ज्ञानमित्र | दृष्टिकोण | मंसिर १९, २०७८
सरल भनेर हामी जसलाई परिभाषित गर्छौं, प्रयत्न गरी हेर्नुहोस् त, त्यो सरल अवस्था अथवा मनस्थिति कतिको जटिल अथवा दुरुह अथवा म जस्ता निठल्ला प्राणीका लागि झण्डैझण्डै अप्राप्य हुन्छ !
सय कौरवसहित ५ पाण्डव गुरुकुलमा शिक्षार्थ भर्ना भए । गुरुले पहिलो दिन पहिलो पाठ दिए- 'सदा सत्य बोल्नू ।' पाठ राम्रोसँग याद गरेर आउने गुरु आज्ञाका साथ पहिलो दिनको शिक्षण पूर्ण भयो ।
दोस्रो दिन गुरुले सोधे- 'तिमीहरूले हिजोको पाठ याद गर्यौ ?'
युधिष्ठिरबाहेक सबैले 'गर्यौँ गुरुदेव' भन्दै गुरुलाई गद्गद् बनाए । एक-एक गरी सबैले गुरुलाई याद गरेको पाठ सुनाए ।
गुरुले युधिष्ठिरलाई 'तिमी भोलि कक्षामा आउँदा पाठ याद गरेर आउनू' भनी बिदा दिँदै फर्काए । युधिष्ठिर फर्केपछि अन्य सबैलाई गुरुले अर्को शिक्षण प्रदान गरे ।
अर्को दिन पुनः गुरुले सोधे- 'क कसले पाठ याद गर्यौ ?'
युधिष्ठिरबाहेक सबैले हात उठाए । युधिष्ठिरलाई फेरि अर्को दिन पाठ याद गरेर आउने निर्देश दिएर अन्य १०४ जनालाई गुरुले नयाँ 'लेसन' पढाए ।
एवं रीतले एक महिना बित्यो । युधिष्ठिरलाई पहिलो दिनकै पाठ याद हुन सकेन । उनका अरू भाइहरूले तमाम शिक्षण लिँदा उनी भने पहिलो शिक्षालाई नै ग्रहण गर्न सकिरहेका थिएनन् । गुरुको धैर्यको पोखरी भत्कियो । उनले झोँकिँदै भने- 'हे जेष्ठ कुन्तीनन्दन, तिमीलाई के भएको ? तिम्रा सबै भाइहरूले दिनका दिन पढाएको कुरा याद गर्दै कति धेरै कुरा सिकिसके, तिमी भने पहिलो दिनकै पाठ याद गर्न सकिरहेका छैनौ । तिमीलाई के समस्या भयो ? 'सदा सत्य बोल्नु' यति याद गर्न पनि सक्दैनौ तिमी ?'
'गुरुदेव ! म प्रत्येक दिन कठोर अभ्यास गरिरहेको छु तर आजका दिनसम्म 'सदा सत्य बोल्न' सकिरहेको छैन । जति होश राखे पनि, जति प्रयास गरे पनि केही न केही गल्ती भइहाल्छ । दिनभरमा २-४ पटक मिथ्या आचरण, मिथ्या कुरा भइहाल्छन् मबाट । म आफ्ना भाइहरूका सामु एक महिनादेखि लज्जित भइरहेको छु । यिनीहरूले एक दिनमै सत्य बोल्न सिके, मैले यत्रो प्रयास गर्दा पनि संभव भइरहेको छैन । म के गरौँ गुरुदेव ?'
