एजेन्सी | विदेश | मंसिर ०१, २०७८
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ ।
योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल व्यवस्थापनको जिम्मा लिनेछ ।
गत महिना अमेरिकी संसदीय समितिले गरेको एउटा छानविनमा ट्रम्प राष्ट्रपति हुँदा सो होटेललाई ७ करोड डलर नोक्सानी भएको सार्वजनिक भएको थियो ।
राष्ट्रपतिको कम्पनीले सो होटेललाई सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरेको थियो ।
२६३ वटा कोठा भएको सो होटेललाई ट्रम्प संगठनले ६० वर्षअघि लिजमा लिएको थियो । सन् २०१९ पछि होटेल बिक्रीमा राखिएको थियो ।
१२० वर्ष पुरानो होटेल भवन अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसबाट केही माइल टाढा छ । ऐतिहासिक ओल्ड पोस्ट अफिस भवनलाई सन् २०१२ मा होटेलको रूपमा विकसित गर्न ट्रम्प अर्गनाइजेसनले स्वीकृति पाएको थियो ।
त्यसको ४ वर्षपछि त्यसलाई होटेलको रूपमा खोलिएको थियो, जति बेला ट्रम्पले राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको प्रस्ताव स्वीकारेका थिए ।
ट्रम्प राष्ट्रपति हुँदा सो होटेल रिपब्लिकन नेताहरूको भेटघाटको अखडा थियो ।
होटल विवादमा तानिएको थियो । होटेलका मालिकको राम्रो चरित्र नभएको भन्दै धार्मिक नेताहरूले मदिरा बिक्रीका लागि होटेलले पाएको इजाजत खारेज हुनुपर्ने माग गरेका थिए ।
कंग्रेसको संसदीय समितिले ट्रम्पले आफ्नो कार्यकालमा होटेलले १५ करोड डलर फाइदा कमाएको भन्दै बढाइचढाइ गरेको हालै निष्कर्ष निकालेको थियो ।
होटेलले ७ करोड डलर नोक्सानी गरेको सो समितिले जनाएको थियो । बरु होटेलले विदेशी सरकारहरूबाट ३७ लाख डलर प्राप्त गरेको कागजपत्रमा देखिएको थियो ।