अध्यक्ष निर्वाचित भएपछि लिङ्देन हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनामा

अध्यक्ष निर्वाचित भएपछि लिङ्देन हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनामा

न्युज कारखाना  |  समाचार  |  मंसिर १९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र  लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दु राष्ट्रको पक्षमा सबैलाई एक मत बनाउने उद्घोष गरेका छन् । 

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपाबाहिर भएका राजसंथा र हिन्दु राष्ट्र चाहिन्छ भन्ने सबै संघ, संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन् ।

‘राप्रपाबाहिर भएका राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघ, संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्नेछौँ र त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ । जहाँबाट छिटो हुन्छ, त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले भने ।

उनले राप्रपाका कमीकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्प मात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए।

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन । विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौँ । एकीकरण गरेको २ वर्ष बित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनुभएन । यसबीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए । त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन बरु उहाँहरू झगडा गरेर बस्नुभयो ।’