अब लज्जित हुने पालो गुरुको थियो । उनको जीवनभरको ब्राह्मणत्वलाई एउटा फुच्चेले धूलिसात गरिदियो । सरलताभित्र अन्तर्निहित दुरुहताले पहिला त मस्तिष्क रन्थन्यायो अनि केही क्षणकै अन्तरालमा अतीव हर्षका कारण मस्तिष्कले बगाएको डोपामाइन, सेरोटोनिन, एन्डोर्फिन्स हार्मोन्सको त्रिवेणीमा जीवनभरका कलुषता पखाल्दै उनले भने- 'वत्स ! तिम्रो सम्पूर्ण शिक्षा पूर्ण भयो । यसै एउटा सरल वाक्य 'सदा सत्य बोल्नू'को साधनले तिमीलाई अर्थ, धर्म, काम एवं मोक्षको प्राप्ति हुन्छ ।'
आज मैले लेख्नलाई किन युधिष्ठिरको बैसाखी प्रयोग गरिरहेको छु ? पाठकगण विस्मित भए पनि म छैन । कारण, न मैले युधिष्ठिर जस्तो सरल अभ्यास गर्न सकेँ, न त मेरो जीवन र चरित्रमा सरलताको छाया नै पर्न सक्यो ।लेखनको भूमिकाबाहेक युधिष्ठिर प्रसंगको अर्को कुनै कारण छैन ।
'रिम्पोछे, आई वान्ट टु इन्ट्रोड्युस हिम टु यु', मैले नमस्कार गर्नेबित्तिकै नमस्कार फर्काउन उठेका हातले मेरो हात समाउँदै उनले नजिक रहेका बौद्ध गुरुसँग भने ।
'या या', बौद्ध गुरुले सहजतापूर्वक भन्नुभयो ।
'ही इज माई फ्रेन्ड ज्ञानमित्र, लङ्ग एगो, ही टर्न ऐज मोंक । ही इज वैदिक स्कलर एन्ड ह्याज डिप नलेज अफ साइन्स एन्ड बुद्धिज्म टू ।'
'ओह ! नाइस टु मिट यु', रिम्पोछेले 'फुल अफ ज्वाय'का साथ भनिरहँदा म लाजले संकुचित भइरहेको थिएँ । मलाई वेद, बुद्धिज्म अथवा साइन्सको के नै जानकारी छ ? हो, गफ गर्ने र निठल्ला लेखनगिरीको 'फर्मेट'बारे अलिअलि अभ्यास छ । यसलाई किमार्थ पनि कुनै विषयको दक्षता भन्न मिल्दैन । आफ्नो मनोदशा फेर्न नजिकमै रहेका कुनै बेलाका नेपाली सांसद सुनीलबाबू पन्त अहिलेका बौद्ध भिक्षु कश्यपसँग नयन संवाद गरेँ । आज सायद मेरो दिनै खराब थियो- सरलता र सरल व्यक्तित्वका छेउमा उभिनुको असहजताबोध तपाईंहरूसँग पनि होला ।
जम्मा २ पटक भेट भएको, मात्र एक पटक १५-२० मिनेट चिया पिउँदै गफ गरेको मानिसले 'वर्ल्ड रिनाउण्ड' रिम्पोछे (बौद्ध गुरु)सँग परिचय गराउँदै 'म जस्तो आवारालाई महिमामण्डित गर्नु, त्यस व्यक्तिको सरलताको पराकाष्ठाबाहेक के हुन सक्छ !
