मोहना अन्सारी: अभियानकर्मी/मुस्लिम समुदायको आदर्शदेखि संवैधानिक आयोगको सदस्यसम्म

मोहना अन्सारी: अभियानकर्मी/मुस्लिम समुदायको आदर्शदेखि संवैधानिक आयोगको सदस्यसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर १७, २०७८

मोहना अन्सारीलाई मुस्लिम समुदायकी एक अभियानकर्मीका रूपमा मात्र चिनाउँदा उहाँप्रति अन्याय हुन जान्छ । 

अभियानकर्मीका रूपमा मात्र नभई एउटा पिछडिएको समुदायको न्यून आर्थिक अवस्थाबाट विभिन्न संघर्ष गर्दै आफ्नो प्रतिभा तथा क्षमताका कारण बनेको नाम हो मोहना । 

उहाँको नाम अहिले मुस्लिम समुदायमा एउटा आदर्शको रूपमा लिइने जानकारी काठमाडौंस्थित अमेरिकी राजदूतले नेपालगंजको मदरसा भ्रमणका क्रममा पाएको बताउनुभएको थियो उहाँसँगको कुराकानीमा । यसले पनि उहाँको परिचयको दायरा के हो भन्ने बताउँछ । 

उहाँले १० वर्ष नेपालको संवैधानिक आयोगमा बसेर काम गर्नुभएको छ । 

तर, कानुन फरक कुरा हो र व्यवहार फरक हो भन्ने नीति निर्माता तथा कार्यान्वयन तहमा रहेकाले बुझेको भने पाउनुभएन उहाँले । यसमा भने उहाँको केही दुखेसो छ । 

तर, संवैधानिक आयोगमा लामो समय बसेर नीति निर्माणमा केही सहयोग पुर्‍याउन पाएकामा भने उहाँ आभारी हुनुहुन्छ । 
०००

नेपालगंज आर्थिक हिसाबले पछाडि परेको शहर । त्यसै शहरमा उहाँका बुबा अरूको फर्निचर पसलमा काम गर्नुहुन्थ्यो । तर, उहाँको कालीगढी उत्कृष्ट थियो । त्यस कारण उहाँले पछि आफ्नै पसल खोल्नुभयो । 

कालीगढीका कारण उहाँको पसल रिजवान फर्निचर हाउस बाँके जिल्लामा चर्चित रह्यो । पसल सानै थियो तर पनि काठमाडौंसम्म नै उहाँका फर्निचर पुग्थे । 

अरूकोमा ज्यालादारी गरेर बल्ल २ सन्तान भइसकेपछि उहाँले आफ्नो पसल खोल्नुभएको थियो । बाँकी अरू ३ सन्तान थिए । 

उहाँको घर तथा पसल ऐलानी जग्गामा थियो । त्यसको उहाँले कर तिर्नुहुन्थ्यो । यसरी ऐलानी जग्गामा बस्ने करिब ६० परिवार थिए । 

अरू धेरैले ऐलानी जग्गा आफ्नो नाममा बनाए । तर, कर तिरेको कागजात आफ्नो हातमा भए पनि उहाँको जग्गा भने स्थानीय जमिन्दारको नाममा दर्ता हुन पुग्यो ।

जग्गाका लागि उहाँले सर्वोच्चसम्म मुद्दा लड्नुभयो । तर पनि जग्गा आफ्नो नाममा आएन । उहाँ १० वर्षकी हुँदा बसेको घर तथा जग्गा छाड्नुपर्‍यो । यस्ता विविध कारणले आर्थिक अवस्था राम्रो रहेन । निम्न रह्यो आर्थिक अवस्था । 

०००

उहाँको बाल्यकाल त्यति सुखद् रहेन । सुखद यस कारण रहेन कि आर्थिक अवस्था कमजोर थियो । तर, यसो भन्दैमा बालापनमा गुच्चा खेलेका, चंगा उडाएको, डन्डी-बियो खेलेका, पोखरीमा माछा मारेका क्षण जिन्दगीको सबैभन्दा सुखद् क्षण थिएन कसरी भन्न सकिन्छ र ! 

