लोकसंवाद संवाददाता | समाचार | बैशाख २९, २०७६
काठमाडाैं । मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको ‘भ्युटावर’ बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ । निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी फिर्ता मागेका छन् । बिकोई त्यही ठेकेदार कम्पनी हो, जसले खुलामञ्चमा अवैध सटर बनाई साना व्यापारीलाई भाडामा लगाएको थियो ।
पोखराका धीरज गुरुङमार्फत सिंगापुरका दुई सय ८० जना अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले लगानी गर्ने भएका थिए । उनीहरूलाई कम्पनीको ४९ प्रतिशत सेयर दिनेगरी सम्झौता भयो । त्यसका लागि गोरखा सैनिकले पहिलो किस्ताबापत २४ करोड रुपैयाँ कम्पनीको बैंक खातामा हालिदिए । रकम हात पर्नेबित्तिकै बिकोईले लगानीकर्तासँग विवाद झिक्यो । विवाद बढ्दै गएपछि गोर्खा सैनिकले लगानी फिर्ता मागे । बिकोईले २० जेठको भाकामा नोयल अमेल कम्पनीको नाममा २४ करोड रुपैयाँको चेक काटेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।