सार्वजनिक कार्यक्रममा जान छाडेको २० वर्ष भयो । बीचमा केही अपवाद भने भए । आज पनि यस्तै अपवाद स्वरूप प्रज्ञा भवन पुगेको थिए । कारण थियो- २ दिन पहिला म्यासेन्जरमार्फत आइपुगेको निम्तो ।
तपाईं जतिसुकै ध्यान गर्नुहाेस्, जतिसुकै विनम्रताको अभ्यास गर्नुहोस्, जतिसुकै 'काम' (calm) 'कुल' (cool) र निहंकारिताको अभ्यास गर्नुहोस्, यो सब क्षणमै व्यर्थ हुन्छ । एक नानो सेकेण्ड त के एक पीको सेकेण्डकै अन्तरालमा तपाईंको मन वर्षौंको अभ्यास र नियन्त्रणलाई छक्याएर एक नयाँ अभीष्ट, एक नयाँ आकांक्षा, एक नयाँ लक्ष्य, एक नयाँ संसारको महायात्रामा अन्तरिक्षगामी भइसकेको हुन्छ
रिम्पोछेसँग परिचय गराउने व्यक्तिले उहाँद्वारा लिखित पुस्तक 'दि ज्वाय अफ लिभिङ'को नेपाली अनुवाद गरेर 'जिउनुको मज्जा' नामक पुस्तक प्रकाशन गर्नुभएको रहेछ । पुस्तकको लोकार्पण कार्यक्रमका लागि तयार पारिएको निमन्त्रणमा लेखिएको थियो- 'अनुवाद गर्ने निहुँमा मिङ्ग्युर रिन्पोछेको यो पुस्तक पढ्न पाउनु मेरा निम्ति सौभाग्य थियो । शनिबार रिन्पोछेकै उपस्थितिमा लोकार्पण हुँदै छ । लामै समय भएछ आफू 'गुप्तवास' जस्तो स्थितिमा बसेको । त्यही बेला साथीहरूसँग भेट् होला भन्ने आशा गरेको छु ।'
म्यासेन्जरमा यस निमन्त्रणापत्रका साथै मेरालागि लेखिएको थियो- 'मेरो आफ्नै तर्फबाट पनि अनुरोध गरेँ है !'
बुद्धिज्मसँग मेरो सम्बन्ध, बुद्धिज्मसँग मात्र किन हिन्दुत्वसँग मेरो सम्बन्ध अथवा अध्यात्मसँगको सम्बन्ध अथवा गुरुडमसँगको मेरो सम्बन्ध बडो स्त्रैण छ । यी सबैसँग मेरो सम्बन्धको आधारभूमि नै दाम्पत्यमय छ । मेरो भूमिका कर्कशा स्त्रीको छ । महिला अधिकारवादीहरूसँग क्षमायाचना गर्दै भन्न चाहन्छु- यस स्त्रीका रूपमा मेरो चरित्र र स्वभाव पुंश्चली माफिक छ । कुनै एक पतिको पौरुषमा विश्वस्त, आश्वस्त एवं सन्तुष्ट हुन नसक्ने व्यभिचारिणी मनोवृत्ति छ मेरो ।
कुनै महानुभावले मेरा ८-१० वटा आलेख पढ्नुभएको छ भने हिन्दु हुने महानुभावले सायदै मलाई हिन्दु मान्नुहुन्छ । उहाँहरूका लागि म विधर्मीहरूको दलाल हो, बुद्धिस्टका लागि बुद्धविरोधी हो । यसैगरी विज्ञानजीवीका लागि 'म्यानुपुलेटर' हो, जसले विज्ञानमा हिन्दुशास्त्रको अनावश्यक प्रवेश गराउँछ । विज्ञानको सामान्य ज्ञानसम्म नभएको यो पुरातन हिन्दुवादी हो । गुरुको पुच्छर समाएर भवसागर पार गर्न उन्मुख उद्योगजीवीहरूको नजरमा म धर्मद्रोही र गुरुद्रोही नै हो । समग्रमा सबैका लागि म केही न केही हो । अब डा. वसन्त पन्त जस्तो विद्वान्का लागि न्युरोलोजिकल डिसअर्डरको केस हुन सक्छु । कैयौँ मित्रहरूका लागि योगभ्रष्ट त छँदै छु ।