तर, अलिक उमेर बढेपछि भने बिस्तारै घरबाहिर जान अलिक बन्देज लाग्न थाल्यो । 

०००

उहाँको शिशु कक्षा बाल मन्दिरबाट सुरु भएको हो । बाल मन्दिरको त्यस बेलाको शिशु कक्षा भनेको अहिलेको मण्टेश्वरी जस्तै थियो । 

हलुवाको खाजासँगै खेल्दै रमाइलो गर्दै बित्थ्यो दिन । बाँकी प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा भने मंगलप्रसाद माविमा भयो । 

स्थानीय समाजसेवी मंगलप्रसादले आफ्नै लगानीमा स्थापना गर्नुभएको थियो विद्यालय । त्यस कारण पनि अन्य विद्यालय जस्तो बस्नका लागि घरबाट चकटी लिएर जानुपर्ने अवस्था थिएन । 

डेस्क, बेन्चको सुविधा थियो । एउटा कक्षामा प्राय: २५-३० जना हुन्थे । छात्र तथा छात्राको अनुपात ६०/४० को हुन्थ्यो । 

फि तिर्न नसकेका कारण २-३ महिना स्कुल नगएका नमीठा सम्झना पनि छन् उहाँका । कहिले त कक्षामै फि नतिर्नेको नाम बोलाइदिँदा लाजले मुख निहुर्‍याउनेबाहेक अर्को विकल्प रहँदैन थियो । 

०००

उहाँ ‘ब्याक बेञ्चर’ होइन । अगाडि बस्न नै रुचाउनुहुन्थ्यो । उहाँलाई सानैदेखि पुलिस, आर्मी जस्ता सुरक्षा निकायमा जान मनपर्थ्यो । सायद यसका कारण परिवारलाई समाजमा भएको हेला होचो भन्ने लाग्छ उहाँलाई । 

उहाँले ९ कक्षामा पढ्दा नेपाली सैनिकले त्यस बेला दिने ६ महिने एनसीसी तालिम लिने अवसर पाउनुभयो । त्यो नै उहाँको पहिलो शारीरिक तालिम थियो । 
०००
स्कुलमा छात्र र छात्राका २ वटा छुट्टै लाइन हुन्थे बेन्चका । छात्राको संख्या कम भएका कारण छात्रहरू पनि छात्राको लाइनमा आएर उहाँको अगाडिको किताब हटाएर जबर्जस्ती बस्थे । 

तर, अर्को कक्षामा भने उहाँहरू झगडा गरेरै अगाडि बस्नुहुन्थ्यो । कतिपय अवस्थामा छात्रहरूले कुटाइ पनि खाएका छन् । अहिले सम्झँदा गलत लागे पनि त्यो हेपाइको विरुद्ध थियो भन्ने लाग्छ उहाँलाई । 

केटाहरूले जिस्क्याएका कारण कतिपय केटीले पढ्नै छाड्थे । कति बालिका विद्यालयमा जान्थे । अहिले यो गलत भयो भनेर प्रहरीमा उजुरी गर्न सकिन्छ । तर, त्यस बेला शिक्षकलाई समेत भन्न सक्ने अवस्था थिएन ।

०००

जेठोबाठोले घर व्यवहारमा सहयोग गर्नुपर्ने बाध्यताका कारण उहाँको जेठी दिदीले पढ्ने अवसर पाउनुभएन । उहाँ भने माहिली । त्यसपछि २  भाइ  । 

उहाँ मुस्लिम समुदायकी महिला । त्यस समुदायमा पुरुषलाई त शिक्षा, दीक्षा तथा अन्य कुराका अप्ठ्यारा छन् भने उहाँ त झन् महिला । तर, यी व्यवधान भने उहाँले झेल्नुपरेन । किनकि यसका बारेमा आफन्तदेखि आफ्ना समुदायसँग बाझ्ने, जुध्ने काम बुबाले नै गर्नुभयो । 

उहाँले १४ वर्षको उमेरमा नै एसएलसी दिनुभएको हो । तर, १६ वर्ष पुग्नुपर्ने बाध्यताका कारण उहाँको आधिकारिक मिति भने २०३० भयो । उहाँलाई आधिकारिकताले ३ वर्ष पाको बनायो । 

उहाँले २०४७ सालमा एसएलसी दिँदा ४० जना विद्यार्थी थिए । पास हुने २८ जनामा उहाँ सेकेन्ड डिभिजनमा उत्तीर्ण हुन सफल हुनुभयो ।  

०००

एसएलसीपछि के पढ्ने भन्ने खासै मेसो थिएन उहाँमा  । फर्म भने नर्सिङ तथा कानुनको भर्नुभयो । बुबाको वकिल, सरकारी कर्मचारीसँगको संगत अनि ऐलानी जग्गामा भोग्नुपरेको दुःखका कारण पनि छोरीलाई कानुन पढाउन चाहनुहुन्थ्यो । 

नाम त नर्सिङमा पनि ननिस्केको होइन तर डिपोजिट धेरै गर्नुपर्ने हुनाले उहाँले पढ्नुभएन । कानुनमा भने सस्तो थियो । 

