लोकसंवाद संवाददाता | समाचार | मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् ।
महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको भन्दै आक्रोश व्यक्त गरे ।
तर, यसको केही घण्टापछि निवर्तमान अध्यक्ष थापा ज्ञानेन्द्रकी छोराबुहारी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार बिहान ८ः४२ बजे हिमानीले राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताइन् ।
हिमानी ट्रष्टको अध्यक्ष उल्लेख गरिएको हिमानी शाह ट्विटर ह्याण्डलमा आइतबार बिहान ८ः४२ बजे ट्विट गरिएको थियो- 'अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनुभएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ।राजेन्द्र लिङ्देनको जीतसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।'
लिङ्देनको जीतलाई मुलुकले राष्ट्रवादी नेता पाएको उल्लेख गरेपछि निर्वतमान अध्यक्ष थापाले पनि ट्विटरबाटै हिमानीलाई मेन्सन गर्दै अब चाँडै राजसंस्था पुनर्स्थापित हुने हुँदा हिमानी शाहलाई हार्दिक बधाई तथा शुभकामना भनेर जबाफ दिएका छन् ।