गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला धुर्मुस-सुन्तलीलाई ‘निल्नु न ओकल्नु’: घोषणा ६९, उठ्यो ९ करोड !

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला धुर्मुस-सुन्तलीलाई ‘निल्नु न ओकल्नु’: घोषणा ६९, उठ्यो ९ करोड !
रकम घोषणा ६९ करोड, उठ्यो ९ करोड

पी. भारद्वाज  |  दृष्टिकोण  |  मंसिर ०२, २०७८

एक समय थियो, जतिबेला नेपालमा अभियान्तहरूले चाहेजति रकम र सहयोग प्राप्त गर्थे । त्यसका पछि नेपालमा गएको ठूलो भूकम्प, बाढी-पहिरो र गरिब बस्तीको आवाज कारण बन्थे । यिनै दुःख र पीडासँगै हास्य अभिनयमा पोख्त जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) हास्य गतिविधिसँगै विस्तारै समाजसेवामा ढल्किए ।

उनीहरूलाई केही कुराको अभाव थिएन । विदेशमा नियमित कार्यक्रम थिए । स्वदेशमा पनि मोफसलमा हुने महोत्सवहरूमा राम्रो पारिश्रमिक थियो । धेरैले उनीहरूलाई माया र विश्वास दिए । 

स्वाभाविक रूपमा उनीहरूले देश दौडाहाका क्रममा देखेका पीडामा मह्लम लगाउने उद्देश्य राखे । त्यसअनुसार एकीकृत बस्ती निर्माणमा हात हाले, जसमा उनीहरू यसरी सफल भए कि त्यसपछिको महत्त्वाकांक्षाले अहिले धुर्मुस-सुन्तलीलाई ‘रुनु न हास्नु’को अवस्थामा पुर्‍याएको छ ।

सुरुमा एकपछि अर्को गर्दै ४ वटा एकीकृत बस्ती निर्माण गरे । विदेशमा बस्ने नेपालीले दुःखमा परेका नेपालीलाई घरको जोहोमा सहयोग गरे । तुलनात्मक रूपमा संभव हुने यस योजनामा धुर्मुस-सुन्तलीले कहिले पनि अभाव महसुस गर्नुपरेन । ५-६ करोड रुपैयाँमा तयार भए एकीकृत बस्ति अनि तोकिएकै समयमा निर्माण गर्दै बस्ती हस्तान्तरण गरे धुर्मुस-सुन्तलीले । त्यसपछि झनै उनीहरूले स्वदेश र विदेशमा भएका नेपालीको मन जिते । उनीहरूले भनेको काम समयमा नै सम्पन्न भएको थियो ।

क्रिकेट सफलता र क्रेजमा लोभिएका धुर्मुस-सुन्तली

सोही समयमा नेपाली खेलकुदमा क्रिकेटले तहल्का मच्चाइरहेको थियो । सन् २०१६ को टी-२० विश्वकपमा सहभागी भएर शानदार प्रदर्शन गरेको नेपाली क्रिकेट टिमको लोकप्रियता चर्चामा थियो । अर्कातिर नेपाल क्रिकेट संघको चर्को आलोचना भइरहेको थियो ।

धेरैले नेपाली क्रिकेटले मैदान नभएर नै ठूलो उपलब्धि हासिल गरेको भन्दै सरकारलाई एउटा अन्तर्राष्ट्रिय स्तरको मैदानका लागि दबाब दिइरहेका थिए । लगातार नेपाली क्रिकेटले दिलाएको सफलता थपिँदै गयो । क्यान प्रतिबन्धका बाबजुत सन् २०१८ मा नेपालले एक दिवसीय मान्यता पायो ।

एकपछि अर्को सफलता र फ्यान फलोइङले धुर्मुसलाई पनि तान्यो । स्वेदश तथा विदेशमा देखिएको क्रिकेट क्रेजलाई उनले क्यास गर्ने प्रयास गरे । अनि, घोषणा गरे- अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको ।

धुर्मुस-सुन्तलीले जनताको आवाजलाई होस्टेमा हैँसे गर्ने निर्णय मात्र लिएनन्, अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माणको घोषणा नै गरे, त्यो पनि जनश्रमदानबाटै । अझ जनताबाट पैसा उठाएर नै अन्तर्राष्ट्रिय स्तरको रंगशला निर्माण गर्ने जनाए ।

