लोकसंवाद संवाददाता | समाचार | मंसिर १५, २०७८
नेकपा एमालेको दसौँ महाधिवेशन निर्धारित समयभन्दा दुई दिनपछि सम्पन्न भएको छ । बन्द सत्रले केन्द्रीय कमिटी चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि 'इलेक्सन' भन्दा 'सेलेक्सन'को बाटोमा गएको महाधिवेशन अन्ततः सर्वसहमति जुटाउन नसकेपछि अध्यक्ष सहत केही पदमा निर्वाचनमार्फत नयाँ केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ ।
यसपटक एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भए पनि कसले जित्छ र कसले हार्छ भन्ने कुरा निश्चितप्राय थियो । यसपटकको महाधिवेशनबाट अध्यक्ष ओलीले चाहेका व्यक्तिहरू पदाधिकारीदेखि केन्द्रीय कमिटीमा छानिएका छन् भने उनको आलोचना गर्ने कुनै पनि नेताले स्थान पाउन सकेनन् । बन्द सत्रको हलमा अध्यक्ष ओलीले वाचन गरेर सुनाएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा प्रस्तावित अधिकांश विजयी हुँदा लामो समयदेखि पार्टीमा निरन्तर योगदान गरेका, खारिएका र सिनियर नेताहरू छुटेका छन् । कतिपय क्लस्टरबाट केन्द्रीय सदस्य छान्दा सिनियर र जनवर्गीय संगठनको नेतृत्व गरिसकेका नेताहरू केन्द्रीय कमिटीमा परेनन् भने कतिपय जुनियर र संगठनको नेतृत्व गरिरहेकाहरू केन्द्रीय सदस्य बनेका छन् ।
महाधिवेशन पार्टीका नेता कार्यकर्ताको जनवादको उच्चतम प्रयोग गर्ने थलो मानिन्छ । तर एमालेको दसौँ महाधिवेशनमा केन्द्रीयताको छायामा जनवाद ओझेल परेको छ । देशमा करिब दुई तिहाइको हाराहारीमा बहुमत भएको कम्युनिस्ट पार्टीको सरकार, देशका ७ मध्ये ६ प्रदेशमा सरकार बनाएको र विशाल जनसमर्थन भएको पार्टी टुक्रा टुक्रामा विभाजित हुँदा केन्द्र भागमा रहेका एमाले अध्यक्ष केपी ओलीको भूमिकालाई कम्युनिस्ट आन्दोलनकाे महाधिवेशनमा समीक्षा समेत भएन । समीक्षा कुनै बेला अवश्य होला ।
तर एमालेको केन्द्रीय कमिटी भने यति बेला ओलीको लाचार छाया जस्तो बनेको छ । ओलीले वाचन गरेर मध्यरात सुनाएको संचीमा रहेकाहरू नै पदाधिकारी चयन भए । यदि ओलीले सुरुमा पदाधिकारी घोषणा नगरीकन विधानको व्यवस्थाअनुसार प्यानल नबनाई पदाधिकारीको निर्वाचन गरेको भए यो भन्दा फरक परिणाम पनि आउन सक्थ्यो । तर पदाधिकारी घोषणा गरेर निर्वाचनमा लगिदा ओलीको इच्छामा नपरेका नेता निर्वाचित हुन कठिन थियो ।
त्यसमाथि पनि ओली नै एमाले र एमाले नै ओलीजस्तो गरी प्रचार गरिएको, सोही अनुसार प्रतिनिधि चयन गरिएको, दुई पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत रहेका केपी ओलीविरुद्ध प्रतिस्पर्धा गरेर जित हात पार्न अध्यक्षका उम्मेदवार रहेका भीम रावललाई सहज थिएन । एमालेको विधानमा प्यानल बनाएर लड्न रोक लगाइएको थियाे । तर ओली समूहले प्यानल नै बनाएर रावलसहितका नेताहरु विरुद्ध भोट नहाल्न भन्दै प्रचार गरेको थियो ।
