वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीजीको पुस्तक ‘अन्तर्य’: संक्षिप्त चर्चा

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीजीको पुस्तक ‘अन्तर्य’: संक्षिप्त चर्चा

हरिहर दाहाल  |  साहित्य  |  कात्तिक ३०, २०७८

मित्र हरिप्रसाद उप्रेतीजीले रचना गर्नुभएको ‘अन्तर्य’ नामक पुस्तक पढ्ने मौका पाएँ । सर्वप्रथम ‘अन्तर्य’ नाम किन जुराउनुभएछ भनी घोत्लिन पुगेँ । यो पंक्तिकार आफू भाषाविद् नभएकाले ‘अन्तर्य’ भन्ने शब्दको अर्थका बारेमा धेरै जानकारी छैन । तर, नेपाली साहित्यमा ‘अन्तर्य’ भन्ने शब्दको प्रयोग भएको देखिन्छ ।

‘अन्तर्य’ संस्कृत भाषाबाट आएको तत्सम शब्द  हो । हिजोआज प्रायः पत्रपत्रिकामा पनि घटना/परिघटनाका बारेमा संप्रेषित समाचार हेर्दा र विश्लेषण गर्ने क्रममा ‘अन्तर्य’ शब्दको बहुधा प्रयोग भएको पाइन्छ । ‘अन्तर्य’ शब्दको प्रयोग गर्ने लेखकले गहिराइ, अभ्यन्तर वा भित्री पाटो र कुनैकुनै सन्दर्भको उद्देश्य वा लक्ष्य पनि बोध गर्ने वा विवेचना गरी जानकारी दिने ध्येय राखेका देखिन्छ ।

त्यसैले हरिजीले जीवनको गहिराइभित्र गएर आफ्नो अनुभूतिलाई लेखबद्ध गर्ने उद्देश्य राखी साँच्चिकै कुनै भाषाविद्सँग परामर्श गरी आफ्नो पुस्तकको नाम ‘अन्तर्य’ जुराउनुभएको देखिन्छ । किनकि, यस पुस्तकमा हरिजीले वास्तविक रूपमा आफूभित्रको ‘अन्तर्य’लाई बोधगम्य तथा सरल ढंगबाट वर्णन गर्नुभएको छ । 

प्रस्तुत पुस्तक ‘अन्तर्य’मा हरिजीले आफ्नो जन्म भएदेखि अहिलेसम्मको आफ्नो जीवनको सजीव चित्रण गर्नुभएको छ । त्यसैले यस पुस्तकमा उहाँको जीवनकथा मात्र नभएर उहाँको बाल्यावस्थादेखि लगभग ६५ वर्षको उमेरसम्म हरिप्रसादजीले आफ्नो समाज, राजनीति, तराई-मधेस र पहाडको भौगोलिक अवस्थासमेतको चित्रण गर्दै जागिरे जीवनदेखि अहिले आएर आफू कसरी एक कुशल र सक्षम कानुन व्यवसायी बन्न सकेँ भन्ने कुराको पनि विशद् वर्णन गर्नुभएको छ । 

कुनै लेखक कथ्य भाषा गर्न सिद्धहस्त हुन्छन् भने कोही भने लेख्य भाषा प्रयोग गर्न रुचाउँछन् । वास्तवमा मेरो अनुभवमा कथ्य भाषामा लेखिएको संस्मरण वा आत्मकथा बढी जीवन्त हुन्छ, किनकि, कथ्य भाषामा पाठकले पढ्दै जाँदा लेखकसँग तादात्म्यको अनुभूति हुन्छ । लेखक र पाठकको अन्तर्संवाद पनि हुन्छ । त्यसैले हरिजीले कथ्य भाषामा लेख्नुभएकाले यो पुस्तक आमपाठकको निमित्त रुचिकर हुने देखिन्छ । 

हरिजीको यस पुस्तकमा ४ वटा खण्डहरू समावेश भएका देखिन्छ । खण्ड (१)मा ‘जीवन र जरा’ शीर्षक राखी आफ्नो जन्मदेखि हजुरबुबा, हजुरआमा, बुबा, आमाका नामको अक्षयकोष स्थापनाका बारेमा वर्णन गर्नुभएको छ । खण्ड (२)मा ‘राजनीतिक परिवेश’ शीर्षक राखी आफ्नो राजनीतिक आस्था, दलीय संलग्नताको उल्लेख गर्नुभएको छ । खण्ड (३)मा ‘वकालत र न्यायपालिका’ शीर्षकको अध्यायमा आफूले वकिल बन्न गरेको संघर्ष र न्याय दिलाउन गरेका आफ्ना क्रियाकलापको मात्र वर्णन गर्नुभएको छैन, अपितु, न्याय क्षेत्रमा विद्यमान विकृति र विसंगतिको यथार्थ चित्रण गर्नुभएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्तर्यका बारेमा चर्चा गर्ने क्रममा धर्मनिरपेक्षता कसरी ४ जेठ २०६३ को प्रतिनिधिसभाको घोषणामा समावेश गरिएको रहेछ भन्ने तथ्यगत विवरणलाई प्रकाश पार्नुभएको छ । धर्मनिरपेक्षता जनआन्दोलनबाट जनादेश नहुँदा पनि सुवास नेम्वाङले धर्मनिरपेक्षता कसरी प्रतिनिधिसभाको घोषणामा समावेश गर्न सफल हुनुभयो भन्ने कुरा उल्लेख गर्दै धर्मनिरपेक्षतासँग जोडिएको सुवास नेम्वाङको भूमिकाका बारेमा राम्रो वर्णन गर्नुभएको छ ।