उनीहरूको उक्त घोषणाले तत्कालीन क्रिकेट समर्थकमा खुसीको सीमा रहेन । सक्नेले सहयोग पठाउन सुरु गरे । घोषणा गरेको छोटो समयमै ८-१० करोड रुपैयाँ उठ्यो । यसले उनीहरूलाई झनै उत्साहित बनायो । रंगशाला निर्माणको घोषणासँगै उनीहरूले पूर्वदेखि पश्चिमसम्म जग्गाको खोजी गरे ।

उक्त समयमा सबै चाहन्थे- आफ्नो ठाउँमा रंगशाला निर्माण होस् भनेर  । अन्ततः उनीहरूले खोजेको र चाहेको जस्तो जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराउने भयो । त्यसपछि सुरु भयो- धुर्मुसको रंगशाला अभियान । भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने भयो- ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला ।’

३ अर्ब रुपैयाँको प्रोजेक्ट

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर- १६ स्थित कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माणका लागि डीपीआर तयार भयो, जसअनुसार २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने बताइयो ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला नेपालको मौलिकता झल्किने गरी कमलको फूलको आकारमा निर्माण गरिने तय भयो । २५ हजार दर्शक क्षमताको रंगशाला नेपालमै पहिलो ठूलो रंगशालाका रूपमा रहने तय भयो ।

साथै, रंगशालासँगै अभ्यासका लागि २ वटा छुट्टै अभ्यास मैदानसमेत हुने भयो । सोचेअनुरूप सुरुवात पनि भयो । २०७५ को फागुनदेखि निर्माण कार्य सुरु गरियो । सुरुवातमा धुर्मुसको जोस, जाँगरअनुरूप दाताहरूले पनि सहयोग रकम घोषणा गरे । एक प्रकारले पूरै देश, विदेश नै धुर्मुस-सुन्तलीको उक्त महाअभियानमा होमियो । तर, यो प्रोजेक्टको भोल्युम नै यति ठूलो थियो कि यसमा राज्य आफैँ नलागी योजना सफल हुने संभावना कम थियो ।

५-७ करोड रुपैयाँबाट बस्ती निर्माण गरेजस्तो सहज थिएन ३ अर्ब रुपैयाँ संकलन गरेर रंगशाला बनाउने कुरा । यद्यपि, काम निरन्तर जारी रह्यो । थोरबहुत रकम उठिरह्यो । बीचमा कोरोना महामारीले अर्थतन्त्र शिथिल भयो । मानिसहरूको जनजीविका नै संकटमा पर्‍यो । यसको प्रत्यक्ष मार रंगशालाई पनि पर्‍यो । विस्तारै चन्दा उठ्न कम भयो । अर्थात्, ३ अर्ब रुपैयाँको प्रोजेक्टमा करिब ५५ करोड रुपैयाँको काम भएपछि अहिले निर्माण कार्य रोकिएको छ ।

रकम घोषणा ६९ करोड, उठ्यो ९ करोड

त्यसो त धुर्मुसले रंगशाला निर्माणका लागि पैसा उठाउन कुनै कसर बाँकी राखेका छैनन् । उनले रकम उठाउनका लागि महायज्ञको समेत आयोजना गरे, जहाँ ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ रकम कबोल भयो  । तर, ९ करोड २५ लाख ५९ हजार ९०५ रुपैयाँ मात्र उठ्यो । बोलकबोल रकम दिने हो भने रंगशाला निर्माण रोकिने थिएन तर ६० करोड १९ लाख रुपैयाँभन्दा बढी रकम बोलकबोलमै सीमित भयो । उक्त रकम नउठ्दा रंगशालको ऋण बढ्दै गयो । अहिले १७ करोड रुपैयाँ ऋण पुगेपछि रंगशालाको काम रोकिएको हो ।

रंगशला निर्माणसँगै अनेक अफवाहको सिकार भए धुर्मुस । कतिपयले रंगशाला आवश्यक नभएको भन्दै अभियान नै चलाए । कतिपयले धुर्मुसले रंगशाला निर्माणमा अनियमितता गरेको आरोपसमेत लाउन भ्याए । अझ खान नपाएर सडक पेटीमा पुगेकाहरूको सहयोग गर्नुको साटो रंगशाला निर्माण गरेको भन्दै आलोचना गर्नेहरूको जमात बढ्दै गयो । कतिपयले अस्पताल नभएर मानिसहरू छट्पटाइरहेको समयमा रंगशालामा बेतुकको खर्च गरेको भन्दै आलोचना गरे । यी सबै कुराको पनि केही न केही असर पक्कै पर्‍यो यस अभियानमा ।

अब के हुन्छ ?