डा. सरोज धितालको निमन्त्रणाको अवहेलना गर्न नसकेर प्रज्ञा भवन पुगेको थिएँ । बुद्धले त आफ्नो समयका कैयौँ राजा महाराजाको निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुपर्थ्यो, म कलीयुगको धूर्तले डा. सरोज धितालको तिरस्कार किन गर्थें ! डाक्टर हो उहाँ, कुनै समय पनि मलाई काम लाग्न सक्नुहुन्छ ।
डा. सरोजले कार्यक्रम प्रारम्भ हुनुभन्दा पहिला रिम्पोछेसँग परिचय गराउने क्रममा मेरो अहंकार प्रज्वलित गरिदिनुभयो । आगोमा घीउ थप्ने काम उषा तितुक्षुले, रिम्पोछेसँग फोटो खिच्ने उपक्रमले गरिदिन । म अब सामान्य व्यक्ति थिइनँ । 'वर्ल्ड रिनाउण्ड' रिम्पोछे, नेपाली 'जेम्स' डा. सरोज धिताल, डा. वसन्त पन्तसँग सँगै उभिएर फोटो पोज दिइरहेको जोगी भइसकेको थिएँ ।
तपाईं जतिसुकै ध्यान गर्नुहाेस्, जतिसुकै विनम्रताको अभ्यास गर्नुहोस्, जतिसुकै 'काम' (calm) 'कुल' (cool) र निहंकारिताको अभ्यास गर्नुहोस्, यो सब क्षणमै व्यर्थ हुन्छ । एक नानो सेकेण्ड त के एक पीको सेकेण्डकै अन्तरालमा तपाईंको मन वर्षौंको अभ्यास र नियन्त्रणलाई छक्याएर एक नयाँ अभीष्ट, एक नयाँ आकांक्षा, एक नयाँ लक्ष्य, एक नयाँ संसारको महायात्रामा अन्तरिक्षगामी भइसकेको हुन्छ ।
संसार हो नै के ! मलाई तपाईंका बारेमा थाहा छैन तपाईं कुनै ईश्वरले अथवा बिग ब्याङले बनाएको संसारमा बसिराख्नुभएको छ कि आफ्नै इच्छा, आकांक्षा अथवा इन्द्रियहरूद्वारा विस्तारित संसारमा हुनुहुन्छ तर आफ्नो बारेमा मलाई स्पष्ट विदित छ म आफैँले बनाएको, नितनित बनाउने गरेको संसारमा रमण गर्छु/गरिरहेको छु । मेरो मनको संसार व्यापक भइसकेको थियो । पुस्तकबारे लेख्नुका साथै रिम्पोछेसँग अन्तर्वार्ता गर्नेसम्मका योजना बनिसकेका थिए । म मनसँग मनले बनाउँदै गइरहेको संसारमा पौडिँदै अथवा डुब्दै गइरहेको थिएँ ।
'ज्वाय अफ लिभिङ' डा. सरोजले नेपालीमा अनुवाद गरिदिनुभएको छ । आम नेपाली पाठकका लागि पुस्तक पक्कै उपयोगी होला अन्यथा डाक्टर साहेबले किन यत्रो मिहिनेत गर्नुहुन्थ्यो ! मैले भेटेको खण्डमा बार्डोस विषयक मोंक जर्नी वाला पुस्तक सदाशयताका साथ पढ्ने थिएँ
कार्यक्रममा वक्ताका रूपमा आएकी सेलिब्रेटी भिक्षुणी आनी छोइङ डोल्मासँगै आएका एक जना भद्र मेरो छेउमा बसेका थिए । उनी रिम्पोछेको महिमागान सुनाउन थाले । उनले गरेको चर्चामा कर्मा काग्यु, कर्मपा, गेलुपा, शाक्य, निग्मपा (तिब्बतियन बुद्धिज्मका शाखाहरू) शब्द आए ।