नवौँ महाधिवेशनमा माधवकुमार नेपालको प्यानलबाट उपाध्यक्षमा लडेर पराजित भएका लालबाबु पण्डित लामो समयदेखि ओली समूहमा नै थिए । तर पदाधिकारीमा नपरेपछि उनी पार्टीको केन्द्रीय सदस्य समेत अस्वीकार गरेर महाधिवेशन सकिनुअघि नै काठमाडौँ फर्किएका थिए । उनले ओलीको सूचीबाट केन्द्रीय सदस्य पाए पनि वैधानिकता दिने मनोनयनमा सहभागी नै भएनन् ।
यसरी चौतर्फी घेराबन्दीका बाबजुद रावलले अध्यक्षमा २२३ मत ल्याए । एमालेका करिब ८ लाख पार्टी सदस्य छन् । महाधिवेशन प्रतिनिधिलाई यही आधारमा भाग लगाउने हो भने हरेक ३७२ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि भएको देखिन्छ । रावलले प्राप्त गरेको मतलाई यही आधारमा हिसाब गर्ने हो भने उनले ८ लाख पार्टी सदस्यमध्ये झन्डै ८३ हजार कार्यकर्ताको मत पाएको देखिन्छ ।
यस आधारमा रावललाई २२३ मत जित्नका लागि अपर्याप्त मात्रै होइन, अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पाएको मतको छेउमा निकै कमजोर हो । तर उनको पक्षमा पार्टीमा ठुलो जनमत रहेको अनुमान गर्न सकिन्छ । उनी नवौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । एमालेमा चलेको विवादमा माधवकुमार नेपालको पक्षमा लागेका रावल अन्तिममा १० बुँदे सहमति गरेर एमालेमा बसेका थिए । एमालेमा बसे पनि उनले पार्टीमा सम्मान र न्याय भने पाउन सकेनन् । जसले गर्दा उनी अध्यक्षमा उम्मेदवार बने । यससँगै उनी अब एमालेको कार्यकारी भूमिकामा नरहने बताइसकेका छन् ।
रावल लामो समयदेखि अध्यक्ष केपी ओलीको आलोचकका रुपमा देखिँदै आएका थिए । सोही कारण ओलीको एकाधिकार रहेको एमालेमा रावलसहितका नेताहरूलाई ओलीको विरोधीका रुपमा चित्रित गर्न खोजिएको थियो । यसै कारण पनि एमालेको दसौँ महाधिवेशनमा ओलीका क्रियाकलापको आलोचना गर्नेहरूले स्थान पाएका छैनन् भने ओलीप्रति बफादार र ‘एसमेन’ हरू कमिटीमा समेटिएका छन् ।
अब केन्द्रीय कमिटीमा ओलीको प्रतिकुल हुने र उनको विरोध गर्नेहरू धेरै कम हुनेछन् । ओलीको रोजाइमा नपरेका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिए पनि ओलीले चुनावअघि नै पदाधिकारी घोषणा गरेका कारण जित हात पार्न सकेनन् । बिना प्यानल एकल प्रतिस्पर्धामा उत्रिएका भुसालले उपाध्यक्षमा ७२५ मत ल्याए भने सचिवमा प्रतिस्पर्धा गरेका भीम आचार्यले ७८८ र टंक कार्कीले ५५९ मत पाए । उनीहरू सबै जना ओलीको छनोट सूचीमा थिएनन् ।
ओली समूहले मतदान नगर्न गरेको आग्रहबीच एकल उम्मेदवारीबाट सम्मानजनक मत हासिल गरेका हुन् । ओलीको तजबिजी अधिकारबाट ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष बनेका छन् भने सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डे उपाध्यक्ष बनेका छन् । उनीहरू सबै ओलीले तयार पारेको सूचीमा अटाएकामा व्यक्ति हुन ।
एमालेमा शक्तिशाली पद महासचिवमा ओलीका ‘एसम्यान’ शंकर पोखरेल छानिए । उपमहासचिवमा ओलीका विश्वासपात्र विष्णु रिमालसँगै पृथ्वी सुब्बा गुरुङ र प्रदीपकुमार ज्ञवाली छानिएका छन् । उनीहरू ओलीको रोजाइबाटै उपमहासचिव बन्न सफल भएका हुन् । यस्तै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्ट विजयी भएका छन् । विजयी भएका सबै जना ओलीको सूचीमा सामेल थिए ।