केही दिनअघि मात्र धुर्मुसले एक भिडियो सन्देश जारी गर्दै रंगशाला निर्माण रोक्नुपर्ने कारण दिए । उनले पुनः सबैलाई सहयोगको आग्रह गर्दै यो देशको रंगशाला भएको भन्दै आश्वस्त पार्ने प्रयास गरे । तर, उनको यो ‘ड्रिम प्रोजेक्ट’मा अत्यधिक लगानी आवश्यक छ । उनले त्यसका लागि सबैको ढोका चहारिसकेका छन् ।

धुर्मुस अब पहिला जस्तो उत्साहित छैनन्, किनकि, ३३ प्रतिशत काम नभई रकम अभावसँग उनी जुध्नुपरेको छ । अनेक आलोचना सुन्नुपरेको छ । १७ करोड रुपैयाँ ऋणका कारण हरेक दिन साहुको फोन र दिग्दारीले आजित बनेका छन् । समग्रमा उनलाई यो रंगशाला निर्माण अभियान निल्नु न ओकल्नु भइसकेको छ ।

उनी भिडियोमार्फत अझै उत्साहित हुन खोजे पनि उनी गलेको देखिन्थ्यो, जसका कारण धुर्मुसलाई यो महाअभियान ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएको छ । अब आफैँले सुरु गरेको र सयौँले विश्वास गरेर अर्बौं रुपैयाँ सहयोग लिइसकेपछि सम्पन्न गर्नुपर्ने चुनौती एकातिर छ, अर्कातिर रकम नपुगेर बीचमै रंगशाला अलपत्र पर्दै गएको छ । यो दोसाँधमा उभिएका धुर्मुसलाई ३ अर्ब रुपैयाँको यो प्रोजेक्ट सोचेभन्दा निकै मुस्किल बन्दै गएको छ ।

सरकार पनि सकार्न चाहँदैन दायित्व

त्यसो त, धुर्मुसलाई सुरुवातबाटै सहयोग गर्नेमा आश्वस्त पार्नेमा सबै ठूला दलका नेतादेखि तत्कालीन प्रधानमन्त्री केपी ओली तथा भरतपुरका मेयर रेणु दाहाललगायत ठूलै जमात थियो ।

तर, यो ठूलो प्रोजेक्ट भएकाले स्थानीय सरकारको बलमा यो रंगशाला निर्माण हुने संभावनै छैन । त्यसमा पनि भरतपुरले यो रंगशालाको निर्माणको स्वामित्व लिएमा थप अन्योल हुनेछ किनकि, धुर्मुसले उठाएको पैसा के हुने र आगामी दिनमा उनले बनाएको डीपीआरअनुसार काम हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्नेछ ।

उसो त, भरतपुर महानगरपालिकाको बजेटले यो रंगशाला निर्माण हुँदैन । केन्द्र सरकारले चाहेमा मात्र रंगशालाले पूर्णता पाउनेछ । तर, केन्द्र सरकारले पनि रंगशाला निर्माणमा अहिले चासो देखाएको छैन । पछिल्लो समय अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयमा गएर समेत धुर्मुसले आफ्ना कुरा राखेका छन् । तर, तत्काल सरकार यो अलपत्र बनेको रंगशाला सकार्ने पक्षमा छैन । यद्यपि, रंगशाला निर्माणमा निरन्तर सहयोग गर्ने भने बताउँदै आएको छ सरकार ।

विभिन्न स्थानीय तहले पनि रंगशाला निर्माणका लागि सहयोग जारी राखेका छन् । अझै पनि धुर्मुस-सुन्तलीले निरन्तर सहयोग उठाउँदै आएका छन् यसका लागि । तर, अलपत्र रंगशला कहिलेदेखि निर्माण सुरु होला, त्यो भने अन्योलमै छ ।