले नियुक्त गरेका न्यायपालिकाले जनताको चाहना, भावना र मुलुकको आवश्यकताअनुसारको काम किन गर्न सकेनन् ? एउटा सार्भभौम राज्य यति धेरै किन अराजकताको भुमरीमा परेको छ ? प्रश्नको जबाफ जनताले खोज्जै छन् ।

यससँगै अर्काे प्रश्न पनि उठ्न सक्छ कि राज्य किन अराजकतातिर दौडिन्छ ? राज्यलाई अराजकतातिर दौडाउने त्यो शक्ति के हो ? अब जनताले बुझ्नेछन् । पक्कै पनि राज्यलाई अराजकतातिर लैजाने प्रमुख तत्त्व नै यो व्यवस्था हो भन्नेमा आमजनताको दुई मत छैन अब । त्यसैले आजको मुख्य समस्या भनेको नै दलाल संसदीय व्यावस्थ ानै हो भन्नेमा जनता सहमत छन् ।

जबजब राज्य अराजकताको लतले बौलाहा जस्तै बन्छ, तब जनताले त्यसको औषधि गरेको इतिहास पढ्न सकिन्छ । 

अराजक राज्य हुनुको प्रमुख कारक गैरजिम्मेवार राजनीतिक व्यवस्था हुने गर्छ । कुनै पनि मुलुकलाई कुन दिशातिर लैजाने भन्ने कुरा मुख्य रूपमा राजनीतिक व्यवस्थामा भर पर्ने कुरा हो । इतिहास नै हेर्ने हो भने पनि विगतका सम्राटहरू अराजक र स्वेच्छाचारी हुनुमा सामन्तवादी व्यावस्थाको ठूलो भूमिका थियो । पुँजिवादी लोकतान्त्रिक व्यवस्थामा पनि शासक अराजकतातिर जानुमा मुख्य भूमिका पुँजिवादी लोकतान्त्रिक व्यावस्थाको नै हो भन्नेमा सहमत हुन सक्ने ठाउँ छ ।

त्यसैले मुख्य गरेर जनताले बुझ्नुपर्ने कुरा हो, आजको मुख्य समस्या भनेको नै व्यवस्थापिकाका प्रमुख सभामुखको होइन, कार्यपालिकाका प्रमुख प्रधानमन्त्रीको होइन, न त यो न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको नै हो । त्यसैले मुख्य समस्या दलाल पुँजिवादी व्यवस्था र यस व्यवस्थाका माउतेहरूको हो ।

कुनै पनि राज्य र व्यवस्था भनेको मुलुक र जनताका निम्ति हुन्छ । तर, नेपालको सन्दर्भमा यस्तो किन देखिँदैन ? जनताले व्यवस्थामाथि किन प्रश्न गर्दै छन् ? यो व्यवस्थामा किन जनता असन्तुष्ट छन् ? यो कुरा लोकतान्त्रिक व्यवस्थाका मालिकहरूले समीक्षा गर्ने विषय हो । त्यसैले आजको मुख्य आवश्यकता भनेको नै लोकतन्त्रको बचाउ गर्दै व्यवस्था परिवर्तनका निमित्त जनताले गर्ने विद्रोह नै हुन सक्छ ।

जनताका आधारभूत कुरामा राज्यले व्यापार गरेको छ । राज्य संरक्षित २-४ जना दलाल पुँजिपतिको हातमा मुलुकको चाबी छ भन्न सकिन्छ ।

आज सबै चिज विदेशबाट आउँछन्, आन्तरिक उत्पादन अत्यन्त कमजोर छ । राष्ट्रका खम्बा भनिने युवा शक्ति आज दिनको २ हजारका दरले खाडी उड्छन् भने दिनको ७०० का दरले भारत गुड्नेको लर्काे छ । यतातिर कसैको ध्यान छैन, कसैले ख्याल गर्दैन ।

आसेपासे र भाइ भारदारहरूलाई नै सपार्नमा सरकार व्यस्त छ । निमुखा जनताको निरीह आवाज सुनिदिने न कुनै निकाय छ, न त कुनै व्यक्ति नै । यस कारण राज्यलाई सही दिशामा लैजाने हो भने पहिला व्यवस्था सही हुन जरुरी छ, व्यवस्था सही हुन जनताले आवाज उठाउन जरुरी छ । यसैले आजको प्रमुख लाडाइँ नै यो व्यवस्थाका विरुद्घ नै हुन सक्छ ।

जब राज्य अराजकतातिर चम्किन्छ, शासक स्वच्छन्दतातिर दौडेका बेला जनताको विद्रोहले कस्तो रूप लिन्छ भन्ने कुरा फ्रान्सको राज्य क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चीनको जनवादी क्रान्तिको अध्ययन गरे पुग्छ । त्यस कारण जसले यो देशको नेतृत्व गरिरहेका छन्, यो तिनका लागि सजगता पनि हो । जो आफ्नै देशमा भएर पनि ‘म नेपाली हुँ’ भन्न सकिरहेका छैनन्, जो आफ्नै आँगनमा भएर पनि आफ्नो हो भन्न सकिरहेका छैनन्, तिनले गर्ने विद्रोह सोचेभन्दा भयंकर हुन सक्छ ।

इतिहासको एउटा तीतो सत्य के हो भने, जब जनताले आफ्ना अधिकारका निमित्त आवाज उठाउँछन्, आफूलाई राज्यले बेवास्ता गरेको थाहा पाउँछन्, तब कसैले पनि रोक्न र छेक्न सकेको छैन । अब नेपाली जनताले बुझ्न जरुरी छ कि राज्य कतातिर जाँदै छ ? मुलुकको भविष्य कता जाँदै छ ?

यस्तो अवस्थामा एक नागरिकको भूमिका के हुनुपर्छ भन्ने कुरा अब नेपाली जनताले थाहा पाउनुपर्छ । एउटा सत्य घटनालाई हेर्ने हो भने, चिनियाँ जनताले आजभन्दा केही दशक अगाडि आवाज नउठाएका भए आज चीन यो ठाउँमा पुग्थ्यो वा पुग्दैनथ्यो, भन्न नसकिने अवस्था छ । त्यस कारण अराजक राज्य र स्वेच्छाचारी शासकको औषधि जनताको विद्रोह नै हो भन्ने इतिहासले पुष्टि गरेको विषय हो ।