पराजित भएका दुई जना भीम आचार्य र टंक कार्की ओलीको छनोटमा नपरेकै कारण पदाधिकारीमा चुनावमा पराजय भोग्न बध्य भए । आचार्य यसअघिका पनि सचिव थिए । एमालेको १९ जना पदाधिकारीमध्ये अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई विगतमा माधवकुमार नेपाल समूहमा थिए भने बाँकी सबै ओलीका विश्वासपात्र हुन् । पदाधिकारीमा छानिएका यी नेताहरू पनि १० बुँदे सहमतिमार्फत एमालेमा बसेर ओली पक्षमा नै क्रियाशील थिए ।
पदाधिकारीमा ओलीका बफादार विजयी बन्दा धेरै सिनियर नेताहरू पाखा लागेका छन् । पदाधिकारीमा जम्मा २ जना महिला छानिएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा ओलीको विश्वासपात्रको रुपमा काम गरेकी पद्मा अर्यालले स्थान पाएका छन् ।
नवौँ महाधिवेशनमा माधवकुमार नेपालको प्यानलबाट उपाध्यक्षमा लडेर पराजित भएका लालबाबु पण्डित लामो समयदेखि ओली समूहमा नै थिए । तर पदाधिकारीमा नपरेपछि उनी पार्टीको केन्द्रीय सदस्य समेत अस्वीकार गरेर महाधिवेशन सकिनुअघि नै काठमाडौँ फर्किएका थिए । उनले ओलीको सूचीबाट केन्द्रीय सदस्य पाए पनि वैधानिकता दिने मनोनयनमा सहभागी नै भएनन् ।
यसपटक ओलीले आफ्नो अनुकूल हुनेलाई सूचीमा सामेल गरे भने अन्यलाई उम्मेदवार नै बन्न नदिने र उम्मेदवार बने पनि निर्वाचित हुन नदिने नीति लिए । महाधिवेशनको बन्द सत्र सुरु गर्नुपर्नेमा उनी आफू पक्षका नेताहरूलाई एक अर्का विरुद्ध उम्मेदवार बन्नबाट रोक्न व्यस्त भए । त्यसपछि सुरु भएको बन्द सत्रबाट पनि पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफ्नो हातमा लिए । यसरी जो ओलीको सूचीमा परे, उनीहरू सहज रुपमा जित्ने र जो परेनन् उनीहरू राम्रा र सिनियर नेताहरू भए पनि पराजित हुन पुगे ।
ओलीको आशीर्वाद बिना जित्न नसक्ने ठानेका कारण धेरैजसोले उम्मेदवारी दिने हिम्मत नै गरेनन् । यसअघि पार्टीभित्र छलफल हैन भीम रावलले उम्मेदवारी घोषणा गर्न पार्टी कार्यालय प्रयोग गर्न समेत पाएनन् । महाधिवेशनका क्रममा उनी विरुद्ध असहिष्णु ओलीका कार्यकर्ताले 'गद्दार', 'पार्टी विभाजनका मतियार, होसियार ! लगायतका नाराबाजी नै लगाएका थिए ।
उनलाई बन्द सत्रमा बोल्ने मौका दिइएन भने पाएको बेला बोल्दा समेत हुटिङ र होहल्ला गरिएको थियो । उनले अध्यक्षमा आफू उम्मेदवार बन्नुपर्ने कारणबारे बन्द सत्रमा जानकारी गराउन समेत पाएनन् । ओलीको सूचीमा नपरेकालाई मतदान नगर्न सार्वजनिक रुपमा लिखित रुपमा नै प्रचार गरियो । यसरी हेर्दा ओली र उनको समूह पार्टीभित्र फरक मत राख्नेको नामोनिशाना मेटाउन लागि परे । फरक मत राख्नेलाई निषेध गरेर ओलीले आफू अनुकूलको टिम तयार पार्न सफल भएका छन् । तर यो टिमले आगामी दिनमा एमालेलाई कस्तो दिशातर्फ लैजान्छ भन्ने हेर्न चाहिँ बाँकी छ ।