जुन मनले संसार बनाउँछ नि, ध्वंस पनि त्यसै मनको शक्तिले गर्छ । ती भद्रले चर्चा गर्दा आएका तिब्बतियन शब्दावलीले मलाई अरू शब्दको स्मरण गरायो । ती थिए- जोगचेन (Dzogchen ) र महामुद्रा । सन् २००६-२००७ तिर मैले सुनेका यी शब्दबारे अलिअलि पढ्नुका साथै बौद्धनाथमा बसेर केही क्रीडा गरेको थिएँ । त्यस बेला केही जर्मन तथा रसियन साथीहरूले टुल्कु उर्ग्येन रिम्पोछेको चर्चा गर्नुका साथै (जोगचेनका शिक्षक) स्वयंभूनाथको मोनास्ट्रीबारे भनेका थिए, जहाँ जोगचेन सिकाइन्छ ।
२-३ मिनेटमै मेरो मनको संसार ध्वस्त भयो । म पुनः आफ्नो बोध आफ्नो निजतामा प्रतिष्ठित भएँ । न सोध्नुहोस्, कसरी ? जान्ने रुचि भए जोगचेन र महामुद्राबारे गुगल गर्नुहोस् । तपाईं मानसिक रूपमा अशक्त हुनुहुन्छ र कुनै बैसाखी नै चाहिन्छ भने योंगें मिङ्ग्युर रिन्पोछेसँग भेट्नुहोस् । उहाँ यो कलाका मास्टर हुनुहुन्छ । अहिले लेख्दै गर्दा गुगलबाट थाहा भयो- उहाँ टुल्कु उर्ग्येन रिम्पोछेको छोरा हुनुहुँदो रहेछ ।
मलाई कार्यक्रममा बस्ने अभिरुचि रहेन । डा. वसन्तले बोलिरहँदा म उठेँ र सरोज डाक्टर साहेबसँग बिदा भई झम्सिखेलको एउटा चिया पसलमा आई बसेँ ।
संसार अहिले पनि निर्मित हुन्छ । २-३ दिनमा डा. सरोजले पुस्तक पठाइदिनुहुन्छ । उहाँको अपेक्षा रहन्छ- पुस्तकका बारेमा म केही प्रतिक्रिया लेखौँ । मलाई पढ्ने अभिरुचि नभए पनि मध्यमकारिताबस मैले पढेर केही लेख्नै पर्छ । हुन सक्छ, संयोग अथवा कुनै कारणले रिम्पोछेसँग पनि भेट्ने तारतम्य बनोस् । समग्रमा डा. सरोजले बहकाउँदा मेरो अहंकारले, मेरो मनले बनाएको संसार बन्ने पूर्ण संभवाना छ । म यसलाई रोक्ने अथवा यसबाट भाग्ने पनि कुनै प्रयास गर्दिनँ । तर, अब बनेको त्यस संसारसँग म पूर्ण रूपमा लिप्त भएर पनि पूर्ण रूपमा निर्लिप्त हुनेछु ।
रिम्पोछेले कैयौँ पुस्तक लेख्नुभएको पनि गुगलले बतायो । 'ज्वाय अफ लिभिङ'का अतिरिक्त 'ज्वायफुल विज्डम', 'टर्निङ कन्फ्युजन इनटु क्लियरटी', 'इन लभ विद दि वर्ल्ड : ए मोंक जर्नी टु बार्डोस ।' 'ज्वाय अफ लिभिङ' डा. सरोजले नेपालीमा अनुवाद गरिदिनुभएको छ । आमनेपाली पाठकका लागि पुस्तक पक्कै उपयोगी होला अन्यथा डाक्टर साहेबले किन यत्रो मिहिनेत गर्नुहुन्थ्यो ! मैले भेटेको खण्डमा बार्डोस विषयक मोंक जर्नी वाला पुस्तक सदाशयताका साथ पढ्ने थिएँ । तर, त्यसभन्दा पहिला मेरो सदाशयता भन्ते कश्यपसँग बसेर चिया पिउनमा लक्षित हुनुका साथै बैनी अनुसाको आयुष केन्द्रमा अक्युपंचरका साथै आयुर्वेदिक मसाज लिन अभिप्रेरित छ ।
(सबै फोटो फोटो पत्रकार उषा तितिक्षुबाट सौजन्य)