त्यसैगरी खण्ड (४)मा ‘नित्य/अनित्य’ शीर्षकअन्तर्गत विविध विषयहरू समेटिएका छन् । त्यसमा ‘दरबार हत्याकाण्ड’, ‘द्वन्द्वको पीडा’, ‘गुरुदेवको गुलाब’, ‘म’ जस्ता अध्यायहरूमा अभिव्यक्त भएका कुराहरू निकै घतलाग्दा छन् ।  

समग्रमा, पुस्तक पढ्दा हरिजीले कुनै व्यक्तिहरूका बारेमा उल्लेख गर्दा नडराई स्पष्टतापूर्वक अभिव्यक्त गर्नुभएको छ । आफ्नो आस्था भएको दलका नेताप्रति पनि तीखो टिप्पणी गर्नुभएको छ । वास्तवमा पुस्तक लेखकले लेख्ने क्रममा चपाएर लेख्न खोज्यो भने यथार्थ बाहिर आउँदैन । त्यसैले हरिजीले जे अनूभूति गर्नुभयो, सोहीअनुसार साहसपूर्वक उल्लेख गर्न सक्नु नै लेखकको विशेषता हो । 

‘मेरा कमजोरीहरू’ शीर्षकमामा हरिजीले आफू नेपाल बार एसोसिएशनको अध्यक्षको उम्मेदवार हुन नपाएको असन्तुष्टि वा पीडालाई पनि नलुकाई भन्नुभएको छ, ‘अचेतन मनमा त्यो असन्तुष्टि भने लुकिराखेकै जस्तो लाग्छ’ भन्ने शब्दसमेत उल्लेख गर्नुभएको रहेछ । तर, उहाँले भन्नुभएको छ ‘मैले जीवनमा जे जति परिप्राप्ति गरेको छु, त्यो परिप्राप्तिमा धेरै जनाको सद्भाव र सहयोग रहेको ठान्दछु ।’ पुस्तकमा हरिजीको यो उदात्त भावना पनि मुखरित भएको छ ।

हरिजीले सूक्ष्म रूपमा आफूले भोगेको घटनाको चित्रण मात्र गर्नुभएको छैन, अपितु, प्रत्येक घटनासँग जोडिने पात्रहरूको नामसमेत उल्लेख गर्नुभएको छ । आफूलाई विभिन्न समयमा पढाउने शिक्षकहरू तथा आफूसँग पढेका सहपाठीदेखि लिएर आफूले विभिन्न कालखण्डमा संगत गर्नुभएका साथीहरूको नामसमेत स्मरण गरी लेख्न सक्नु पनि उहाँको लेखन शैलीको वैशिष्ट्य हो ।

हरिजीले रचना गर्नुभएको यस पुस्तकमा समाविष्ट सामग्रीले नयाँ पिँढीका निमित्त प्रेरणादायी हुनुका साथै जसले आत्मकथा तयार गर्दै हुनुहुन्छ, उहाँहरू समेतलाई प्रेरित गर्न सहयोग गर्न सक्ने मेरो विश्वास छ । 

अन्त्यमा, स्वस्थानी ब्रतको सांगे भएकै दिनमा हरि उप्रेतीजीकी आमालाई व्यथा लागेको समयमा पञ्चामृत खाएपछि उहाँको जन्म भएकाले हरिजीले गर्भमा नै पञ्चामृत खानुभएकाले हरिजीको बचन र कर्म सदैव दिव्य पञ्चामृत जस्तै भइरहोस् । पूर्वप्रधानन्यायाधिश श्री अनुपराज शर्माले हरि उप्रेतीजीलाई दिनुभएको संज्ञा ‘माचो म्यान’ (Macho Man) जस्तै आकर्षक व्यक्तित्व सदैव हुन सक्नुहोस्, यही शुभकामना छ । अतः हरिजीको यो पुस्तक पठनीय रहेको छ भन्ने मेरो अनुभूति रहेको छ । 

अस्तु ।

(लेखक दाहाल वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)