०००

उहाँ २ दशक अगाडि पहिलो पटक बुबासँग काठमाडौं आउनुभएको हो । त्यस बेला तिनाउमा पुल नभएका कारण गोरखपुर हुँदै नेपाल आउनुपर्थ्यो । 

उताको बस उतै हुन्थ्यो । झोलुंगेबाट मानिस वारि आएर बुटवलबाट बस चढ्नुपर्थ्यो काठमाडौंका लागि । 

काठमाडौं आएर उहाँ रत्नपार्कमा झर्नुभयो । काठमाडौंको खासै धेरै सम्झना नरहे पनि काठमाडौं अहिलेको जस्तो थिएन । यातायात घना थिएन । वसन्तपुर घुम्न जानुभएको थियो । बसाइ ३ दिनको थियो त्यो बेला । 

०००

आईएल सकाएपछि उहाँ ९ महिना डा. शान्ता थपलियाको कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक)सँग आबद्ध हुनुभयो । 

त्यस बेला उहाँले कानुनका धेरै पक्ष बुझ्नुभयो । कानुनमा छोरीले ३५ वर्ष कटेपछि मात्र अंश पाउने व्यवस्था थियो । यसका विरुद्ध काठमाडौं तथा मोफसलमा आन्दोलन चलिरहेको समय थियो त्यो । 

ल्याकसँगको उहाँको आबद्धता बुबाले आवश्यक फर्निचर पठाइदिएबापत बसेर तालिम लिने किसिमको थियो । 

०००

ल्याकको तालिम लिएर फर्किएपछि उहाँ एम्नेष्टी इन्टरनेसनल नेपालगंज शाखाको सदस्य बन्नुभयो । अभिवक्ताको तालिम पनि लिनुभयो । तर, कानुन व्यवसाय गर्छु भन्ने थिएन । अभ्यास पनि त्यति थिएन । सानोतिनो लिखतसम्म लेख्नुहुन्थ्यो । 

नेपाल बारले दिएको कानुनी तालिम पनि लिनुभयो । पछि गाउँका मानिसलाई लिखत तथा कानुनसम्बन्धी जानकारी साथै मानवअधिकारका तालिम पनि दिन थाल्नुभयो । 
मधेसी तथा मुस्लिम समुदायका मानिस मुद्दा धेरै लडे पनि कानुनसम्बन्धी जानकारी भने थिएन । उहाँहरूले स्कुल तथा गाउँगाउँमा कानुनका बारे जानकारी गराउनुहुन्थ्यो । 

कार्यक्रम नर्वेजियन बारको सहयोगमा नेपाल बारले चलाएको उहाँलाई पछि थाहा भयो । २०४६ सालपछिको यस कार्यक्रमबाट नेपाल बारले पनि आफूलाई चिनाउने अवसर पायो ।

नेपालगंजको स्थानीय पत्रिकामा २ वर्ष करिब पत्रकारिता पनि गर्नुभयो । काठमाडौंका 'दृष्टि', 'प्रकाश'मा पनि लेख्ने काम गर्नुभयो । 

०००

एसएलसी सकिएलगत्तै उहाँले बच्चाहरूलाई ट्युसन पढाउने काम गर्नुभयो । पैसा हुनेले दिन्थे, बाँकी निःशुल्क । सायद यो नै उहाँको पहिलो कमाइ थियो । कमाइ २-४ सय रुपैयाँ भए पनि त्यसको महत्त्व बेग्लै थियो ।

पैसा माग्न पनि एकदमै निम्न वर्गीय बच्चाहरू भएको हुनाले मनले नै मान्दैन थियो । दिए ठिकै, नदिए समाजसेवा । अहिले पनि उहाँको त्यो क्रम रोकिएको छैन । 

उहाँसँग यो कुराकानी हुँदै गर्दा उहाँ बलात्कृत बालिकाको तर्फबाट निःशुल्क कानुनी लडाइँ लड्न वीरगंज जाने तयारीमा हुनुहुन्थ्यो । 
०००

आईएल सकाएपछि उहाँ सामाजिक अभियानकर्मीको रूपमा नै अगाडि आउनुभयो । तर, आर्थिक तथा अन्य पारिवारिक कारणले बीएल 'ज्वाइन' गर्न सक्नुभएन । यसै बीचमा विवाह पनि भयो । 

हाल उहाँका २ छोरी हुनुहुन्छ । जेठी छोरी एमबीबीएस सकेर पाटन अस्पतालमा काम गर्दै हुनुहुन्छ । कान्छी छोरी भने ए लेभल सकेर विदेश जाने तयारीमा हुनुहुन्छ । 

