पुरिन्द्र रावल | दृष्टिकोण | मंसिर १४, २०७८
शोषण, अन्याय र दमनका विरुद्घ सुरुवात हुन्छ दास विद्रोह । आजभन्दा धेरै अगाडिको यो विद्र्रोह इतिहासमा दास विद्रोहका नामले परिचित छ । दास, जो रोमन साम्राज्यका विलासिताका आधार थिए । दास, जो मालिकहरूका लागि जीवित उत्पादनका साधनहरू थिए । दास, जसको जीवनको एउटै उद्देश्य थियो- मण्डीमा बिक्री हुनु र मालिकको आज्ञा पालन गर्दै मृत्यु वरण गर्नु ।
यो थियो दासहरूको कथा । दासहरूले यस किसिमको अवस्थाबाट उम्किनका लागि ३ वटा विद्रोह गर्नुपर्यो, जसमध्ये तेस्रो विद्रोह इसाको जन्मभन्दा ७३ वर्ष अगाडि भएको थियो । यसका नेता थिए दास स्पार्टाकस । सुसंगठित र योजनबाद्घ ढंगले लडाइँ लडेका थिए । यसको पनि आफ्नै महत्त्व र इतिहास छ ।
इतिहासले धेरै पछाडि छाडिसकेको दासता हाम्रो समाजमा भने नयाँ रूपमा देखिएको हामी देख्न सक्छौँ । समयले फड्को मारेर समाज आधुनिक युगतिर प्रवेश गर्दै गर्दा हाम्रो चिन्तन र सामाजिक परिस्थिति पछाडि फर्केको देखिनु चिन्ताको विषय हुन सक्छ । जसरी रोमन साम्राज्यको विलासिताको सम्पूर्ण शक्ति, वैभव र विलासिताका आधार दास थिए भने आज राज्यका विलासिताका आधार जनता बनेका छन् ।
लोकतान्त्रिक व्यवस्था भनेको त जनताले जनताद्वारा जनताका लागि गरिने व्यावस्था भनेर भनिन्छ । तर, यो किसिमको व्यावस्था नदेखिनु नै चिन्ताको विषय हो । यसैलाई भन्न सकिन्छ, आधुनिक दासता ।
प्रजातान्त्रिक व्यवस्था भनेको त जनतालाइ मालिक बनाउने व्यावस्था हो, जनतालाई सम्मान गर्ने व्यवस्था हो । आज त्यो अवस्थामा नेपाली जनता किन देखिँदैनन् ? प्रश्न व्यवस्थामाथि हो । जसरी दासहरू किनबेच हुन्थे, अहिले पनि जनता त्यसरी नै किनबेच भएकै छन् । मात्र बेच्ने प्रक्रिया फरक भएको छ ।
त्यति बेला कोर्रा हानेर बेचिन्थ्यो भने अहिले पासपोर्ट थमाएर बेचिन्छ । फरक यति हो । बेचिएका नागरिकले पठाएको विप्रेषण (रेमिट्यान्स)मा शासक रमाएकै छन् । यो किन भयो ? कसरी भयो ? प्रश्न व्यवस्था र शासक दुवैका लागि हो ।
जसरी दासहरूका शत्रु रोम साम्राज्य र सामन्ती शासक थिए, त्यसरी नै नेपाली जनताका शत्रु यो व्यवस्था र व्यवस्थाका मालिक नै हुन् भन्न सकिन्छ । त्यसैले आजको मुख्य समस्या नै दलाली व्यवस्था हो । यो व्यवस्थामा जो प्रधानमन्त्री भए पनि, राष्ट्रपति भए पनि मुलुकलाई गुलाम र जनतालाई दासै बनाउने हो
यसैले अब जनताले बुझ्नुपर्छ- हाम्रै रगत र पसिना बगाएर ल्याएको व्यवस्थामा पनि हामी किन दास छौँ ? यदि एक जना दास स्र्पाटाकसको मुक्तिको विचार नआइदिएको भए ती हजारौँ वर्षदेखिका दासहरूले मुक्तिको सपना देख्न सक्ने थिएनन् होला । त्यस कारण अब नेपाली जनताले पनि मुक्तिका सपना देख्न जरुरी छ । जसरी रोम साम्राज्यका शासकहरूले दासलाई उत्पादनका साधन बनाएर विलासी जीवन बिताउँथे, त्यसै गरी अहिले नेपालको हकमा पनि यो लागू हुन्छ भन्न सकिने ठाउँ छ । किन भन्दा देशको उत्पादन सबै खरानी बनाएर जनतालाई विदेशमा बेचेर सत्तामा रमाउने जुन प्रवृत्ति देखिएको छ, यो नै दासता वा आधुनिक दासता हो भन्न सकिन्छ ।
यसको प्रमुख दोषी को हो ? अब जनताले बुझ्नुपर्छ । जसरी दासहरूका शत्रु रोम साम्राज्य र सामन्ती शासक थिए, त्यसरी नै नेपाली जनताका शत्रु यो व्यवस्था र व्यवस्थाका मालिक नै हुन् भन्न सकिन्छ । त्यसैले आजको मुख्य समस्या नै दलाली व्यवस्था हो । यो व्यवस्थामा जो प्रधानमन्त्री भए पनि, राष्ट्रपति भए पनि मुलुकलाई गुलाम र जनतालाई दासै बनाउने हो ।
त्यस कारण मुख्य जरालाई समात्न जरुरी छ । त्यति बेला शक्तिशाली व्यक्तिका दास हुन्थे भने अहिले पार्टीका दास छन् । त्यस बेला शासकका दास हुन्थे भने अहिले नेताका दास छन् । यो नै आधुनिक दासताको प्रमुख प्रमाण हुन सक्छ । त्यसैले अबको लक्ष्य चेतनाको विकासतिर हो । अब जनताले समीक्षा गर्नुपर्छ ।
अब कांग्रेसका लागि बोल्नुको कुनै महत्त्व छैन । अब एमालेका लागि लड्नुको कुनै औचित्य छैन र अब ‘माओवादी जिन्दावाद’ भन्नुको कुनै माने छैन । त्यस कारण अब जनताले आफ्नालागि आफैँ लड्नुको कुनै विकल्प छैन ।
जसरी रोम साम्राज्यका मालिकहरूले दासहरूलाई उत्पादनका साधन बनाएर विलासी जीवन बिताएका थिए, त्यसै गरी जनतालाई अर्काको गुलाम बनाएर, अर्काको नोकर बनाएर आफू सत्तामा रमाउने अहिलेका दलाल नेताहरूको जीवनशैली छ । अब यसैलाई परिवर्तन गर्न जरुरी देखिन्छ ।
त्यस कारण मुक्तिको पहिलो जग नै विचार भएकाले अब नेपाली जनताले मुक्तिगामी विचार बोक्न आवश्यक छ । मानव जातिका लागि स्वतन्त्रताको विगुल फुक्ने स्पार्टाकसको दास विद्रोहलाई संसारभरिका स्वतन्त्रताप्रेमीले उच्चमूल्यांकन गरेका छन् । तर, स्पार्टाकसलाई त्यसभन्दा बढी धन्यवाद भावी पिँढीले दिनेछ, जसले मानव जातिको स्वतन्त्रताका लागि संघर्ष गरे र बलिदानी दिए ।