एमालेमा आकाङ्क्षी व्यवस्थापनमा सकस : महासचिवमा ओलीको रोजाई शंकर पोखरेल

लोकसंवाद टिप्पणी

एमालेमा आकाङ्क्षी व्यवस्थापनमा सकस : महासचिवमा ओलीको रोजाई शंकर पोखरेल

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ०५, २०७८

आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्न एमालेको १०औँ महाधिवेशन आगामी साता चितवनमा हुँदै छ । यसअघि नै विधान महाधिवेशन गरिसकेका कारण यस पटक एमालेको महाधिवेशनले नेतृत्व चयन मात्र गर्नेछ । जसमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जनाको पदाधिकारी चयन हुनेछन् ।

यस्तै १५ सदस्यीय अनुशासन आयोग र लेखा आयोग पनि बनाइनेछ । यस पटक एमालेको महाधिवेशनमा अघिल्लो महाधिवेशनमा जस्तो प्यानल निर्माण गरेर नेतृत्वका लागि निर्वाचन हुनेछैन ।  पार्टीलाई लामो समय नेतृत्व गरेका, पूर्व प्रधानमन्त्री र वरिष्ठ नेता समेत रहेका माधवकुमार नेपाल र झलनाथ खनाल एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

आठौँ महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका केपी शर्मा ओलीले नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष बनेका थिए । यस पटक दुवै नेता एमालेमा नभएका कारण ओली अध्यक्षमा दोहोरिने निश्चितजस्तै छ । 

पदाधिकारीमा दर्जनौँ दाबेदार

एमालेको पदाधिकारीको टिम १५ जनाको हुनेछ । अध्यक्षमा केपी ओली निश्चित भए पनि त्यसपछिका अन्य पदमा भने आकाङ्क्षी व्यवस्थापनमा ओलीलाई सकस देखिएको छ । ओली अध्यक्षमा नदोहोरिएको अवस्थामा अध्यक्ष बन्ने चाहाना राखेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षका दाबेदार हुन् । उनी दुई पटक महासचिव भइसकेका छन् । यसैगरी उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य पनि वरिष्ठ उपाध्यक्षका दाबेदार हुन् । रावलले भने अध्यक्षमा ओलीलाई चुनौती दिन सक्ने सम्भावना समेत रहेको छ । तर यसको औपचारिक घोषणा भने उनले गरिसकेका छैनन् ।

सर्वसम्मतिका नाममा ओलीले आफूनिकटलाई व्यवस्थापन गरेमा अरु नेताहरू रुष्ट बन्ने, आफूलाई संकटमा साथ दिएका पूर्वमाओवादी नेताहरुदेखि १० बुँदेका नाममा एमालेमा बसेका नेताहरूलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने अवस्था छ । 

सहमतिमा नै पदाधिकारी चयन भएमा रावलले उपाध्यक्ष नपाउने निश्चितजस्तै छ । एमालेभित्रको लामो विवादमा माधवकुमार नेपाललाई साथ दिएका उनी एकीकृत समाजवादीमा नगए पनि एमालेभित्र १० बुँदे कार्यान्वयन हुनुपर्ने पक्षमा उभिँदै आएका छन् । एमालेमै बसे पनि उनी ओलीका कडा आलोचक रहेका कारण पनि उनलाई ओलीले फेरि पदाधिकारीमा राख्ने सम्भावना न्यून छ ।

शाक्य ५ उपाध्यक्षमध्ये एक हुनसक्ने सम्भावना छ भने ज्ञवाली पनि आकाङ्क्षी भए पनि उनलाई ओलीले उपाध्यक्ष बनाउने सम्भावना कम छ । यसैगरी माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापा पनि उपाध्यक्षका दाबेदार हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमालेको अन्तरसंघर्षमा पनि ओलीलाई साथ दिएका उनलाई ओलीले उपाध्यक्ष बनाउन सक्छन् । यसैगरी पूर्व सभामुख सुवास नेम्वाङ पनि उपाध्यक्षका दाबेदार हुन् । यसैगरी पृथ्वी सुब्बा गुरुङलाई पनि उपाध्यक्षको दाबेदारका रुपमा हेरिएको छ । 
यसैगरी महासचिवमा दाबेदार विष्णु पौडेल, शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे  महासचिवका आकाङ्क्षी हुन् । तत्कालीन नेकपामा समेत पौडेल महासचिव थिए । तर नेकपा विभाजन र एमाले विभाजन रोक्न महासचिव हुँदा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ओलीको रोजाईमा शंकर पोखरेल पर्ने पक्कापक्की भएकाे छ ।

नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका पोखरेल यस पटक महासचिव बन्ने दौडमा रहेको र त्यसमा अध्यक्ष ओली नै लागि रहेको बताइन्छ । त्यसको पूर्व तयारी स्वरूप विधान अधिवेशनमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्न लगाएर कार्यकर्लाताई सन्देश दिएको र महाधिवेशन प्रतिनिधि छनोट नै त्यसैगरी भएको बताइन्छ । पाण्डे भने अघिल्लो महाधिवेशनमा ईश्वर पोखरेलसँग पराजित भएका थिए । उनी विगतमा एमालेमा अध्यक्ष केपी ओलीको चर्को आलोचक भए पनि पछिल्लो समयमा मौन छन् । उनी पनि महासचिवको दाबेदार हुन् । तर उनलाई पनि ओलीले महासचिव बनाउने सम्भावना कम छ । 

उपमहासचिवमा भने वर्तमान उपमहासचिव घनश्याम भुसाल र प्रदिप ज्ञवालीमध्ये एक जना हुन सक्छन् । तर ओलीको रोजाईमा भने ज्ञवाली नै पर्ने सम्भावना छ । भुसालले अध्यक्षमै केपी ओलीसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको पनि उनीनिकट नेताहरू बताउँछन् । विगतमा १० बुँदे सहमतिमार्फत एमालेमै रहेको भए पनि १० बुँदे पक्षधर नेताहरू नै तितरबितर भएका कारण यो समूहलाई पदाधिकारीमा स्थान बनाउन ओलीको आशीर्वादबिना सम्भावना कम देखिन्छ । 

उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा माओवादीबाट आएका र १० बुँदेमार्फत एमालेमा बसेका नेताहरूलाई समेट्नुपर्ने दबाब अध्यक्ष ओलीलाई छ । तर उनलाई लामो समयदेखि साथ दिँदै आएका नेताहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकाले दोहोरो दबाबमा ओली परेका छन् । त्यसैले अध्यक्षमा सर्वसम्मत भए पनि तलका पदमा नमिल्दा निर्वाचन हुने सम्भावना समेत देखिन्छ । 

यस पटक एमालेमा ७ जना सचिव हुनेछन् । तर, ७ जनाको कोटामा २ दर्जनभन्दा बढी दाबेदार छन् । हालका सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य तीनै जना १० बुँदे सहमतिसँगै एमालेमा बसेका र सचिवका बलिया दाबेदार हुन् । 

यसैगरी उपमहासचिव नपाए प्रदिप ज्ञवाली पनि सचिवमै दोहोरिने सम्भावना पनि छ । माओवादीबाट आएका टोपबहादुर रायमाझी उपाध्यक्षमा बार्गेनिङ गरेर सचिवसम्म पाएमा बस्ने तयारीमा छन् । यस्तै सुदूरपश्चिममा भीम रावलका प्रतिस्पर्धी रहेका कारण लेखराज भट्टलाई कम्तीमा पनि सचिव बनाउनुपर्ने दबाब ओलीलाई छ । शेरबहादुर तामाङ, किरण गुरुङ, खगराज अधिकारी, हिक्मत कार्की, राजेन्द्र गौतम, यामलाल कँडेल कर्ण थापा पनि सचिवमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । रघुविर बहासेठ, माओवादीबाट आएका मणि थापा र प्रभु साह पनि सचिवका दाबेदार हुन् । लालबाबु पण्डित, शेरधन राई, राधा ज्ञवाली, पद्मा अर्याल, गोकुल बास्कोटा, विष्णु रिमाललगायतले पनि सचिव बन्ने चाहाना राखिरहेका छन् । 

महाधिवेशन नजिकिएसँगै पदाधिकारीका आकाङ्क्षीहरू पनि धेरै देखिएका छन् । सर्वसम्मत गर्नका लागि दाबेदारहरूलाई चित्तबुझ्दो तरिकाले बुझाउनुपर्ने दबाब अध्यक्ष ओलीलाई हुनेछ । सचिवमा स्थान नपाएकालाई स्थायी कमिटीमा समेट्नुपर्नेछ । पोलिटब्युरो नभएका कारण स्थायी कमिटीमा पनि नअटेका नेताहरू भने केन्द्रीय सदस्य बन्नेछन् । आकाङ्क्षीहरू बढ्दै गएपछि महाधिवेशनसम्ममा निर्वाचनमार्फत नै टुङ्गो लगाउनुपर्ने अवस्था देखिएको छ । सर्वसम्मतिका नाममा ओलीले आफूनिकटलाई व्यवस्थापन गरेमा अरु नेताहरू रुष्ट बन्ने, आफूलाई संकटमा साथ दिएका पूर्वमाओवादी नेताहरुदेखि १० बुँदेका नाममा एमालेमा बसेका नेताहरूलाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।