०००

उहाँ मुस्लिम समुदायकी महिला । त्यस समुदायमा पुरुषलाई त शिक्षा, दीक्षा तथा अन्य कुराका अप्ठ्यारा छन् भने उहाँ त झन् महिला । तर, यी व्यवधान भने उहाँले झेल्नुपरेन किनकि यसका बारेमा आफन्तदेखि आफ्नो समुदायसँग बाझ्ने, जुध्ने काम बुबाले नै गर्नुभयो । 

'मेरा सन्तानलाई के गर्नुपर्छ भन्ने मलाई थाहा छ' भनेर बेलाबेला त्यस्ता मान्छेलाई जबाफ फर्काएको उहाँलाई राम्रै थाहा छ । 

बुबाआमा अशिक्षित भए पनि बुबालाई सन्तानलाई पढाउनुपर्छ भन्ने एउटा चेत थियो । पढे भने सन्तानले आफ्नो अगाडिको बाटो आफैँले तय गर्छन् भनेर बुबाले बेलाबेला भनेको उहाँलाई सम्झना छ । 

०००

बीएल 'ज्वाइन' गरेपछि भने उहाँले पढाइलाई निरन्तरता दिनुभयो । पास गर्नुभयो अनि एउटा ल फर्ममा अभ्यास गर्न थाल्नुभयो । तर, उहाँको रुझान मानवअधिकार, समाज विकास आदि भएको हुनाले अभ्यास त्यति लामो गएन । 

कानुनी अभ्यास पनि खासै भएन कारण थियो उहाँका सेवाग्राहीको खुट्टामा चप्पल हुँदैन थियो । अब चप्पल नै नभएका सेवाग्राहीसँग पैसा माग्न उहाँको आत्माले दिएन । 

उहाँको पहिलो 'केस' नै सम्पत्तिसँग जोडिएको एक जना वृद्ध महिलाको थियो, जसलाई पतिले सम्पत्तिबाट बञ्चित गर्न खोज्नुभएको थियो । ती वृद्धलाई सम्पत्तिको अधिकार दिलाइसकेपछि भने उहाँलाई काम गर्न सकिँदो रहेछ भन्ने विश्वास भयो । 

त्यो मुद्दापछि भने उहाँ कानुनी अभ्यासमा भन्दा पनि जागिरतिर लाग्नुभयो । 

०००

बीएल पढ्दै गर्दा उहाँले फेयर लर्न भन्ने बोर्डिङमा पढाउनुभयो । तलब २ हजार ५०० रुपैयाँ थियो । पछि बढेर ३ हजार ५०० रुपैयाँ भयो । कानुनी अभ्यास छाडेपछि भने उहाँले नारी कल्याण नामक स्थानीय गैरसरकारी संस्थामा काम गर्न थाल्नुभयो । तलब २१ हजार रुपैयाँ थियो । 

पैसा राम्रो भए पनि पारिवारिक जिम्मेवारी थपिएका कारण त्यो पनि अपुग थियो । 

पछि एक्सन एडमा ३ वर्ष काम गर्नुभयो । तलब थियो ३५ हजार रुपैयाँ । अनि, एलएलएमका लागि विदेशमा पढ्न आवेदन दिनुभएको थियो । 

हङकङ युनिभर्सिटीमा स्वीकृत पनि भएको थियो । तर, आशिंक छात्रवृत्ति भएका कारण बाँकीका लागि के गर्ने भन्ने भयो । छोरी सानी भएका कारण पनि जान मिल्ने वातावरण बनेन । 

०००

पहिलो संविधानसभापछि गठन भएको समावेशी आयोगमा मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाका बारेमा कार्यपत्र तयार गर्ने जिम्मा उहाँलाई आयो । 

शान्ति सम्झौता भइसकेपछि उहाँ यूएनडीपीमा कार्यरत हुनुहुन्थ्यो । त्यस बेला बाल लडाकु तथा क्यान्टोनमेन्टमा सैन्य व्यवस्थापन सम्बन्धमा पनि काम गर्नुभयो । यसै दौरान उहाँ महिला आयोगको सदस्यमा नियुक्त हुनुभयो । करिब ८ महिना भने उहाँ आयोगको कार्यवाहक अध्यक्ष हुनुभयो । 

आइडिया इन्टरनेसनले पछि सांसदहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय ज्ञान दिने गरी उहाँलाई वरिष्ठ सल्लाहकारको रूपमा नियुक्त गर्‍यो । 

पछि उहाँ मानवअधिकार आयोगको सदस्यको रूपमा ६ वर्ष काम गर्नुभयो ।यसरी १० वर्ष नेपालका संवैधानिक आयोगमा रहेर कामको अनुभव पनि रह्यो उहाँको ।